स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ३ अर्ब २ करोड, यस्तो छ लाभांश क्षमता

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा २४ करोड ५० लाख रुपैयाँ कम हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ३ अर्ब २७ करोड ४३ लाख रुपैयाँ रहेको थियो। बैंकको आम्दानीमा आएको कमीका कारण नाफा प्रभावित भएको हो।
आम्दानीमा कमी, प्रोभिजन राइटब्याकबाट राहत
बैंकको खुद ब्याज आम्दानी र खुद फि एन्ड कमिसन आम्दानीमा कमी आएको छ। आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ४८ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ३ करोड ३२ लाख रुपैयाँभन्दा ५४ करोड ४८ लाख कम हो। यस्तै, खुद फि एन्ड कमिसन आम्दानी १ अर्ब ४१ करोड ५८ लाखबाट घटेर १ अर्ब ३६ करोड ४४ लाख रुपैयाँमा झरेको छ।
यद्यपि, बैंकले सम्भावित नोक्सानीका लागि राखिएको व्यवस्था (प्रोभिजन) मा ३३ करोड ६२ लाख रुपैयाँ फिर्ता गरेको छ, जसले नाफालाई केही हदसम्म राहत दिएको छ। अघिल्लो वर्ष बैंकले २१ करोड ६१ लाख रुपैयाँ प्रोभिजन थप गरेको थियो।
सञ्चालन आम्दानी र खर्च
बैंकले साढे १७ करोड रुपैयाँ नेट ट्रेडिङ इन्कम र अन्य सञ्चालन आम्दानीसहित कुल ६ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो वर्षको ७ अर्ब १ करोड ४९ लाख रुपैयाँभन्दा ८ करोड १२ लाख कम हो। खर्चमा भने सामान्य कमी आएको छ, जसले गर्दा गैरसञ्चालन खर्च १ करोड २० लाख रुपैयाँमा सीमित भएको छ।
प्रतिसेयर आम्दानी र लाभांश क्षमता
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि प्रभावित भएको छ। २०८१ असार मसान्तमा ३४.७३ रुपैयाँ रहेको ईपीएस २०८२ असार मसान्तमा ३०.१७ रुपैयाँमा झरेको छ।
बैंकले ३ अर्ब ३ करोड नाफामध्ये १ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ लाभांशका रूपमा वितरण गर्न सक्ने देखिन्छ। गत वर्षको सञ्चित नाफा र रिटेन्ड अर्निङ समायोजन गर्दा २०८२ असार मसान्तसम्मको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ रहेको छ। १० अर्ब ४ करोड २४ लाख चुक्ता पुँजीका आधारमा बैंकको लाभांश क्षमता १९.८५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको २६.११ प्रतिशतभन्दा कम हो।
निक्षेप र कर्जा
२०८२ असार मसान्तसम्म बैंकले १ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३ अर्बले बढी हो। तर, कर्जा प्रवाह भने ९ अर्बले घटेर ७२ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ।
वित्तीय सूचकांकमा सुधार
बैंकको निष्क्रिय कर्जा अनुपात १.४७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा सुधार हो। बेसरेट ६.६ प्रतिशतबाट घटेर ४.९९ प्रतिशत पुगेको छ भने ब्याजदर स्प्रेड ४ प्रतिशतबाट ३.५३ प्रतिशतमा झरेको छ। प्राथमिक पुँजी अनुपात १३.६७ प्रतिशतबाट बढेर १५.८ प्रतिशत पुगेको छ। यस्तै, नेटवर्थ प्रतिसेयर २१७ रुपैयाँ र पीई रेसियो २१.८ कायम भएको छ।



























प्रतिक्रिया