‘प्रेसरमा कुनै पनि बैंकको सीईओले काम गर्नुहुँदैन’
अहिले बैकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव हुनुको कारण के हो ?
बैंकिङ क्षेत्रमा गएको असार मसान्तपछि श्रावणयता डिपोजिटको ग्रोथभन्दा लोनको ग्रोथ अलि बढी देखिएको छ । यो हुनुको खास कारण भनेको पैसा बजारमा जुन हिसाबले सर्कुलेट हुनुपथ्र्यो त्यो किसिमको सर्कुलेसन भएन । भ्याट, भन्सार ड्युटी विभिन्न किसिमको माध्यमबाट सरकारी खातामा जान्छ, त्यो पैसा पुनः बजारमा स्वचालित हुँदा बजार ब्यालेन्समा बसिराख्छ । त्यो वान वे गएको पैसा विभिन्न कारणले गर्दा सरकारले उपयुक्त समयमा निकासा गरेर खर्च गर्न नसक्दा राष्ट्रिय ढुकुटीमा गएर ३ खर्बभन्दा बढी पैसा बसेको भन्ने सुन्नमा आएको छ । त्यो एउटा कारण भयो । अर्को भनेको पोहोर साल आएको अमाउन्टमा वृद्धि नभएको होइन, तर ग्रोथ नेगेटिभ रूपमा जाँदा जति रेमिट्यान्स आउनुपर्ने त्यति आएन, त्यस्तै अर्को मनि मार्केट, क्यापिटल मार्केट भनेको सामान्य हल्लाको पछाडि दौडिन्छ ।
भर्खरैमात्र सर्वोच्च अदालतले एनसेलको हकमा नाफा बाहिर लैजान पाउने भन्ने जुन निर्णय सुनायो, भोलि एनसेलले ठूलो मात्रामा पैसा बाहिर लैजाँदा केही असर गर्छ कि भनेर जुन बैंकमा त्यो डिपोजिट थियो, उनीहरूले त्यसको शोधभर्ना अहिले नै लिँदा बजारमा पैसाको डिमान्ड बढी भयो । यो बाहिरी हल्लाले यस्तो भयो । तर, बाहिर जे–जस्तो किसिमको हल्ला सुनिएको छ, बैंकमा ठ्याक्कै त्यस्तो भएको भने होइन । सबै बैंकहरूको सिडी रेसियो एकाध बैंकबाहेक अरू बैंकहरू सहज अवस्थामा छन् । वास्तविकता बजारको हल्लाजस्तो प्यानिक छैन ।
तरलता अभाव भनिरहँदा राष्ट्र बैंकले त ५० अर्बभन्दा बढी तरलता छ भनेको छ, त्यो कस्तो तरलता हो ?
तरलता र लगानीयोग्य रकम भनेको नितान्त डिपोजिटका रूपमा लिएर लगानी गर्ने हो । मैले सिडी रेसियो हरेक सय रुपैयाँको डिपोजिटमा ८० रुपैयाँमात्र लगानी गर्न पाउँछु । त्यो क्रेडिट टु डिपोजिट रेसियो हामीले मिलाउनुपर्छ । राष्ट्र बैंकले तरलता छोडेको भनेको उसले बन्डहरू पर्चेच गरेर छोडिएको पैसा हो । यसले बैंकको कुनै डिपोजिट बढ्ने होइन । बैंकसँग पैसा छ । १ खर्ब डिपोजिट लिएको बैंकको २० अर्ब रुपैयाँ त मसँग छ । यी पैसाहरू विभिन्न इन्स्ट्रुमेन्टमा हामीले राष्ट्र बैंकमा लगानी गरेका थियौं । अहिले त्यो पैसा छोड्यौं। यो पैसाले बैंकको सिडी रेसियो बढ्ने होइन । बैंकको लिक्विडिटी पोजिसन कम्फर्टटेबल हुने हो, जुन अहिले छ । मैले त्यत्तिकै लिने कुरा भएन । बैंकले लगानी गर्न डिपोजिट नै बढ्नुपर्यो । राष्ट्र बैंकबाट ल्याएको पैसाले डिपोजिट बढ्ने होइन । त्यसकारण बजारमा तरलता अभाव होइन यो लगानीयोग्य रकमको अलिकति अभाव भएको हो । त्यसकारण राष्ट्र बैंकले छोडेर लिक्विडिटीले लगानी गर्न मिल्दैन ।
ब्याजदर एकदम बढिरहेको छ । अब ब्याजदर करिडोरले काम गर्न सक्छ ?
