इमेज सहकारी ठगी प्रकरणः ढोरपाटन नगर प्रमुख नेपाली जेल चलान
बहुचर्चित इमेज बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा संलग्न प्रमुख अभियुक्त ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सोमबार नेपालीलाई थुनामा पठाई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष समेत हुन्।
यसअघि पनि उनलाई बागलुङ जिल्ला अदालतले ठगी मुद्दामै थुनामा पठाउने आदेश दिएको थियो। गत १५ असोजमा न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले उनलाई बागलुङ कारागारमा थुनामा राख्ने निर्णय गरेको थियो।
नेपालीविरुद्ध बागलुङ र कास्की जिल्लामा छुट्टाछुट्टै ठगी मुद्दा दायर भएका छन्। कास्की जिल्ला सरकारी वकिल कार्यालयले उनीसहित १५ जनाविरुद्ध ५७ करोड ३५ लाख ८४ हजार ९४७ रुपैयाँ क्षतिपूर्ति माग गर्दै अभियोगपत्र दायर गरेको हो।
थुनामा रहेका नेपालीलाई गत साता मात्रै पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा बयानका लागि प्रहरी रोहवरमा बागलुङ–पोखरा ल्याइएका थिए।
यसअघि कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले उक्त मुद्दामा उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, नयाँ आदेशअनुसार अहिले उनलाई पुनः थुनामा राखिनेछ।
प्रतिक्रिया