शुक्रबार, ४ जेठ २०८१

राष्ट्र बैङ्कबाट नै विभेदको सुरूवात भएको छ : महेशप्रसाद काफ्लेको अन्तर्वार्ता

समयपोष्ट २०७५ मंसिर १८ गते ९:५१

सीईओ, कामना सेवा विकास बैङ्क

Advertisement

कामना सेवा विकास बैङ्कको वित्तीय अवस्था कस्तो छ ?
कामना सेवा विकास बैङ्क गत वर्ष सेवा विकास बैङ्क र कामना विकास बैङ्क आपसमा मर्ज भएर राष्ट्रियस्तरको विकास बैङ्क बनेको हो । यी दुई बैङ्क मर्ज भएपछि हामी कामना सेवा विकास बैङ्क भएका छौँ र यसको केन्द्रीय कार्यालय अहिले काठमाडौँमा आफ्नै भवनमा रहेको छ । हाल यस बैङ्कको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ रहेको छ । हामीले ६० शाखा सञ्जाल विस्तार गरिसकेका छौँ र २५ वटा शाखा विस्तार गर्ने हाम्रो तयारी रहेको छ । निक्षेप १६ अर्बमाथि छ भने साढे १४ अर्बभन्दा बढी कर्जा लगानी रहेको छ । हामीले गत वर्ष नै नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार चुक्ता पुँजी २ अर्ब ५० करोड पु¥याइसकेका छौँ । विगतका सेवा र कामनाका सेयरधनीहरुलाई हामीले जुन किसिमको प्रतिफल दिँदै आएका थियौँ, त्यहीअनुसारको प्रतिफल अहिले पनि हामीले दिइरहेका छौँ । यो बैङ्क स्वस्थ अवस्थामा रहेको छ । अहिलेको असार मसान्तको वित्तीय विवरणअनुसार पनि खराब कर्जा ०.६९ मात्र रहेको छ ।

क्षेत्रीय र राष्ट्रिय बैङ्कमा काम गर्दाको तपाईंको अनुभूति कस्तो रह्यो ?

क्षेत्रीयस्तरमा व्यक्तिगत चिनजानहरु बढी हुन्छन् । त्यहाँका स्थानीयहरुसँग बढी घुलमिल हुनुपर्ने बाध्यता हुन्छ । हामीले बिजनेस गर्दा पनि व्यक्तिगत रुपमा चिनजान भएको र स्थानीय भएको आधारमा गर्ने गथ्र्यौं । राष्ट्रियस्तरको हुँदा यसको शाखा सञ्जाल पनि धेरै भए । फेरि केन्द्रीय कार्यालय काठमाडौँमा छ अनि त्यसको शाखा कार्यालय महेन्द्रनगरमा अथवा विर्तामोडमा छ भने क्षेत्रीयस्तरको जस्तै गरेर काम गर्न त सम्भव नै छैन । त्यस कारण हामी एउटा सिष्टमबाट काम गर्छौं । क्षेत्रीयस्तरमा पनि हामी नेपाल राष्ट्र बैङ्कले तोकेका नीति र निर्देशनमा रहेरै काम गर्ने हो । त्यहाँ सबैसँग परिचित भइन्थ्यो भने त्यो काठमाडौँमा सम्भव नहुन सक्छ । हामीले यहीँबाट मनिटरिङ गरेर काम गरिरहेका हुन्छौँ ।

यो बैङ्कका लगानीका मुख्य क्षेत्रहरु के–के छन् ?

Advertisement

लगानीका मुख्य क्षेत्रहरु भनेका नेपाल राष्ट्र बैङ्कले तोकेका क्षेत्रहरु नै हुन् । उद्योग, व्यापार, घरजग्गा, सवारी साधन, सेयर कर्जाहरु नै हुन् । तर हाम्रो प्रथमिकता भनेको उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने नै हो र हाम्रो फोकस यसैमा बढी छ । हामीले रिटेल बैङ्किङमा बढी फोकस गरिरहेका छौँ ।

अहिलेका विकास बैङ्कहरुको पुँजी दुई–तीन वर्षअगाडिका वाणिज्य बैङ्कको हाराहारीमा पुगेको छ । अब विकास बैङ्कलाई कसरी भिन्न राख्ने ?

