
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको छ । बैठकमा सहभागी हुन पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरू पार्टी कार्यालयमा जुट्न थालेका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा बिहान ८ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा सबैलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको थियो ।
यो बैठकलाई विशेष अर्थपूर्ण मानिएको छ किनकि निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता दिएको छ । आयोगको निर्णयले रुख चिह्न र चारतारे झण्डा गगन थापा पक्षलाई प्रदान गरेको छ । देउवा पक्षले यो निर्णयलाई अस्वीकार गर्दै आएको छ र आफूहरू नै पार्टीको वैधानिक तथा बहुमत पक्ष भएको दाबी गर्दै आयोगमा छुट्टै निवेदन पनि दर्ता गरेको थियो ।
देउवा पक्षले आयोगको निर्णयलाई पूर्वाग्रही तथा गैरकानुनी भन्दै विरोध जनाएको छ । बैठकमा आयोगको निर्णयविरुद्धको रणनीति, पार्टीको भावी योजना तथा संगठनात्मक पक्षबारे छलफल हुने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया