शनिबार, १ कार्तिक २०८२

तिहार ‘फ्लोरा एक्स्पो’ सकियो, एक करोडको कारोबार

समयपोष्ट २०८२ कार्तिक १ गते २२:०७


काठमाडौँको भृकुटीमण्डपमा जारी पाँचदिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आज सकिएको छ । एक्स्पो नेपाल नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको उक्त एक्स्पोमा रु एक करोडको कारोबार भएको छ ।

Advertisement

सङ्घकी उपाध्यक्ष एवं एक्स्पो संयोजक लक्ष्मी महर्जनले ३५ हजार बढीले अवलोकन गरेका एक्पोमा एक करोडको कारोबार भएको जानकारी दिनुभयो । फ्लोरा समापन कार्यक्रममा सहभागी पूर्ववातावरणमन्त्री गणेश साहले ‘वातावरण जोगाऊ’ अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । नायिका मनिषा कोइरालाले परम्परागत रैथाने बिरुवाहरूको संरक्षण र संवर्द्धन गर्नुपर्ने भन्दै यसले वातावरणमा सन्तुलन काय राख्ने धारणा राख्नुभयो ।

सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आगामी दिनमा आयोजना गरिने एक्स्पोमा परम्परागत स्थानीय रैथाने नर्सरी बिरुवालाई समेत प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । व्यवसायीहरूलाई प्रोत्साहन गर्न घरघरमा राखिएका नर्सरी तथा फूललाई पनि आगामी दिनमा प्रतिस्पर्धा गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

एक्स्पोमा ६२ वटा व्यावसायिक स्टलसहित वनस्पति विभाग, पुष्प विकास केन्द्रलगायतको अफिसियल चारवटा स्टल तथा प्रतिस्पर्धाका चार स्टल गरी ७० स्टल रहेका आयोजकले जनाएको छ ।

व्यवसायीको हौसला बढाउन पुरस्कृत गरिएको थियो । एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक फूलका साथै मलखाद, अग्र्यानिक एवं रासायनिक विषादी, बीउबिजन, औजार उपकरण तथा प्रविधिको स्टल राखिएको थियो ।

Advertisement

एक्स्पोको प्रवर्द्धन पुष्प विकास केन्द्र र वनस्पति विभागले गरेका हुन् । सङ्घले तिहारलक्षित तिहार फ्लोरा एक्स्पो र चैतमा हर्टिकल्चर एक्स्पो गरी वर्षमा दुईवटा मेला गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री