
एमएडब्ल्यु अर्थमुभर्स प्रालि (जेसीबी डिभिजन) र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबी निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा एमएडब्ल्यु अर्थमुभर्सका तर्फबाट सञ्जय देव यादव र एभरेष्ट बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरे।
सम्झौताअनुसार जेसीबी तथा अन्य निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकले एभरेष्ट बैंकका देशभर रहेका शाखामार्फत उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। यसले पूर्वाधार विकास र निर्माण कार्यमा संलग्न व्यवसायीहरूलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ।
ऋण स्वीकृति प्रक्रियालाई थप सरल, छरितो र ग्राहकमैत्री बनाउन आवश्यक सबै कागजात पूरा भएको अवस्थामा ७ कार्यदिनभित्र डेलिभरी अर्डर (डीओ) जारी गर्ने व्यवस्था गरिएको छ। यसबाट ग्राहकले समयमै उपकरण प्राप्त गरी आफ्नो व्यवसाय सञ्चालनलाई प्रभावकारी र द्रुत बनाउन सक्ने अपेक्षा गरिएको छ।
यो सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीलाई निर्माण उपकरण खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने दुवै संस्थाले बताएका छन्। वित्तीय प्रक्रियामा लाग्ने समय र झन्झट कम गर्दै व्यवसाय विस्तारमा यसले सहयोग पुर्याउनेछ।
एमएडब्ल्यु अर्थमुभर्स र एभरेष्ट बैंकले आगामी दिनमा पनि ग्राहकको सुविधा, सन्तुष्टि तथा व्यावसायिक वृद्धिलाई केन्द्रमा राखेर नवीन सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
यो साझेदारीले नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा आवश्यक उपकरणमा पहुँच बढाउन र लगानी प्रवर्द्धन गर्न सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।










प्रतिक्रिया