शनिबार, १५ वैशाख २०८१

नवीनतम प्रविधिमा जोड दिएका छौं

अरूण कौशल सीईओ, नेसनल इन्स्योरेन्स कम्पनी

समयपोष्ट २०७५ चैत ५ गते १२:०९

Advertisement

नेसनल इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत अरूण कौशल हिमाञ्चल प्रदेश भारतमा जन्मेर त्यहीँ हुर्केका हुन् । हिमाञ्चल प्रदेशका काङ्गरा जिल्लाबाट स्कुल र पञ्जाब, हरियाणा र दिल्लीका विभिन्न प्रतिष्ठानबाट उनले उच्च शिक्षा हासिल गरे । गणितमा एमएस्सी, बीएड, एमफिल, एमबीए र इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डियाको फेलो प्राप्त गरेका कौशलले आफ्नो पेसागत क्यारियर नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडमा मार्केटिङ विभागबाट सुरु गरेका थिए । जम्मु काश्मिरलगायत उत्तर भारतका विभिन्न स्थानमा विभिन्न हैसियतमा काम गरी दुई महिनाअघि नेपालमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नेपाल आएका थिए । पेसाका अतिरिक्त विशेषगरी विद्यार्थीहरूमा अभिप्रेरणा जगाउन र व्यवहारका विषयमा अभिप्रेरित गर्नुलगायत अन्य अन्तरक्रियात्मक शीर्षकहरूमा भाग लिन उनी रुचाउँछन् ।

नेसनल इन्स्योरेन्स कम्पनी भारतकै सय वर्ष पुरानो इतिहास बोकेको इन्स्योरेन्स कम्पनी हो । सन् १९१६ देखि नै निरन्तर सेवा दिँदै आएको छ । कोलकातामा मुख्यालय रहेको यो भारतकै निर्जीवन बीमाको सबैभन्दा अग्रणाी संस्था हो । यसको नेपालमा पनि अन्तर्राष्ट्रिय शाखा रहेको छ । सन् १९७४ मा बीमा समितिअन्तर्गत नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा नेपालमा दर्ता भएको हो । यसलाई छोटकरीमा एनआईसीएल भनिन्छ । एनआईसीएलसँग आफ्नै बलियो पुँजी र प्रसस्त मौज्जात रहेको छ । त्यसैले पनि नेपालभित्रको व्यवसाय सञ्चालन गर्न र सेवा विस्तार गर्न यसले मुख्यालयसँग आश्रित भइरहनुपर्दैन ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई बीमासम्बनधी सम्पूर्ण सेवाहरू प्रदान गर्नका लागि काठमाडौँ उपत्यकाबाहिर नौ वटा शाखा कार्यालय सञ्चालनमा छन् । राजधानीको काठमाडौँमा मुख्यालय रहेको कम्पनीको काठमाडौँकै तीनकुने, वीरगन्ज, विराटनगर, पोखरा, नारायणगढ, बुटवल, हेटौँडा, जनकपुर र दाङमा पनि शाखा कार्यालय रहेका छन् ।

भारतमा आधारित कम्पनी भएको हुँदा भारतीय कम्पनी, व्यापारीहरू र नेपाली व्यवसायीहरूसँग काम गर्न पनि कम्पनीलाई केही सहज भएको हो । यसले गर्दा नै यस कम्पनीका ग्राहकहरू भारत र नेपाल दुवैतिर छिटोछरितोसँग बीमा दाबीलाई सम्बोधन गर्दै सुल्झाउन सफल भएका छन् ।

बैङ्किङ, टेलिकम, उड्डयन, सूचना प्रविधि, जलविद्युत्, पर्यटन, वैदेशिक व्यापार, स्वास्थ्य, अटोमोबाइल, शिक्षा जस्ता हरेक क्षेत्रमा एनआईसीएलले सेवा विस्तार गरिसकेको छ । यसैगरी कम्पनीसँग अग्नि, सामुद्रिक, मोटर तथा विविध किसिमका बीमा लेखहरू छन् भने कम्पनीले पशु धनदेखि भौतिक सामग्रीसम्मलाई सेवा प्रदान गरिरहेको छ । अहिले कम्पनीले नेपाली बजारमा बैङ्कास्योरेन्स्, मोटरटाइअप र क्यासलेस मेडिक्लेम जस्ता थुप्रै नयाँ बीमा लेखहरू ल्याएको छ ।

विशेषता र योजना
१. कुनै पनि प्रतिष्ठानको वृद्धिका लागि सन्तुष्ट ग्राहक उसको सम्पत्ति र पछाडिको आड हुन्छ । त्यसैले प्रमुख कार्यकारीको रूपमा पहिलो लक्ष्य आन्तरिक र बाह्य ग्राहकको हेरचाहमा ध्यान दिनु हुन्छ ।

२. बाह्य ग्राहक सेवाको विकास गर्न हामीले कुनै पनि ग्राहकले गरेको बीमा माग दाबीलाई तत्काल दुई–तीन दिनभित्र समाधान गरी त्यसका सबै कागजात तयार गरी समाधान गर्ने लक्ष्यमा ध्यान दिइरहेका छौँ ।

३. बीमा नीति र अनलाइन बीमा भुक्तानी जस्ता ग्राहक सेवालाई सुधार गर्न नवीनतम प्रविधिको प्रोत्साहनमा ध्यान दिन्छौँ ।

४. नेपालमा बीमा व्यवसाय नपुगेको क्षेत्रमा बीमा व्यवसाय पुर्याउन र नयाँ कार्यालयहरू छिट्टै खोल्न ध्यान दिइरहेका छौँ ।

५. यसका साथै हाम्रा ग्राहकलाई सर्वोत्तम सेवा उपलब्ध गराउन नैतिक रूपमा सबल तुल्याउन कर्मचारीहरूको जनकल्याणकारी कार्यक्रमलाई ध्यान दिइरहेका छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री