प्राइस स्टेबलिटी गर्ने राष्ट्र बैंकको एउटा मुख्य उद्देश्यभित्र पर्छ । त्यसकारण बजारमा याक्सिस लिक्विडिटी हुँदा त्यसलाई मेकअप गर्ने र टाइट हुँदा छोड्ने जुन राष्ट्र बैंकले अहिले गरिरहेको छ । उसले त्यो मार्केट रेटलाई, इन्टर बैंक रेटलाई ३ देखि ५ प्रतिशतको करिडोरभित्र राख्ने जुन मिसन बनाएको छ । त्यसमा राष्ट्र बैंक सफल पनि भएको छ । अभाव हुँदा पहिले राष्ट्र बैंकले छाडिदियो र ५ प्रतिशतभन्दा बढी इन्टर बैंक जान पाएन । राष्ट्र बैंकले पैसा दियो । भोलि मार्केटमा सरप्लस भएर तल जाने बेलामा त्यसले मेकअप गरेर करिडोर मेन्टेन गर्छ । यसले समग्रमा प्राइस स्टेलिटीमा रोल प्ले गर्छ । यो राम्रो कदम हो ।
लगानीयोग्य रकमको अभाव पटकपटक दोहोरियो, यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला ?
पोहोर साल जे कारणले भएको थियो, अहिले पनि ठ्याक्कै त्यही हो । ढुकुटीमा गएर पैसा जम्मा हुने अनि ननिस्कने । त्यसपछि सम्भावित बैंकिङ सेक्टरबाट पहिलो किस्ताबापत ४० प्रतिशत रकम जाने, एनसेलको डिभिडेन्टहरू जाने भन्ने हल्लाले बजार त्यस्तो भएको देखिएको हो । जहिलेसम्म सरकारले आफ्नो खर्च गर्ने प्लानलाई अविछिन्न रूपमा एउटा सेड्युल बनाएर खर्च गर्दैन तबसम्म यो समस्या दोहोरिराख्छ । राजनीतिले एउटा मोड लिइसकेको अवस्था छ । यसअघि सरकारले विकासलाई भन्दा पनि आफूलाई कसरी सत्तामा टिकाइराख्ने भन्ने अवस्था थियो तर आजको अवस्था त्यो रहेन । अब सरकार स्थायी भयो । जनतासामु विभिन्न वाचा गरेर चुनाव जितेको छ । अब सरकारले त्योअनुसारको काम नगर्नुको विकल्प नै छैन । अब सरकारले समान रूपमा विकासका खर्च गर्न थाल्नेबित्तिक्कै यो साइकल दोहोरिँदैन । मेरो विचारमा अर्को वर्ष यो प्रक्रिया दोहोरिँदैन । यो साइकल ब्रेक हुनुपर्छ ।
बढेको पुँजीअनुसार व्यवसाय विस्तारमा कत्तिको प्रेसर छ ?
बैंकिङ भनेको प्रेसरले अथवा आजको भोलि हेरेर काम हुँदैन । पाँच/ सात लाख मानिसको निक्षेप लिएर हामीले काम गरिरहेका छौं । उहाँहरूको निक्षेपको सुरक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । त्यसपछि लगानीकर्ताहरूलाई प्रतिफल दिनु अर्को दायित्व हो । पुँजी बढ्नुको अर्थ बैंकको लेन्डिङ क्यापासिटी बढ्नु हो । त्यो हिसाबले हिजोको भन्दा फरक ढंगले अलिकति अगाडि गएर खुलेर गर्ने एउटा कुरा छ । तर, पुँजी बढ्यो भन्दैमा एक वर्षमै बिजेनसको स्पिड बढाएर त्यहाँ पु¥याउँछु भन्ने सोच बैंकले राख्नुहुँदैन । यदि कसैले राख्छ भने त्यो गलत हो ।
रिटर्न भन्ने कुरा पुँजी बढाउँदै गएपछि केही समयका लागि जबसम्म त्यो पुँजीलाई तपार्इं पूर्ण रूपमा उपयोग गर्न सक्नुहुन्न, तबसम्म हिजोको जे रिर्टन थियो, आज त्यही रिटर्न आउन सक्छ भन्ने छैन । जब हामीले पुँजीलाई कन्जुम गर्छौं भोलि त्योअनुसार लेन्डिङ, त्यहीअनुसारको बिजनेस जेनेरेट भइसकेपछि हिजोभन्दा बेटर रिजल्ट पनि दिन सक्छ तर त्यसका लागि आजको आजै भन्ने हुँदैन । यस्तो प्रेसरमा कुनै पनि बैंकको सीईओ अथवा म्यानेजमेन्टले काम गर्नुहुँदैन । हामीले कसैको नासो सुरक्षित फर्काउने जिम्मा लिएर राखेका छौं । त्यसका लागि सुरक्षित ठाउँमा लगानी गरेर आएको प्रतिफलबाट उनीहरूको डिपोजिट फर्काउने र लगानीकर्तालाई प्रतिफल दिने हो ।
पुँजी बढ्यो, पुँजीअनुसार लगानी गर्छु भनेर हिजोको दिनमा बैंकहरूले धेरै लगानी गर्दा अहिले यस्तो अवस्था आयो भन्ने पनि छ नि ?
