
एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको साइपाल गाउँपालिका वडा नं. १, धलौनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार एक औपचारिक समारोहका बीच शाखाको उद्घाटन गरेका छन्।
उक्त उद्घाटन समारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेष्ट बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर के.सी., साइपाल गाउँपालिकाका वडाध्यक्षहरू, बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख उज्वल पोखरेल, नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधि, बैंकका कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
माघ २८ गते औपचारिक रूपमा उद्घाटन गरिएको यो बैंकको १२९औं शाखा हो। बैंकिङ पहुँचबाट टाढा रहेको साइपाल गाउँपालिकामा शाखा सञ्चालनमा आएपछि अब नेपालका ७५३ वटै स्थानीय तहमा ‘क’ वर्गको वाणिज्य बैंकको उपस्थिति पुगेको छ।
साइपाल गाउँपालिका भौगोलिक रूपमा अति दुर्गम क्षेत्र मानिन्छ, जहाँ मोटरबाटोको सुविधा छैन। त्यहाँ पुग्न ७-८ घण्टा पैदल यात्रा गर्नुपर्छ। यस्तो दुर्गम क्षेत्रमा शाखा खोल्न सफल भएकोमा बैंकले नेपाल राष्ट्र बैंक र साइपाल गाउँपालिकालाई विशेष धन्यवाद दिएको छ। बैंकले सरकारको ‘सबै स्थानीय तहमा बैंकिङ सेवा पु¥याउने’ अभियानलाई पूर्णता दिने उद्देश्यले शाखा सञ्चालन गरेको जनाएको छ।
गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन समारोहमा सम्बोधन गर्दै संघीय राष्ट्रको सबै पालिकामा बैंक पु¥याउने लक्ष्य पूरा भएको घोषणा गरे। अब साइपालका बासिन्दाले बैंकिङ सेवाका लागि सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै उनले आगामी दिनमा अन्य सुविधासमेत विस्तार हुने र आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे।
एभरेष्ट बैंकले साइपालमा शाखा स्थापना भएपछि स्थानीय स्तरमा आर्थिक गतिविधि वृद्धि हुने र समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरेको छ। पंजाब नेशनल बैंक, भारतसँगको संयुक्त साझेदारीमा सञ्चालित यो बैंकमा हालसम्म करिब १४ लाख ग्राहक छन्। बैंकका देशभर १३१ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६७ एटिएम सञ्चालनमा छन्।
विश्वव्यापी नेटवर्कमार्फत आधुनिक मोबाइल, इन्टरनेट, एसएमएस बैंकिङ सेवा दिँदै आएको एभरेष्ट बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्र सञ्चालन गरिरहेको छ। साथै, भारतको नयाँ दिल्लीलगायत अन्य देशहरूमा प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ।










प्रतिक्रिया