बिहीबार, १३ वैशाख २०८१

प्राधिकरणकै कर्मचारीको संलग्नतामा यसरी गराईदो रहेछ लोडसेडिङ

समयपोष्ट २०७३ माघ १० गते ६:२८

महानगरीय प्रहरी अपराध महाशाखाले  विद्युत चोरी र मिटरमा छेडछाड संलग्न विद्युत प्राधिकरणका कर्मचारीहरुलाई पक्राउँ गरेको छ । महाशाखाले आइतवार विद्युत चोरी र मिटरमा छेडछाड गरेर राज्यको राजस्व चुहावटमा  संलग्न प्राधिकरणका १२ जना प्राधिकरणकै पुर्व एवं वहालवाला कर्मचारी सहित  १६ जनालाई पक्राउँ गरेको हो ।  पक्राउ परेका कर्मचारीले खानेपानी उद्योग देखि मिठाई पसलसम्मको मिटर गडवढ गरेको देखिएको छ ।

Advertisement

कर्मचारीलाई घुस खुवाएर मिटर बिगार्न लगाउने चार जना ब्यापारीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  मन्जुश्री खानेपानीका  संचालक कुमार लामा,  मिठाई पसल संचालक तपन घोष, कपास व्यवसायी परवेज आलम र रामेश्वर मिठाई पसलका संचालक रमेश चुडाँल रहेका छन् ।

त्यस्तै पक्राउँ पर्ने प्राधिकरणका कर्मचारीहरुमा नेपाल विद्युत प्राधिकरण बालाजुका सुपर भाईजर ५० बर्षिय सुमन श्रेष्ठ, भक्तपुरका पुर्व सुपरभाईजर भगवान पाण्डे,  मिटर रिडर ५६ बर्षीय टहल बहादुर कार्की,  हेटौँडाका मिटर रिडर ५१ बर्षिय महादेव प्रधान, इलेक्ट्रिसियन अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुङ्गाना, श्याम वस्नेत, प्रदीप शर्मा, सूर्यबहादुर थापा, ठाकुर महर्जन रहेका छन् । महाशाखाका अनुसार उनीहरु कम विलिङ गर्ने र लोडसेडिङ गराउन मद्दत गरेको देखिएको छ। 

पक्राउ परेका प्राधिकरणका वहालवाला एवं पूर्व कर्मचारीले सिङ्गल फेज लाईनको मिटरमा बिजुली खपत बापत ४० देखि ५० हजार रुपैयाँसम्मको महसुल उठ्दा घटाएर ५ सय देखि १० हजार रुपैयाँसम्म बनाईदिने गरेको पुष्टि भएको छ । सो बापत एउटाबाट १० देखी ३० हजारसम्म लिने गरेको खुल्न आएको छ । त्यस्तै उनीहरुले थ्री फेज लाईनको मिटरमा विजुली खपत बापत उठेको १० लाख देखि १५ लाख रुपैयाँ सम्मको बिल ५० हजार देखि १ लाखसम्ममा झारिदिने गरेका थिए । 

प्रहरीले कर्मचारी सहित चोरीमा प्रयोग गरिने बा. ५ च ३४५१ नम्बरको निजी गाडी समेत नियन्त्रणमा लिएको छ । सो गाडीलाई पक्राउ भएका  दुई सुपरभाईजरले प्राधिकरणको अफिस जस्तै बनाएका थिए ।  सो गाडीमा मिटरको सिल तोडमोड गर्न आवश्यक सम्पुर्ण उपकरणहरु राख्ने  गरिएको थियो । 

विद्युत प्राधिकरणका अनुसार कुल उत्पादनको करिब २६ प्रतिशतसम्म विद्युत चुहावट हुने गरेको छ । जसमध्ये १४ देखि १६ प्रतिशत बिजुली चोरी हुने गरेको अनुमान छ ।

यस्तो चोरीमा हुक गर्ने प्रचलनलाई प्रमुख कारक मान्ने गरिएको थियो । तर, प्रहरीका अनुसन्धानबाट प्राधिकरणकै कर्मचारीको मिलेमतोमा मिटर बिगारेर चोरी हुने गरेको पुष्टि हुनगयो । विद्युत चोरीबाट मात्रै राज्यलाई बर्षेनी ८ अर्ब रुपैयाँ बढी नोक्सान हुने गरेको थियो । प्राधिकरण घाटामा जाने मुख्य कारण नै चुहावट रहेको बताइए पनि यसको न्युनिकरणमा ठोस प्रगति हुन सकेको थिएन । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री