आइतबार, २ कार्तिक २०८२

सिटिजन्स बैंकद्धारा कोशी प्रदेशमा “लिडरसिप सेमिनार” आयोजना

समयपोष्ट २०८२ भदौ ९ गते ११:३४

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा प्रबन्धक र अन्य कर्मचारीहरूको सहभागितामा “सेमिनार अन कोशी लिडरसिप: इन्स्पायरिङ पर्फरमेन्स एण्ड अचिभिङ एक्सिलेन्स” कार्यक्रम सम्पन्न गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा आयोजित यो सेमिनारमा गत आर्थिक वर्ष २०८०/८१ को कार्य प्रगति समीक्षा, चालु आर्थिक वर्ष २०८१/८२ का प्राथमिकता र केन्द्र–प्रदेश सहकार्य सुदृढीकरणका विषयमा गहन छलफल भएको छ।

यो सेमिनार मधेश र बागमती प्रदेशमा हालै सम्पन्न यस्तै प्रकृतिका कार्यक्रमको निरन्तरताको रूपमा आयोजित गरिएको हो। बैंकले अन्य प्रदेशहरूमा पनि यस्तै सेमिनारहरू क्रमशः आयोजना गर्ने योजना बनाएको छ।

आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म सिटिजन्स बैंकले कर्जा, निक्षेप र खुद ब्याज आम्दानीमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ। बैंकको कर्जा प्रवाह ११.१५% ले वृद्धि भई १ खर्ब ७५ अर्ब १६ करोड पुगेको छ, जुन अघिल्लो वर्ष १ खर्ब ५७ अर्ब ५८ करोड थियो। त्यस्तै, निक्षेप संकलन ११.६९% ले बढेर २ खर्ब १४ अर्ब ८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२ अर्बले बढी हो।

Advertisement

खुद ब्याज आम्दानीमा ११.२०% को वृद्धि भएको छ, जसले यो रकम ६ अर्ब ३६ करोड पुगेको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१% रहेको छ, जसले सन्तुलित तरलता व्यवस्थापनलाई संकेत गर्छ। समीक्षा अवधिमा सम्पत्ति प्रतिफल दर (ROA) ०.५५% र पुँजी प्रतिफल दर (ROE) ५.८१% कायम भएको छ। साथै, बैंकले कोषको लागत घटाउने, बेस रेट कम गर्ने र कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गरेको छ।

सिटिजन्स बैंकले हालै विश्वकै प्रतिष्ठित “बैंक अफ द ईयर २०२४” अवार्ड प्राप्त गरेको छ। फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। त्यस्तै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र RLN (रेमिट्यान्स लिंक नम्बर) सेवा उपलब्ध गराउने पहिलो बैंक बनेको छ।

हाल सिटिजन्स बैंकले ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ३० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले आगामी दिनमा पनि ग्राहकमुखी सेवा, नवीन प्रविधि र उत्कृष्ट व्यवस्थापनमार्फत वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री