बुधबार, १२ वैशाख २०८१

पहुँच र पहिचान स्थापित गर्दै ‘वृत्तचित्र फिल्म’

समयपोष्ट २०७५ पुष १२ गते ११:५५

Advertisement

लव प्याकुरेलले सयभन्दा बढी वृत्तचित्र फिल्म, दुई सय शृङ्खलाभन्दा बढी टीभी कार्यक्रम, टीभी सिरियल, ‘प्रायश्चित’, ‘सपना’, ‘आशाको दियो’लगायत भिडियो फिल्म, ‘वर्गसत्ता’, ‘समयः वाच’जस्ता लघु फिल्म सम्पादन, अवधारणा निर्माण तथा निर्देशन गरिसकेका छन् । ‘झिल्को’, ‘पञ्चायतको घाउ’, ‘सगरमाथाको प्रतिबिम्ब’, ‘जिउँदो आकाश’, ‘बिर्सिइएका महिलाहरू’, ‘निजामतीः अण्डर फायर’, ‘उसलाई फाँसी दिनुपर्छ’, ‘राउटे : अन्तिम घुमन्ते जाति’, ‘ओडारका मान्छेहरू’, ‘इतिहासको पुनरावृत्ति’, ‘केन्द्रबिन्दु’, ‘ब्ल्याक आउट’, ‘गड अफ हिमालयाज’, ‘धूलोको मूल्य’ आदि उनका सफल मानिएका फिल्महरू हुन् । एक दर्जनभन्दा बढी पुरस्कार तथा अवार्ड हात पारिसकेका प्याकुरेल वृत्तचित्र सम्पादकका रूपमा गिन्तीका मानिन्छन् । ‘सम्पादकमा श्रव्यदृश्य संरचनाको सारलाई बुझ्ने क्षमता, नाटकीय कला, लय बुझ्ने स्वाभाविक ज्ञान हुनुपर्छ’, प्याकुरेल भन्छन्– ‘उत्कृष्ट नतिजा निकाल्न सम्पादक धैर्य र लगनशील बन्नुपर्छ, यसले विषयको उच्चतम् बिन्दु भेट्टाउन मद्दत गर्छ ।’

भाग्यमा फिल्म यात्रा

कुरा २०५२ सालको हो । ठमेलमा अवस्थित सरस्वती बहुमुखी क्याम्पसमा प्याकुरेल उच्च शिक्षा अध्ययनरत थिए । ‘युगदेखि युगसम्म’ फिल्म हेरेका दर्शक थिए उनी । एक दिन आफ्नो आँखाअगाडि लामो–लामो कपाल पालेका उनै चर्चित हिरो राजेश हमाललाई ठमेलस्थित एक अफिसमा देखे । ‘एकछिन त म अवाक भएँ, अहो ! यत्रो कलाकार मेरो आँखैअगाडि ?’ प्याकुरेल भन्छन्– ‘म केही उद्देलित भएँ र हत्तपत्त राजेश हमालको अटोग्राफ मागेँ । कलेजनजिकै एक फिल्म कम्पनी रहेछ, टिम नेपाल । सो अफिसमा चर्चित कलाकारहरू आउने–जाने भइरहने । शिवशङ्कर कोइराला निर्देशित ‘खण्डहरको फूल’ नामक टेलिशृङ्खला निर्माण हुँदै रहेछ । मेरो भाग्य, त्यो टेलिशृङ्खलाको प्रोडक्सन कन्ट्रोलर थानेश्वर बस्नेत रहेछन्, उहाँ मेरो मिल्ने साथी हुनुहुन्थ्यो । उनैले निर्देशकसँग भेटाए । राजेश हमाललगायत धीरेन शाक्य, करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मा, सुभद्रा अधिकारी जस्ता चर्चित कलाकारसँग पहिलो कामको सुरुवात गरेँ ।’ उनले सहायक निर्देशकको रूपमा खण्डहरको फूलमा काम गरेका थिए ।

