त्रिभुवन विमानस्थलमा भीआईपी/भीभीआईपीका लागि नयाँ नियम
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट (भीआईपी) तथा अति विशिष्ट (भीभीआईपी) व्यक्तिहरूको आगमन र प्रस्थान प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ नियम लागू भएको छ। अध्यागमन कार्यालयले जारी गरेको सूचनाअनुसार, अबदेखि भीआईपी/भीभीआईपी व्यक्तिहरूले अध्यागमन प्रक्रिया पूरा गर्न अनिवार्य रूपमा स्वयं उपस्थित भई फोटो खिचाउनुपर्नेछ।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जारी गरेको सूचनामा भनिएको छ, “भीआईपी/भीभीआईपी महानुभावहरूको आगमन र प्रस्थान प्रक्रियालाई सरल, सहज, शीघ्र र सुविधायुक्त बनाउन छुट्टै भीआईपी/भीभीआईपी डेस्कको व्यवस्था गरिएको छ।”
सूचनाअनुसार, उक्त डेस्क प्रयोग गर्ने व्यक्तिहरूले (कुनै ऐन वा कानुनमा बायोमेट्रिक छुटको व्यवस्था भएकाबाहेक) अनिवार्य रूपमा स्वयं उपस्थित भई फोटो खिचाएर अध्यागमन प्रक्रिया पूरा गर्नुपर्नेछ। यद्यपि, बायोमेट्रिक (औँठा छाप) भने अनिवार्य नगरिएको स्पष्ट पारिएको छ।
यो नयाँ व्यवस्थाले भीआईपी/भीभीआईपी व्यक्तिहरूको अनुपस्थितिमा अध्यागमन प्रक्रिया पूरा गर्ने पुरानो अभ्यासलाई पूर्ण रूपमा बन्द गरेको छ। नेपाल राजपत्रमा उल्लेखित व्यक्तिहरूलाई समेत उक्त डेस्कको प्रयोग गरी प्रक्रिया सहज बनाउन अनुरोध गरिएको छ।
प्रतिक्रिया