आइतबार, ६ जेठ २०८१

राजकर्णिकारको ‘सम्झनामा मेरा पुर्खा’ विमोचित

समयपोष्ट २०८१ वैशाख २३ गते २१:०३

Advertisement

नियात्राकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरण ‘सम्झनामा मेरा पुर्खा’ आज लोकार्पण भएको छ । पेज टर्नरद्वारा गत वर्ष सहिद दिवसमा प्रकाशित कृतिमा राजकर्णिकारका राणाकालीन जिजुबाजे हलवाई गजराज, हजुरबा हिरामानसिंहदेखि कृष्ण पाउरोटी भण्डारका संस्थापक आफ्ना पिता कृष्णबहादुरसम्मको उद्यम र सङ्घर्षका कथा समेटिएको छ ।

सात अध्यायमा विभाजित कृतिमा उहाँले आफ्ना पुर्खाको जीवनचर्या उजिल्याउँदै राणाहरू जङ्गबहादुर, वीरशम्शेर आदिसँगको सन्दर्भ पनि पस्कनुभएको छ । नेपाल स्रष्टा समाजद्वारा आयोजित समारोहमा समालोचक प्रा डा कृष्णप्रसाद दाहालले प्रस्तुत कृति पारिवारिक गन्थन मात्र नभई यसमा तत्कालीन नेपाली समाज तथा शासक र शासितको स्थिति पाइने जानकारी दिनुभयो । समालोचक महेश पौड्यालले लेखकले कृतिमा पारिवारिक गोप्य कुरा पनि प्रकाशमा ल्याएकाले पढिरहूँ जस्तो लाग्ने टिप्पणी गर्नुभयो ।

साहित्यकार तथा गायिका पद्मावती सिंह, समाजका अध्यक्ष श्रीॐ रोदन र लेखकका ज्वाइँ नीलकृष्ण ताम्राकारले पाउरोटी उद्योग सम्हाल्दै लेखकले लेखनमा सरलता, इमानदारी र निर्भयता कायम राखेको बताउनुभयो ।

निबन्धकार राजकर्णिकारले आफ्नो ५० वर्षे लेखनयात्रामा आफूले छुट्टै पहिचान बनाउन पाएकामा गर्व गर्दै अब आफूले लामो यात्रा गर्न नपाए पनि लेखनबाट भने विश्राम नलिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Advertisement

कृष्ण पाउरोटी भण्डार प्रालिका अध्यक्ष एवं प्रबन्ध सञ्चालक राजकर्णिकारका यसअघि नियात्रासङ्ग्रह छ र संस्मरणात्मक कृति सात वटा प्रकाशन भइसकेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री