फ्रिल्यान्सरको लागि वित्तीय सेवा सहज र प्रभावकारी बनाउँदै सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा स्वतन्त्र पेसाकर्मी (फ्रिल्यान्सर)हरूलाई लक्षित गर्दै ‘सिटिजन्स फ्रिल्यान्सर सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ। यो नवीन खाता विशेष गरी फ्रिल्यान्सरहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जसले नेपाली रुपैयाँसँगै अमेरिकी डलरमा पनि खाता खोल्ने सुविधा प्रदान गर्छ। इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) को सन् २०२२ को तथ्यांकअनुसार, नेपालमा ६६ हजारभन्दा बढी फ्रिल्यान्सरहरू सक्रिय छन्। यही तथ्यांकलाई आधार बनाएर सिटिजन्स बैंकले फ्रिल्यान्सरहरूको आर्थिक सुविधा र सहजताका लागि यो खाता ल्याएको हो। बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारस विक्रम थापाका अनुसार, यो खाता फ्रिल्यान्सरहरूको बढ्दो संख्यालाई लक्षित गरी डिजाइन गरिएको हो।
आईआईडीएसको तथ्यांकअनुसार, सन् २०२२ मा फ्रिल्यान्सरहरूले वार्षिक २ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म नेपाल भित्र्याएका थिए। विशेषगरी सूचना प्रविधि (आईटी) क्षेत्रमा कार्यरत फ्रिल्यान्सरहरूले मासिक १५ हजार डलरसम्म पनि कमाउने गरेको अनौपचारिक तथ्यांकहरूले जनाएका छन्। फ्रिल्यान्सरहरूका लागि आर्थिक रूपमा थप सशक्त बनाउने उद्देश्यले बैंकले ल्याएको सेभिङ अकाउन्टबारे समयपोष्टले बैंकका डिपोजिट मार्केटिङ प्रमुख थापासँग गरेको कुराकानी:
फ्रिल्यान्सर सेभिङ अकाउन्ट भनेको के हो र यो सामान्य सेभिङ अकाउन्टभन्दा कसरी फरक छ?
फ्रिल्यान्सर भनेको त्यो व्यक्ति हो जसले स्वतन्त्र रूपमा विभिन्न ग्राहकका लागि काम गर्छ र कुनै एक कम्पनीमा स्थायी कर्मचारीको रूपमा नरही, प्रायः परियोजना वा कामको आधारमा सेवा प्रदान गर्छ। फ्रिल्यान्सरले आफ्नो समय र कामको अवस्था आफैँ तय गर्न सक्छ र विभिन्न ग्राहकहरूसँग सम्झौताका आधारमा आम्दानी प्राप्त गर्छ।
फ्रिल्यान्सर सेभिङ अकाउन्ट सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विशेष रूपमा फ्रिल्यान्सरहरूका लागि डिजाइन गरेको खाता हो। यस खाताले फ्रिल्यान्सरहरूलाई आफ्नो आम्दानी व्यवस्थापन गर्न सहज बनाउँछ। यसको मुख्य विशेषता भनेको USD (अमेरिकी डलर) र NPR (नेपाली रुपैयाँ) मा छुट्टाछुट्टै खाता खोल्न सकिने सुविधा हो, जसले विदेशी मुद्रा र नेपाली मुद्रालाई एकैसाथ व्यवस्थापन गर्न सजिलो बनाउँछ। यस सुविधाले फ्रिल्यान्सरहरूलाई अन्तर्राष्ट्रिय ग्राहकहरूबाट प्राप्त हुने भुक्तानी (USD मा) र स्थानीय आम्दानी (NPR मा) लाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत गर्छ।
फ्रिल्यान्सरहरूका लागि विशेष रूपमा डिजाइन गरिएको सेभिङ अकाउन्ट खोल्नका लागि कस्ता कागजातहरू आवश्यक पर्दछन्?
NPR खाता खोल्दा, यदि तपाईं सामान्य खाता खोल्न चाहनुहुन्छ भने नेपाली नागरिकता प्रमाणपत्र (Citizenship Certificate), NIN, र Declaration आवश्यक पर्छ। तर, USD खाता खोल्नका लागि तपाईंले विदेशी मुद्रा अर्थात् USD मा आम्दानी गरेको प्रमाण पेश गर्नुपर्ने हुन्छ। यसका लागि तपाईंलाई विदेशी मुद्रा स्रोतमाथि आधारित प्रमाण दिनुपर्ने हुन्छ, जसको उद्देश्य तपाईंको USD आम्दानी कानुनी र प्रमाणित हुनुपर्छ।
फ्रिल्यान्सर सेभिङ अकाउन्टमा न्यूनतम ब्यालेन्स राख्नुपर्ने आवश्यकता हुन्छ कि हुँदैन?
फ्रिल्यान्सरको खाता खोल्दा, यदि तपाईं नेपाली बचत खाता (NPR Account) खोल्न चाहनुहुन्छ भने सामान्यतया न्यूनतम NPR 500 राख्नुपर्छ। तर, यदि तपाईं USD खाता खोल्न चाहनुहुन्छ भने, तपाईंले न्यूनतम USD 10 राख्नुपर्ने हुन्छ।
यो अकाउन्टमा ब्याजदर कति हुन्छ र यो कसरी गणना गरिन्छ?
यदि तपाईं NPR खाता खोल्नुहुन्छ भने, तपाईंलाई उच्चतम ब्याजदर ४.५% सम्म प्राप्त हुन सक्छ। यदि तपाईं USD खाता खोल्नुहुन्छ भने, तपाईंलाई ३.७५% ब्याजदर प्राप्त हुन्छ।
के यो अकाउन्टमा अन्तर्राष्ट्रिय भुक्तानी जस्तै PayPal, Payoneer लिनका लागि विशेष व्यवस्था हुन्छ?
