सोमबार, १२ जेठ २०८२

शौर्य सिमेन्टको सहयोगमा विद्यालय र स्वास्थ्य केन्द्र भवन उद्घाटन

समयपोष्ट २०८२ जेठ १२ गते १३:०५

Advertisement

शौर्य सिमेन्ट इ. लि. को आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७, मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय भवन उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख राजेश चन्द्र श्रेष्ठले शौर्य सिमेन्टको सामाजिक उत्तरदायित्वप्रति धन्यवाद ज्ञापन गर्दै भने, “संरचना निर्माण एउटा पक्ष हो, अब शैक्षिक गुणस्तर सुधार्न अभिभावक र समुदायको सक्रिय सहभागिता अपरिहार्य छ।” उनले शौर्य सिमेन्टको पहलले नगरको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नयाँ ऊर्जा थपिएको बताए।

कार्यक्रममा शौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले स्थानीय तहसँग सहकार्यमा सामाजिक उत्तरदायित्वलाई अघि बढाइरहेको उल्लेख गर्दै देशको समृद्धिका लागि आर्थिक र राजनीतिक क्षेत्र दुवै सबल हुनुपर्नेमा जोड दिए। साथै, निर्माण क्षेत्रका सम्भावित असर न्यूनीकरण गर्न इन्जिनियरको टोली परिचालन गरेर अध्ययन–अवलोकन भइरहेको जानकारीसमेत उनले दिए।

वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक सुविन ढुंगानाले विद्यालय र सामुदायिक विकासमा शौर्यको सहयोगप्रति आभार व्यक्त गर्दै खानी क्षेत्र नजिकको नदी उचाइ तथा सम्भावित जोखिममा सतर्क रहन आग्रह गरे।

Advertisement

विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले २०५६ सालदेखि कम्पनीले विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै “शिक्षक व्यवस्थापनदेखि भौतिक सामग्रीसम्ममा सहयोग पाएका छौं” भनेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मगरले पनि उद्योगको निरन्तर योगदानप्रति आभार व्यक्त गरे।

कार्यक्रमका दौरान उद्योगले विद्यार्थीहरूलाई शैक्षिक तथा खेल सामग्री वितरण गर्नुका साथै अतिथिहरूलाई मायाको चिनो प्रदान गरेको ब्रान्ड प्रबन्धक अनुज महतले जानकारी दिए।

त्यसै अवसरमा कटारी–८ मा निर्माण सम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र भवन पनि हस्तान्तरण गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले भवन हस्तान्तरणसँगै स्वास्थ्य सेवा विस्तार सुरु हुने जानकारी दिए। वडाध्यक्ष नविन्द्र तामाङले भूगोल ठूलो भएकाले नयाँ केन्द्रले सेवा वितरणमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै वडालाई एम्बुलेन्सको आवश्यकता रहेको पनि औँल्याए।

शौर्य सिमेन्टद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो योगदानले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। नगरप्रमुख श्रेष्ठको समर्थनले उक्त प्रयासलाई अझ प्रभावशाली बनाएको छ।

शौर्य सिमेन्टले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक हितका विविध सामाजिक कार्यहरूमा निरन्तर सहकार्य र योगदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री