शुक्रबार, १४ वैशाख २०८१

बीमामा पहुँच आर्थिक गतिविधि निर्भर हुन्छ : सगरमाथा इन्स्योरेन्सका सिइओ चङ्की क्षेत्रीको अन्तर्वार्ता

समयपोष्ट २०७४ फागुन १५ गते ८:५०

नयाँ बीमा कम्पनी थपिएपछि प्रतिस्पर्धा बढेको छ, व्यापार बढाउन कत्तिको प्रेसर छ ?

Advertisement

बजार भएपछि त्यहाँ प्रतिस्पर्धा हुन्छ र हुन जरुरी पनि छ । तर प्रतिस्पर्धा सेवामा हुनुपर्छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा गरेर बिगार्ने काम गर्नुभएन । अहिले सबै कम्पनीलाई व्यापार चाहिएको छ र सबैको उद्देश्य सेवा नै भन्ने हो । तर अहिले बजारमा केही अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । अर्को कुरा बीमामा पहुँच पनि आर्थिक गतिविधिमा निर्भर हुन्छ । क्रियाकलापहरू बढ्दै गए, कम्पनी बढे पनि केही फरक पर्दैन । अहिले बीमाको पहुँच नपुगेको ९० प्रतिशतमा जान आवश्यक छ । पुरानो ठाउँमा बसेर पुरानै बजारमा सबै केन्द्रित भए भने समस्या हुन्छ । त्यसलाई नयाँ ठाउँमा नयाँ अप्रोचका साथ इनोभेटिभ प्रडक्टहरू लिएर अगाडि बढ्यो भने बीमा क्षेत्र अगाडि बढ्छ ।

त्यस्ता प्रडक्टहरू लिएर नयाँ क्षेत्रमा जाँदा कस्तो ठाउँमा जानुपर्ला ?

नेपालमा एक जनाले गरेको कुनै व्यापार राम्रो भयो भने अरू पनि त्यसैमा लाग्ने टे«न छ । जस्तो– अहिले नयाँ कम्पनीहरू आउँदा पनि हाम्रो टेरेस प्रकारको बिजनेस हाउसहरू छ । कहाँ बिजनेस छ भन्ने थाहा छँदै छ । त्यसमा लाग्नु ठीकै हो तर त्यसमा गएर अस्वस्थ प्रतिस्पर्धा गर्नुभन्दा पनि नयाँ ठाउँमा आवश्यक बजार कुन, कुन ठाउँमा कस्तोखालको नागरिकलाई हिट गर्ने र त्यहाँ आवश्यक बजार के हो ? त्यस्तो इनोभेसन खालको प्रडक्ट लिएर अगाडि जानुपर्छ । त्यसका लागि अहिले हामी कुरा गर्दै छौँ । सरकारले बैङ्किङ र बीमामा जोड दिइरहेको छ । त्यो कुरालाई सरकारको सहयोगको साथसाथै हामीले पनि अगाडि बढाउनुपर्छ ।

बजारमा यसको क्षेत्र धेरै ठूलो छ । भारतकै कुरा गर्ने हो भने सरकारले यस्ताखालका प्रोजेक्टहरू ल्याइदिएको छ । त्यसको ३६ प्रतिशत बजार बीमाको छ । त्यसमा सरकारले सहुलियत दिएको छ । जनताको जति खाता खोल्यो, त्यो निःशुल्क भनेको छ । त्यसमा एक रूपैयाँले १० लाखसम्मको बीमा कभरेज हुने भन्ने छ । त्यो कुरा यहाँको सरकारले पनि बुझ्नुपर्यो। हामीले गरेर पनि हुँदैन । सबै स्टेक होल्डरहरूले त्यो कुरा बुझाउनुपर्यो । पहिलो कुरा सरकारको नीति कस्तो हुन्छ, अब आउने नयाँ सरकारले त्यो कुरा सोच्नुपर्यो । नीति बनायो भने त्यो पब्लिकमा पुग्न सजिलो हुन्छ । जस्तो– अहिले स्वास्थ्य बीमाको कुरा आइरहेको छ । त्यो गर्नु त ठीकै हो तर पैसा लिएर गरेको हुँदा व्यापार जस्तो भयो । सरकारले सामाजिक सुरक्षा नै दिने हो भने बेग्लैखालको मोडालिटीबाट जानुपर्यो ।