तीन दिन एक ध्यान

संस्कृत भाषा अन्य भाषाको तुलनामा केही असजिलो र संवेदनशील छ । संस्कृत भाषामा निर्माण हुने ‘गुरुदक्षिणा’ नामक टेलिशृङ्खलाको सुटिङ सुरु हुन केही हप्ता मात्र बाँकी थियो । यस शृङ्खलाका निर्देशक थिए– डा. घनश्याम खतिवडा । उनी संस्कृत भाषाका प्रखर वक्ता हुन् । ल लवजी, यो स्क्रिप्ट लिनुस् भनेर हातमा थमाइदिए । परेन फसाद !’ प्याकुरेललाई संस्कृत खासै आउँदैन थियो । ‘गुरुदक्षिणा’ नाटकको रूपमा पहिले रङ्गमञ्चमा प्रदर्शन गर्दा प्राविधिक सहयोगीको रूपमा काम गरेको अनुभव त उनलाई थियो तर भाषा ज्ञानमा भने अनभिज्ञ थिए । यस फिल्ममा वासुदेव कोइराला, प्रभात आचार्य, देवीराम पराजुलीहरू कलाकारका रूपमा थिए । उनीहरू दरबारमार्गस्थित तीनधारा छात्रावासमा बस्थे र बाल्मिकी क्याम्पसमा पढ्थे । ‘तिनै संस्कृतका साथीहरूसँग तीन दिन सँगै बसेँ र स्क्रिप्टको नेपाली रूपान्तरण बनाएँ’, प्याकुरेल भन्छन्– ‘त्यसपश्चात् संस्कृत भाषामा मसमेत पोख्त भएँ ।’ पछि नेपाल टेलिभिजनले निर्माण गरेको संस्कृत भाषाको टेलिशृङ्खला ‘रागविराग’मा काम गर्दा पहिलेको अनुभवले धेरै फाइदा भएको उनको अनुभव छ ।

ल लवजी, यो स्क्रिप्ट लिनुस् भनेर हातमा थमाइदिए । परेन फसाद !’ प्याकुरेललाई संस्कृत खासै आउँदैन थियो । ‘गुरुदक्षिणा’ नाटकको रूपमा पहिले रङ्गमञ्चमा प्रदर्शन गर्दा प्राविधिक सहयोगीको रूपमा काम गरेको अनुभव त उनलाई थियो तर भाषा ज्ञानमा भने अनभिज्ञ थिए ।

तीन दिन संस्कृत छात्रावासमा बस्दा त्यहाँ भएका क्रियाकलापले प्याकुरेललाई हाँसो उठाउँछ । बाहुनहरू निरञ्जन, निराकार हुन्छन्, सादगी र शाकाहारी हुन्छन् भन्ने लाग्थ्यो । पाठशालाभित्र बिहानको पूजापाठ अनिवार्य गर्नुपर्ने, मांसाहारी खाना खान नपाइने, घिउभात खानुपर्ने अनि धुम्रपान, मदिरापान निषेधित थियो । तर भित्रको माहोल फरक । सधैँजसो दुई पक्षको झडप हुने । त्यो पनि जाँड समूह र भाङ समूहबीच । म सितेरियो कराँतेको खेलाडी पनि थिएँ । एक समूह भन्थे, त्यो समूहले हामीलाई हेप्यो, कराँते सिकाउनुपर्यो । फेरि अर्को समूह भन्थे, लव सर हामीलाई सास्ती पारे, लौन गेम सिकिहाल्नुपर्यो ।