फ्रिल्यान्सर सेभिङ अकाउन्टमा अन्तर्राष्ट्रिय भुक्तानी सेवाहरू जस्तै PayPal, Payoneer प्राप्त गर्ने कुनै विशेष व्यवस्था उपलब्ध छैन।
फ्रिल्यान्सर सेभिङ अकाउन्टमा कुनै विशेष शुल्क वा चार्जहरू लाग्छन् कि?
यस खाता प्रकारमा कुनै विशेष शुल्क वा चार्जहरू लाग्दैनन्।
यो अकाउन्टमा अनलाइन बैंकिङ वा मोबाइल बैंकिङ सुविधा कत्तिको प्रभावकारी छ?
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, र डिम्याट खाता प्रथम वर्ष निःशुल्क पाउनुहुनेछ, जसले अनलाइन वित्तीय सेवा सहज र प्रभावकारी बनाउँछ।
फ्रिल्यान्सरहरूका लागि यो अकाउन्टमा लगानी वा बचत योजनाहरूसँग जोडिएका कुनै विशेष स्कीमहरू छन् कि?
फ्रिल्यान्सर खातामा सिटिजन्स बैंकले “फोर्स सेभिङ” नामक अर्को अप्सन उपलब्ध गराएको छ। साथै, रिकरिङ डिपोजिटको सुविधा पनि छ। सेवाग्राहीहरूले मासिक रुपमा NPR 1,000, 2,000, 5,000 वा आफूले चाहेको रकम तीन महिनादेखि १० वर्षसम्म जम्मा गर्न सक्छन्। यस योजनामा फिक्स्ड डिपोजिटको बराबर ब्याजदर लागु हुन्छ।
यस माध्यमबाट क्रमशः पैसा बचत हुँदै जान्छ र आवश्यक परेको समयमा ठूलो रकमको रूपमा प्रयोग गर्न सकिन्छ। हाल यस योजनाप्रति चासो बढ्दो छ, विशेषगरी स्वदेशमै केही गरौँ भन्ने सोच भएका फ्रिल्यान्सरहरूका लागि यो योजना लाभदायी हुन सक्छ।
यो अकाउन्टमा बीमा वा अन्य सुरक्षा सुविधाहरू उपलब्ध छन् कि छैनन्?
खाता खोल्नेबित्तिकै ग्राहकहरूले NPR २५,००० सम्मको मेडिकल इन्सुरेन्स तथा दुर्घटनाको अवस्थामा NPR ३,००,००० सम्मको दुर्घटना बीमा सुविधा प्राप्त गर्न सक्छन्।
यो योजना खाता खोलेको एक वर्षसम्म लागू हुन्छ। साथै, सेवाग्राहीहरूले १० प्रतिशत पीएफ (Provident Fund) मा जम्मा गर्न सक्ने सुविधा पनि पाउँछन्।
फ्रिल्यान्सर सेभिङ अकाउन्ट खोल्दा कुन–कुन कुराहरूलाई ध्यानमा राख्नुपर्छ?
यस्तो खाता खोल्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको आम्दानीको स्रोत (Source of Income) हेर्ने र त्यसलाई प्रमाणित (Verify) गर्नु हो। कहिलेकाहीँ खाताको दुरुपयोग हुने सम्भावना रहने भएकाले, सावधानी आवश्यक हुन्छ।
फ्रिल्यान्सर खातामा जम्मा भएको विदेशी मुद्रा अन्यत्र पठाउन मिल्दैन। तर यदि आउने बेला उक्त रकमको स्रोत शंकास्पद देखियो भने राष्ट्र बैंकले TTR (Transaction Threshold Reporting) रेकर्डिङको प्रक्रिया अनुरूप निगरानी गर्ने गर्दछ। यसले शंकास्पद गतिविधिहरूको निगरानी र मार्गदर्शन पनि गर्दछ।
यदि कुनै समस्या देखिएन भने पनि बैंकले खाताको कारोबार नियमित रूपमा मोनिटरिङ गरिरहेको हुन्छ। सुरुवातमै आम्दानीको स्रोत स्पष्ट रूपमा देखाएर, त्यसका आधारमा मात्र डलर कारोबार गर्न अनुमति दिइन्छ। हरेकपटक विदेशी मुद्रा खातामा आउँदा, ग्राहकसँग एक घोषणा पत्र (Declaration) लिइन्छ। बैंकमा त्यस्ता कारोबारको निगरानी गर्ने छुट्टै निकाय पनि हुन्छ।
के यो अकाउन्टबाट नियमित खर्च र बचतलाई कसरी व्यवस्थित गर्न सकिन्छ?
यस खाताबाट नियमित खर्च र बचत दुवैलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ। बैंकले रिकरिङ डिपोजिट (Recurring Deposit) को सुविधा उपलब्ध गराएको छ। सेवाग्राहीले फोर्स सेभिङको विकल्प अपनाएर महिनामा NPR 1,000, 2,000, 5,000 वा आफूले चाहेको रकम जम्मा गर्न सक्छन्, जुन तीन महिनादेखि १० वर्षसम्मको अवधिका लागि गर्न सकिन्छ। यसमा फिक्स्ड डिपोजिट बराबर ब्याजदर लागु हुन्छ।
यसरी क्रमशः रकम जम्मा हुँदै जान्छ र आवश्यक परेको बेला निकाल्दा ठूलो रकमको रूपमा प्रयोग गर्न सकिन्छ। साथै, USD मा कमाइ भएको रकमलाई पनि सहजै NPR मा रूपान्तरण गर्न सकिने भएकाले खर्च र बचतको व्यवस्थापन अझ सहज हुन्छ।
प्रतिक्रिया