हामीले ती कुरा छिमेकी देशबाट पनि सिक्न सक्छौँ । कृषिको लागि फरक–फरक राज्यमा फरक–फरक कार्यक्रमहरू छन् । नेपालमा सरकारी निकायबाट त्यस्ता कुराहरूको कमी छ । त्यसको ज्वलन्त उदाहरणको रूपमा हामी भुइँचालोलाई नै लिन सक्छौँ । त्यस बेला धेरै क्षति भयो । भुइँचालोपछि मानिसहरूले बीमाको महत्वबारे पनि बुझे तर अब हामी पुनर्निर्माणको कुरा गरिरहेका छौँ । नयाँ–नयाँ प्रोजेक्टहरू आउँदै छन् । फेरि पनि त्यस्ता भवितव्यहरू आइनपर्लान् भन्ने छैन । त्यस कारण हामीले पूर्वसावधानी अपनाउन अति जरुरी छ तर त्यस्तो यहाँ छैन । सरकारीमा जलविद्युत्, टेलिकम, मठमन्दिर, सरकारी स्वामित्वका कुनै पनि भवनहरूको बीमा गरिएको छैन । सरकारले त्यसमा ध्यान दियो भने सर्वसाधारणमा पनि त्यो जान्छ ।

घरमा बैङ्कले लगानी गर्दा हाइपर्चेज होस् अथवा रिटेलमा बीमा गर्छ । सरकारले सानो अथवा ठूलो जस्तो घर बने पनि बीमा गर्नुपर्ने बाध्यकारी नियम लगाउनुपर्यो । घरसँगै परिवारको स्वास्थ्य बीमा जोडेर लान सकिन्छ । नयाँ प्रडक्टहरू त्यसरी ल्याउनुपर्छ । सरकारको सहयोग त्यसमा अति जरुरी छ ।

अहिले खुलेका बीमा कम्पनीहरू सीईओविहीन छन् । अलिकति भएको तल्लो लेबलको जनशक्ति पनि तानातान छ । बीमा क्षेत्रमा जनशक्ति पर्याप्त नहुनुको कारण के होला ?

वित्तीय क्षेत्रमा बैङ्किङपछि आकर्षणको क्षेत्र भनेको बीमा नै हो । तर अलिकति जनशक्तिको कमी नै देखिएको छ । अर्को, पुरानोलाई लियो भने यसले काम गर्छ भन्ने भयो, नयाँलाई लियो भने सिकाउन समय लाग्ने भयो । जसलाई पनि रिजल्ट छिट्टै आओस् भन्ने हुनाले त्यो खालको प्रतिस्पर्धा भएको हो । तर त्यो राम्रो होइन । अहिले सबै कम्पनीहरूले इनहाउस ट्रेनिङहरू दिएर आफ्नो जनशक्ति तयार गरिरहेका छन् । बजारमा सङ्कट आउन सक्ने कुरालाई ध्यान दिँदै कम्पनीहरूले व्याकअप कसरी लिने भन्ने हिसाबले अगाडि बढिरहेका छन् ।

सीईओको कुरामा क्वालिफिकेसनको कुराले अलिकति समस्या आएको थियो । तर त्यो विस्तारै हल हुँदैछ । हाम्रोमा मास्टर्स भन्छ, बाफियामा ग्रयाजुएसन अनुभवको आधारमा चल्छ भनेपछि नियामक निकायको कुरा हो । उहाँहरूले अध्ययन गर्दै हुनुहुन्छ । तर धेरै वर्ष अनुभव भएको मानिसले निश्चय नै काम गर्न सक्छ । कतिपय कम्पनीहरूमा काम गरिरहेका पनि छन् ।

बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लागि कलेज नै खोल्ने कि एनबि आईको मोडलमा संस्था खोल्ने भन्ने एक महिनाअगाडि कुरा भएको थियो । बीमा समितिको रोहवरमा हामी सबै सीईओहरू मिलेर एउटा कमिटी गठन गरेका छौँ । हामीले त्यस्तो तालिम दिने संस्था खोल्न अध्ययन गरिरहेका छौँ ।

सगरमाथा इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?

