सेयर धितो कर्जाको जोखिम भार २५ प्रतिशतले घट्यो, कर्जा विस्तारको सम्भावना २५ अर्बले बढ्ने
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाउने निर्णय गरेको छ। आइतबार सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाउने घोषणा गरेको हो।
हालसम्म ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र सोभन्दा माथिको कर्जामा १२५ प्रतिशत जोखिम भार लाग्दै आएको थियो। अबदेखि सबै सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार मात्र लाग्नेछ।
राष्ट्र बैंकको २०८१ चैत मसान्तको तथ्यांकअनुसार सेयर धितो कर्जाको कुल परिमाण १ खर्ब २४ अर्ब रुपैयाँ छ। जसमा ५० लाखभन्दा माथिको सेयर धितो कर्जा करिब १ खर्ब रुपैयाँ रहेको छ।
जोखिम भार घटेसँगै अब उक्त १ खर्बको कर्जा जोखिम भारित सम्पत्तिमा १ खर्ब २५ अर्बको सट्टा १ खर्ब मात्रै गणना हुनेछ। यसले करिब २५ अर्ब रुपैयाँको जोखिम भार हटाउने भएकाले बैंकहरूले सोही बराबर जोखिम भार भएको कर्जामा लगानी गर्न सक्नेछन्।
प्रतिक्रिया