शनिबार, १ कार्तिक २०८२

तिहारमा हल्का वर्षाको सम्भावना, कुन दिन कहाँ पानी पर्छ ?

समयपोष्ट २०८२ कार्तिक १ गते २१:५८

Advertisement

यस वर्षको तिहारमा कुनै ठूलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार जारी गरेको बुलेटिनअनुसार पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

कार्तिक ३ गते (लक्ष्मी पूजा)

लक्ष्मी पूजाको दिन देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

कार्तिक ४ गते

Advertisement

यस दिन पनि पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना कायमै रहनेछ। तराई र अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

कार्तिक ५ गते (गोवर्धन पूजा)

गोवर्धन पूजाको दिन देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कार्तिक ६ गते (भाइटीका)

भाइटीकाको दिन कोशी र मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री