बजारमा हरेक थरीका मानिसले हरेका थरीका टीका–टिप्पणी गर्दछन् । कुनै पनि कुराको फाइदा हुन्छ भने त्यसका केही बेफाइदा पनि त्यसले त्यहाँ छाडेर जान्छ । पुँजी वृद्धिले बैंकको आफ्नै क्यापासिटी बढेको छ । हिजोको दिनमा दस मेगावाटको हाइड्रोपावर हेर्दा नेपाली बैंकले पनि यस्तो गर्न सक्छ र नेपालीको लगानीले पनि हुन्छ र भन्ने स्थिति थियो भने आज पचहत्तर सय मेगावाटको प्रोजेक्ट सामान्य भइसकेको छ । बैंकिङ सेक्टरको क्यापासिटी बढेको कारणले नै यो भएको हो । एकातिर ठूला प्रोजेक्टहरूमा बैंकहरूको लगानी गर्न सक्ने क्यापासिटी बढेको छ, यो फाइदा हो ।
बैंकको नेटवर्क र क्यापिटल बढ्दा डिपोजिटका रूपमा लिएको जनताको पैसा त्यसको पनि सुरक्षा हुन्छ । बैंकको क्यापासिटी बढेपछि स्वभावतः ह्युमन नेचर नै के हो भने कमर्सियल अर्गनाइजेसनमा मेरो क्यापासिटी बढेको छ, मैले यसलाई कति चाँडै फुल क्यापासिटीमा लैजान्छु भनेर प्लान गरेर एउटा स्ट्राटिजी बनाएर बैंकहरू त अगाडि बढ्छन् । हिजो एउटा स्याचुरेसन मैले आफ्नो क्यापिटललाई कन्जुम गर्नुपर्छ र नर्मल पाँच/ सात पर्सेन्ट ग्रोभन्दा बढी मैले चाहेर ठाउँ भएर पनि गर्न सक्दिनँ । तर, आज भने यदि ग्रो गर्ने रुम छ भने मैले ग्रो गर्न सक्ने स्थिति भयो । त्यही भएर हिजोभन्दा केही लचकता अपनाएर काम गरेको अवस्था हो । तर, ठ्याक्कै यो क्यापिटललाई त्यहीअनुसार बढाएर रिस्क लिने स्थिति होइन ।
बैंकलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ । के छन् भावी योजना ?
यो बैंकमा म स्थापनाकालदेखि नै छु । मेरो योजना त्यतिबेलादेखि नै यो बैंकलाई कसरी सबल, सक्षम र भोलि यो बैंक छाडेर जाँदा अर्को जेनेरेसनले प्राउड गर्ने स्थल होस् भन्ने हिसाबले काम गरेको हुँ । हिजो म डेपुटी सीईओमात्र होइन एजीएम, डीजीएम, जीएम हुँदै आएको व्यक्ति हुँ । बाहिरबाट म नितान्त नयाँ ठाउँमा आएर, नयाँ सोच, नयाँ भिजन बनाएको स्थिति मेरा लागि रहेन । मैले हिजो पनि सतप्रतिशत दिएको थिएँ, अहिले पनि मैले दिने त्यही हो ।
बैंक भनेको विश्वास आर्जन गर्ने ठाउँ हो । यहाँ हामीले विश्वासका आधारमा कसैको पैसा चलाउने हो । त्यसकारण बैंक हरेक दृष्टिकोणले बलियो हुनुपर्छ । निक्षेपकर्ताहरूको निक्षेप सुरक्षित हुनुपर्छ । लगानीकर्ताहरूले यथोचित रिटर्न पाउनुपर्छ । त्यो हुनका लागि बैंक फाइनान्सियल्ली साउन्ड र प्रोफेसनल्ल राम्रो म्यानेज र गभर्नेन्स राम्रो हुनुपर्यो। यो तीन/चारवटा कुरा प्राइमरी हो । यसमा हाई लेभलको इन्टिग्रिटी र त्यो लेभलको विश्वास जित्न काम गर्ने नै मेरो लक्ष्य हो । यो पब्लिक रिलेटेड कम्पनी भएको हुनाले कुनै काम मलाई राम्रो लाग्यो भनेर मैले गर्न मिल्दैन । हरेक काम ट्रान्सपेरेन्ट हुनुप¥यो । गभर्नेन्स प्रपर्ली इम्प्लिमेन्ट हुनुपर्यो। रेगुलेटरी निकायले दिएको निर्देशन, देशको ऐन कानुन पुर्ण रूपमा पालना हुनुपर्यो । यो बैंक स्ट्रिटी, स्टेबल र कन्सिस्टेन्ट हिसाबले जानुपर्छ भन्ने मान्यता हो र यो त्यही हिसाबले लैजाने मेरो सोच हो ।
प्रतिक्रिया