वृत्तचित्र छलाङको अध्याय

खासमा प्याकुरेल निर्देशक बन्न चाहन्थे । उनमा उत्कट चाहना थियो– कथानक चलचित्रमा हिरो–हिरोइनलाई एक्टिङ गराउने । चलचित्रमा उनले सहायक निर्देशक, मुख्य सहायक निर्देशक भएर काम गरे । त्यस समय कथानकभन्दा भिडियो फिल्मतिर बढी आकर्षण थियो । भिडियो फिल्म ‘प्रायश्चित’, ‘आशाको दियो’, ‘सपना’ बनाउनुभन्दा पहिले उनलाई एउटा अवसर मिल्यो । २०५४ सालमा ‘झिल्को’ नामक फिक्सन डकुमेन्ट्री फिल्म बनाए र त्यसको सम्पादन आफैँले गरे । लिनियर सिष्टम डेक टु डेक अर्थात् टेप टु टेपमा सम्पादन गरेका प्याकुरेललाई ननलिनियर सिष्टम बढी उपयोगी लाग्छ । दक्ष सम्पादकका लागि डिजिटल प्रविधि अनुपनदेन हो भन्छन् प्याकुरेल । उनले सम्पादन गरेको पहिलो डकुमेन्ट्री फिल्म झिल्को राजनीतिक विषयमा आधारित थियो । त्यसपश्चात् प्याकुरेल वृत्तचित्रतिरै लहसिए । कुनै विषयमा वृत्तचित्र फिल्म बनाउनुपरे त्यस विषयमा गम्भीरतापूर्वक लाग्न पाइने, गहन अनुसन्धान हुने, विषयवस्तु र दृष्टिकोणअनुरूप प्रस्तुतीकरण शैली अपनाउन पाइने, छायाङ्कनपश्चात् सम्पादन कार्यक्षेत्र फराकिलो हुने भएकाले काम गर्न मज्जा वृत्तचित्रमा आउन थालेको प्याकुरेल बताउँछन् । उनी भन्छन्– ‘पहिलो वृत्तचित्र नै त्यस बेलाको अति गम्भीर विषयवस्तु थियो, वाकद्वन्द्वमा आधारित वृत्तचित्र थियो ।

कुनै विषयमा वृत्तचित्र फिल्म बनाउनुपरे त्यस विषयमा गम्भीरतापूर्वक लाग्न पाइने, गहन अनुसन्धान हुने, विषयवस्तु र दृष्टिकोणअनुरूप प्रस्तुतीकरण शैली अपनाउन पाइने, छायाङ्कनपश्चात् सम्पादन कार्यक्षेत्र फराकिलो हुने भएकाले काम गर्न मज्जा वृत्तचित्रमा आउन थालेको प्याकुरेल बताउँछन् ।

माओवादीले चलाएको हिंसात्मक अन्दोलनद्वारा प्रजातन्त्र, कानुनी शासन तथा जनअधिकार कुण्ठित भएको केही बुद्धिजीवीहरूको तर्कमाथि प्रगतिशीलहरूले प्रतिवाद गरिरहेका थिए । वास्तवमा त्यो गतिविधि के थियो ? के त्यसबाट प्रजातन्त्र बलियो बन्छ त ? विपन्न र उत्पीडित समुदायको हित सुनिश्चित कसरी होला ? जस्ता दृष्टिकोणको अन्वेषण र सत्य निरूपण गर्ने प्रयास सो वृत्तचित्रले गरेको थियो । सम्पादनको क्रममा धेरै पटक विषयमाथि छलफल र समीक्षा भएको थियो । अहो ! वृत्तचित्र भनेको त साँच्चै गम्भीर विषयवस्तु हुँदोरहेछ भन्ने प्रभाव त्यसै बेलादेखि परिरह्यो ।’

राउटेमाथि छ महिना अध्ययन

वृत्तचित्र फिल्म मेकरमा उनलाई मन पर्ने निर्देशक हरि थापा पनि हुन् । ‘शेर्पा : सगरमाथाका वास्तविक नायकहरू’, ‘हेलिकोप्टर रेस्कुवर अन द हिमालयाज’ नामक डकुमेन्ट्रीहरू संसारभर चर्चामा छन् । तिनै निर्देशकले मानवशास्त्र तथा समाजशास्त्रको दृष्टिकोणबाट राउटे जातिमाथि वृत्तचित्र फिल्म सम्पादन गर्न भने । ‘फिल्म सम्पादक त हुँ तर मानवशास्त्र र समाजशास्त्र के हो, म कसरी बुझौँ ?’ प्याकुरेलले भने– ‘सोचेँ, यसमा मैले काम गर्नुपर्छ, किनकि विषय र पात्र मेरा लागि नौलो छ र निर्देशकको विषय पस्कने शैली पृथक र नयाँपन छ ।’ नयाँ सोच र शैलीमा काम गर्ने अवसर सम्पादकका लागि विशेष अवस्था पनि हो । ‘राउटे : अन्तिम घुमन्ते जाति’ नामक वृत्तचित्रको सम्पादन प्याकुरेलले नै गरेका हुन् । वृत्तचित्र चाँडै दर्शक माझ आउँदैछ ।