हाम्रो दोस्रो त्रैमासिकसम्म ३० प्रतिशतको ग्रोथ छ, जुन मार्केट ट्रेनभन्दा राम्रो छ । हामी हाम्रो लक्ष्यअनुसार अगाडि बढिरहेका छौँ । त्यति ठूलो भूकम्प आउँदा पनि सबैभन्दा धेरै क्लेम सेटलमेन्ट हामीसँग थियो । त्यो हामीले राम्रोसँग सेटलमेन्ट गर्यौं । त्यसको बाबजुद हाम्रो स्टेकहोल्डर प्रतिवर्ष २५ प्रतिशतको दरले रिटर्न पनि दिएका छौँ । कम्पनी साउन्ड छ भन्ने त्यसले पनि देखाउँछ । अहिले हाम्रो प्रतिस्पर्धा भनेको सेवामा छ । सेवा भनेको क्लेम परेको बेलामा मात्र बुझिने हो । हामीले भीआईपी अन द स्पटबाट सुरु गरेका छौँ । त्यो मोडालिटी गाडीमा मात्र नभएर अरूमा पनि फास्ट सर्भिस दिएका छौँ । त्यसले गर्दा जनमानसमा हाम्रो कम्पनीप्रति राम्रो छाप परेको छ । यसले परेको बेला राम्रो सेटलमेन्ट गर्छ भन्ने सन्देश सबैलाई गएको छ । त्यही भएर होला, सुरुवातदेखिका क्लाइन्टहरू अहिलेसम्म पनि हामीसँग यतिका धेरै कम्पिटिसन भएर पनि काम गरिरहनुभएको छ । कम्पनीको रेपुटेसनको कारणले गर्दा अरू व्यवसाय गर्ने हाम्रो कार्ड पनि त्यही नै हो । हामी अरू जस्तो अस्वस्थ प्रतिस्पर्धामा छैनौं । स्वस्थ प्रतिस्पर्धाको बाबजुद हामीले त्यो कुरा बजारमा प्रमाणित गर्दै गइरहेका छौँ । हामीलाई त्यसमा समितिले पनि सराहनीयरूपमा हेरिरहेको छ ।

बीमा क्षेत्रमा दाबी भुक्तानीको लागि पहुँच भएका मानिसले छिट्टै पाउने र पहुँच नभएकालाई विभिन्न कागज पत्र मागेर अल्झाउने गरिन्छ भन्ने सुनिन्छ । यसलाई छिटोछरितो बनाउन के गर्नुपर्छ ?

पहुँच हुने र नहुने भन्ने हुँदैन । ग्राहक भनेको ग्राहक नै हो । दाबी पर्दा कम्पनीले मागेअनुसारको कागज पत्र चाहिन्छ नै । तपाईंले भनेजस्तो त्यस्तो केही हुँदैन । हामीले पोलिसी बेच्ने बेलामा कति बुझाउँछौँ ? जस्तो– उहाँहरूले दाबी गर्ने बेला के के पाउँछ–पाउँदैन, केको बारेमा प्रिमियम तिर्नुभएको छ, के खालको रिस्क कभर छ भन्ने पहिले नै बुझाएर गर्यो भने त्यसमा समस्या आउँदैन । तर बीमाको लागि बीमा गरेको छ । जस्तो– बैङ्कबाट लियो र बैङ्कको लागि गरेको जस्तो छ भने समस्या आउन सक्छ ।

बीमा भनेकै दुई पार्टीबीचको सम्झौता हो । त्यसमा कुनै पनि दुर्घटना भएको खण्डमा उसलाई पहिलेकै पोजिसनमा ल्याएर राखिदिने हो । उसको आर्थिक नोक्सानी पहिलेको जे छ, त्यसमा जाने हो । प्रिमियम र इन्स्योरेन्स पहिलेको अवस्थाको भएपछि क्लेम पनि पहिलेको अवस्थाको सेटलमेन्ट गर्छौं तर कस्टोमरले बीमा पहिले गरेर अहिलेको क्लेम गर्नुभयो भने त्यो सम्भव हुँदैन । हो, त्यही बीचको कुरा बुझाउन नसकेर कहिलेकाहीँ कन्फिल्ट आउँछ । नभए त्यस्तो झन्झटिलो छ जस्तो लाग्दैन ।

