मोदीलाई जया बच्चनको प्रश्न- सिन्दूर खोसियो,अप्रेसन सिन्दूर नाम किन राखेको ?
भारतको समाजवादी पार्टीकी सांसद तथा वरिष्ठ अभिनेत्री जया बच्चनले नरेन्द्र मोदी सरकारको कश्मीर नीति र हालैको सैन्य कारबाहीलाई लिएर तीव्र आलोचना गरेकी छन्। उनले पहलगाम आतंकवादी हमलापछि पाकिस्तानविरुद्ध भारतले गरेको सैन्य कारबाहीलाई ‘अप्रेसन सिन्दूर’ नाम दिएकोमा कडा आपत्ति जनाएकी छन्।
बुधबार भारतको माथिल्लो सभा राज्यसभामा सम्बोधन गर्दै जया बच्चनले पहलगाममा भएको आतंकवादी हमलापछि भारतले गरेको प्रतिशोधात्मक कारबाहीलाई ‘अप्रेसन सिन्दूर’ नामकरण गरिएकोमा प्रश्न उठाइन्। उनले यो नामले शहीदहरूको बलिदान र उनीहरूका परिवारको पीडालाई अपमान गरेको बताइन्।
“यो सबै कुरा कुनै काल्पनिक कथा जस्तो भएको छ। केही आतंकवादी आए, यति ठूलो हत्याकाण्ड मच्चाए। म तपाईंहरूलाई बधाई दिन्छु, तपाईंहरूले यस्ता लेखकहरू राख्नुभएको छ जसले यस्ता भव्य नाम राख्छन्,” बच्चनले व्यंग्यात्मक रूपमा भनिन्। “यो अप्रेसनको नाम ‘सिन्दूर’ किन राखियो? सिन्दूर त उजाडियो। जो मारिए, जसका पत्नीहरू विधवा भए, उनीहरूको सिन्दूर त खोसियो।”
जया बच्चनले मोदी सरकारले संविधानको धारा ३७० खारेज गरेपछि कश्मीरमा आतंकवाद समाप्त भएको दाबी गरेको स्मरण गराइन्। उनले सरकारको यो भरोसामा विश्वास गरेर तीर्थयात्री र पर्यटकहरू कश्मीर जाँदा यस्तो ठूलो घटना भएको भन्दै आक्रोश व्यक्त गरिन्। “मोदी सरकारको भरोसा मानेर कश्मीर गएका यात्रीहरूले यस्तो त्रासदी भोग्नुपर्यो। उनीहरूले यो सत्तालाई कहिल्यै माफ गर्नेछैनन्,” उनले भनिन्।
प्रतिक्रिया