यही डकुमेन्ट्री बनाउन प्रदर्शनीमार्गस्थित एक पुस्तक पसल पुगे । मानवशास्त्र र समाजशास्त्र विषयक पुस्तक खरिद गरे । पुस्तकको मुख्य सिन्द्धान्त, परिभाषा, मूल्य–मान्यता, क्षेत्र, हाँगाहरूबारे उनले छ महिना अध्ययन गरे । प्याकुरेल भन्छन्– ‘जब आवश्यक विषयवस्तु बुझेँ, तब राउटेबारे वृत्तचित्र सम्पादनमा जुटेँ ।’

उल्टो पथ

धेरैजसो मेकर उल्टो पथमा हिँडेको पाउँछु । प्रस्तुतिलाई अत्यन्त जटिल बनाउने, परम्परागत शैली र संरचनामा रमाउने, विशेषतः अन्तरघुलन हुनुपर्ने पक्षहरू छायाङ्कन, सम्पादन र निर्देशकबीच दूरी राख्ने, विषयवस्तुलाई आन्तरिक वा गोप्य बनाउने, विषयको जीवन्तता र यथार्थता पहिल्याउन नसक्ने मेकरका कारण नेपाली वृत्तचित्र क्षेत्रको उन्नयन सुस्त भएको उनको ठहर छ । विषय सुनाउँदा अत्यन्त उत्कृष्ट सुनाउने तर परिणाम उल्टो निकाल्ने परिपाटीका कारण व्यवसायिक मर्यादामा आँच पुगेको छ । यो नेपाली चलचित्र उद्योगका लागि विडम्बना हो । प्रायः मेकरहरू अलिकति पनि चुनौती मोल्न तयार छैनन् । छायाङ्कनमा जति मेहनत हुनुपथ्र्यो, सो कार्य नगर्ने र पोष्ट प्रोडक्सनमा उत्कृष्ट परिणाम खोज्ने परम्परा नतिजामुखी नभएको उनको भनाइ छ ।

सामाजिक प्रचलनको रूपमा विद्यमान रहेको सिनो खाने प्रथामाथि बन्दै गरेको सो डकुमेन्ट्री खिच्न थालेको एक हप्ता बितिसकेको थियो । वरपर हल्ला चलिसकेको थियो । यो कुरा केही ठूला जाति भनिएकालाई मन परिरहेको थिएन । हामी सिनो खोज्नमा केन्द्रित थियौँ ।

एक पटक डकुमेन्ट्री खिच्न धनुषाको एक गाउँ टिमसहित पुगे । विषय थियो– अति उत्पीडित समुदाय चमारबारे । सामाजिक प्रचलनको रूपमा विद्यमान रहेको सिनो खाने प्रथामाथि बन्दै गरेको सो डकुमेन्ट्री खिच्न थालेको एक हप्ता बितिसकेको थियो । वरपर हल्ला चलिसकेको थियो । यो कुरा केही ठूला जाति भनिएकालाई मन परिरहेको थिएन । हामी सिनो खोज्नमा केन्द्रित थियौँ । जब सिनो भेटियो र त्यसलाई एक चमारले लैजाँदै थिए, सोही समयमा सिनो खाने प्रचलनको विपक्षमा रहेका केही चमारले अवरोध पुर्याए । पक्ष–विपक्षमा तर्क–वितर्क चल्दै थियो, एक्कासि माथ्लो जातिविशेषका केही गाउँलेहरू आए र विपक्षमा रहेका चमारलाई कुटपिट गर्न थाले । भिडियो खिचिरहेका छायाँकारलगायतलाई चमार भँडुवाहरू यिनै हुन् भन्दै झाँगलझुँगल पार्न थाले । क्यामेरा चलाउने साथी त क्यामेरा नै लिएर टाप दिइसक्नुभएछ, निर्देशक पनि थिएनन् । मेरो हातमा ह्यान्डीक्याम थियो । म भने उनीहरूलाई व्यवस्था गर्दै खिचिरहेँ । अन्ततः त्यो दृश्य नै वृत्तचित्रको मूल विषय बन्यो । पछि समाचारहरूमा पढेको थिएँ, सिनो प्रथाका पक्षपाती आक्रमणकारीमाथि प्रहरीले कानुनी कारबाही गर्यो र सरकारले सिनो प्रथाको अन्त्य भएको घोषणा गर्यो ।