हामीले जब ‘भीआईपी अन द स्पट’ क्लेमको अवधारणा निकाल्यौँ । त्यसले गर्दा क्लाइन्टहरूलाई च्वाइस पनि भयो । आ–आफ्नो तरिकाबाट क्लेम सेटलमेन्ट छिटो गर्नुपर्छ भन्ने म्यासेज हामीले गर्दा अन्य बीमा कम्पनीहरूलाई गएको छ । यो कस्टोमरहरूका लागि धेरै राम्रो कुरा हो ।

केही विवादास्पद भएको होराइजन अपार्टमेन्टको दाबी कहाँ पुग्यो ?

हामीले होराइजनको ३१ करोडको सेटलमेन्ट गर्दै छौँ । त्यो अलि विवादास्पद पनि थियो । कस्तो भने अरू ल्याटहरूमा एउटै पोलिसी थियो तर त्यसमा इन्डिभिज्योल पोलिसी पनि थियो । अनसोल्ड गरेको हामी सेटलमेन्ट गर्दिन्छौँ, त्यसबाहेक हामीसँग अरू २५–२६ इन्डिभिज्योल पार्टीहरू पनि छन्, त्यही मोडालिटीमा सेटल गरिदिन्छन् होला । भूकम्पको अहिलेसम्मको सबैभन्दा ठूलो क्लेम यही नै हो । हालसम्म हामीले भूकम्पको १ अर्ब ६० करोड रूपैयाँ तिरिसकेका छौँ । भूकम्पको यति ठूलो क्लेम सायद हामीले बाहेक अहिलेसम्म कसैले ह्यान्डल गरेको छैन । हामीले तीन हजारजति क्लेम सेटल गर्यौं, त्यो नै हाम्रो स्ट्रेन्थ भएको छ ।

सगरमाथा इन्स्योरेन्सका आगामी योजना के–के छन् ?

चुक्ता पुँजी हामीले अर्को वर्ष १ अर्ब पुर्याउनुपर्ने छ । त्यसको लागि हामीले हाम्रा योजनाहरू पेस गर्छौं । आगामी वर्षमा हामीले त्यो पुर्याउनुपर्ने जरुरी पनि छ । स्टेक होल्डरहरूको रिटर्नअनुसार सगरमाथाले इन्स्योरेन्स कम्पनीहरूमध्येमा राम्रो रिटर्न दिएको छ । आगामी वर्ष त्यो रिटर्नको साथ बोनस तथा हकप्रद सेयरमार्फत् त्यो पुर्याउँछौँ । हामी कति बलिया छौँ भन्ने कुरा हाम्रो व्यालेन्ससिटबाट समेत प्रष्टरूपमा देखिन्छ ।

चालू आर्थिक वर्षभित्र हामीले ६० वटा शाखा विस्तार गर्छौं । प्रडक्टमा हामी स्वास्थ्य बीमामा फोकस हुँदै छौँ । साथै, नयाँ साइबर नेटको कुरामा हामीले गृहकार्य गरिरहेका छौँ । त्यसमा लिगल कुराहरू भएको हुनाले त्यसलाई राम्रोसँग एक्सप्लोर गरेर अगाडि बढ्नुपर्ने कुरा छ । रिटेल बिजनेसमा हामीले धेरै राम्रो फोकस गरिरहेका छौँ । अहिले डिजिटल टेक्नोलोजीको कुरा आइरहेको हुनाले हामी त्यसमा पनि गृहकार्य गरिरहेका छौँ । हाम्रो अनलाइन त छ तर अझै छिटोछरितो कसरी क्लाइन्टसम्म पुग्ने भन्नेमा हामी गृहकार्य गर्दै छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री