छायाङ्कनमा मात्र होइन, प्रस्तुतीकरण शैलीमा पनि सरल तरिका अङ्गीकार गर्ने निर्देशकहरू प्रसस्त छन् । कमेन्ट्रीमा आधारित वृत्तचित्रको शैली नेपाली मेकरहरूको परिचायक जस्तै भएको छ । शब्दमा विवरण भर्ने शैली नै कमेन्ट्री शैली हो । प्लटमा आधारित, शब्द वा वाचनरहित, अवलोकनात्मक, सिनेमा भेरिते शैली अपनाउने निर्देशक थोरै छन् । उनी भन्छन्– ‘निर्देशक मात्र होइन, विषयको जीवन्तता र यथार्थता अवलोकन गर्ने दर्शकको अधिकारलाई अङ्गीकार गर्नु सम्पादकको पनि मूल दायित्व बन्छ, यसमा सम्पादक सधैँ सचेत हुनुपर्छ ।’

त्यस बेला र अहिले

आजभन्दा करिब बीस वर्षपहिले वृत्तचित्रबारे सुन्न पाइन्थ्यो । अति न्यून सङ्ख्यामा बन्थे । निर्माण जटिल थियो । सरकारको लगानीबाहेक व्यक्तिगत लगानी खतरापूर्ण मानिन्थ्यो । वृत्तचित्र हेर्ने दर्शक छँदै थिएनन् भन्दा पनि हुन्छ । कथानक चलचित्रको चर्चा भने थियो । सहरका दर्शकले चलचित्रलाई मनोरञ्जन साधनको रूपमा लिन्थे भने मोफसलमा युवा बिगार्ने साधन मानिन्थ्यो । प्याकुरेल सम्झन्छन्– ‘उति बेला ‘सम्झना’ नामक चलचित्र नुवाकोटको बट्टार बजारस्थित हलमा चलेको थियो, तीन घन्टा हिँडेर फिल्म हेर्न आएको थिएँ, घरका मानिसले थाहा पाएछन् । त्यसपछि त के र, खानापानी बन्द । ममी–बुबालाई चिन्ताको भारी भयो, यो केटो अब बिग्रने भयो भनेर ।’

नेपाल सरकारले वृत्तचित्रलगायत चलचित्रलाई मनोरञ्जन उद्योगको अलावा सिर्जनशील सांस्कृतिक उद्योगको रूपमा स्वीकार गरेको छ । प्रविधिको स्तरोन्नति भएको छ । दक्ष जनशक्ति यहीँ उपलब्ध छ ।

अहिले समय फेरिएको छ । चलचित्रको दायरा फराकिलो बनेको छ । नेपाल सरकारले वृत्तचित्रलगायत चलचित्रलाई मनोरञ्जन उद्योगको अलावा सिर्जनशील सांस्कृतिक उद्योगको रूपमा स्वीकार गरेको छ । प्रविधिको स्तरोन्नति भएको छ । दक्ष जनशक्ति यहीँ उपलब्ध छ । सिर्जनाको सम्मान गर्ने परिपाटी बढेको छ । श्रमको उचित मूल्य र मूल्याङ्कन हुन थालेको छ । दर्शकको माया र सद्भाव बढ्दो छ । व्यवसायिक सम्भाव्यता फैलिँदो छ । नयाँ–नयाँ वृत्तचित्र मेकरहरूको प्रवेशसँगै नयाँ शैली र संरचनामा बढोत्तरी आएको छ । परिणामतः नेपाली वृत्तचित्रहरू विश्वभर विचरण गरिरहेका छन् । पहुँच र पहिचान स्थापित गरिरहेका छन् ।

प्रस्तुती : उषा रेग्मी

प्रतिक्रिया

सम्बन्धित सामाग्री