विकास बैङ्क ऐन आइसकेपछि नेपाल राष्ट्र बैङ्कले विकास बैङ्कहरुलाई जसरी लिएर जानुपथ्र्यो, त्यो हुन सकेको छैन । वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीले गर्ने काम एउटै भयो । छुट्ट्याउँदा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ भनेर छुट्ट्याइयो तर काम भने एउटै दिइयो । विकास बैङ्कलाई एउटा छुट्टै सेक्टर विकास गर्नेखालको स्वीकृति दिनुपथ्र्यो । जस्तो– नेपालमा चिया अथवा कफिको मार्केट होला । कफिको विकास गर्न कफि विकास बैङ्क अथवा चिया विकास गर्न टी डिभलप्मेन्ट बैङ्क किन नदिने ? यसरी राष्ट्र बैङ्कले लैजान सकेको भए त्यो एकदमै राम्रो हुन्थ्यो । तर एउटै ऐनमा हालिदिएर ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ बनाइदिएको छ । एकदम राम्रो ‘क’ वाणिज्य बैङ्क, ‘ख’ अलि राम्रो विकास बैङ्क भन्नेखालको भिन्नता ल्याएपछि जनता पनि भ्रमित भइरहेका छन् । सबैभन्दा राम्रो वाणिज्य बैङ्क रहेछ भन्ने परेको छ । त्यसो हुँदा राम्रा ग्राहकहरु वाणिज्य बैङ्क जाने भए । त्यसपछि अलिकति कमजोर ‘ख’, अलि कमजोर ‘ग’ जाने भए । त्यस कारण राष्ट्र बैङ्कले गरेको यो खालको वर्गीकरण राम्रो होइन । यसलाई परिवर्तन गर्नुपर्छ । साथै, विकास बैङ्कले गर्नुपर्ने काम तोकिदिनुपर्छ । वाणिज्य बैङ्कहरुले गर्नेभन्दा अलग काम दिनुप¥यो । अहिले वाणिज्य बैङ्क र विकास बैङ्कमा कडा प्रतिस्पर्धा भइरहेको छ । गाउँ–गाउँमा बैङ्किङ पहुँच पु¥याएको भने फेरि विकास बैङ्कले नै हो । जनतालाई बचत गर्ने बानीको विकास गर्ने, बैङ्किङ साक्षरता पु¥याउने काम विकास बैङ्कले गरेको छ । त्यो हिसाबले जेठो छोरो वाणिज्य बैङ्क र माइलो छोरो विकास बैङ्क जस्तो गरेको छ । यो विभेद राष्ट्र बैङ्कले सुरूवातबाट नै गरेको छ, जुन वास्तवमा गलत थियो ।

यसलाई हटाउनका लागि युनिभर्सल बैङ्किङको कुरा पनि आएको थियो । त्यो कत्तिको उपयोगी होला ?

त्यो त उपयोगी हुन्छ नै तर मुख्य कुरा भनेको विकास बैङ्क अथवा वाणिज्य बैङ्कले गर्ने कामहरु राष्ट्र बैङ्कले तोकिदिनुपर्छ । अर्को, काठमाडौँमा खुलेको फाइनान्स कम्पनीलाई किन अन्य जिल्लाबाहिर शाखा खोल्न दिने ? जहाँ खोलेको हो, त्यहीँ काम गर । एकातिर सरकारले मर्जरको कुरा गर्छ अनि जुन रुपमा मर्जर हुनुपर्ने हो, त्यो गराउन पनि सकेको छैन । बैङ्क घट्ने क्रममा विकास बैङ्क र फाइनान्स कम्पनीहरु घटे, वाणिज्य बैङ्कहरु घटेका छैनन् । फेरि ४० प्रतिशतभन्दा बढी जनतामा बैङ्किङ पहुँच पुगेको छैन भनेर तथ्याङ्क बोल्छ । अहिले गाउँपालिका भइसकेपछि वाणिज्य बैङ्कहरुलाई अनिवार्य गाउँ–गाउँमा जानुपर्छ भनेर बाध्य पारियो । त्यसअघि त विकास बैङ्कहरु गएका थिए । वाणिज्य बैङ्क गाउँ–गाउँमा पुगिसकेपछि पहिले पुगेका विकास बैङ्कले गाउँपालिकाले छुट्ट्याएका बजेटहरु पाउँदैनन् । त्यही वाणिज्य बैङ्कहरुले नै पाउँछन् । त्यसले गर्दा अलिकति नमिल्दो भएकै हो ।

सरकारले विकास बैङ्कमा पैसा किन नराखेको होला, विश्वास नभएर त होइन ?

यी कुराहरु ऐनमा नै बाझिएका छन् । नेपाल राष्ट्र बैङ्क तथा वित्तीय संस्था ऐनमा सबै बैङ्क तथा वित्तीय संस्थामा राख्न पाउने, जमानत जारी गर्न पाउने भनिएको छ तर अर्थ मन्त्रालयले खाता खोल्दा बैङ्कमै राख्नुपर्ने भन्छ । त्यसमा पनि बैङ्क भन्नाले वाणिज्य बैङ्क सम्झनुपर्छ भनेको हुन्छ । ऐनमा नै विभेद छ । त्यो ऐन नसच्याउँदासम्म विकास बैङ्कहरु यसमै लडिरहेका छन् । सरकारका बजेटहरु हामीले पनि राख्न पाउनुपर्छ । नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएको बैङ्क हो यो । त्यस कारण कमर्सियल बैङ्क र यसलाई फरक दृष्टिकोणबाट हेर्नुहुँदैन भनेर हामीले माग पनि गरिरहेका छौँ तर त्यो भएको छैन ।

सरकारले विपन्न र कृषिमा लगानी गर भन्छ तर कृषिमा किन प्रगति हुन सकेन ?

नेपालमा व्यवसायिक कृषिको सुरूवात नै हुन सकिरहेको छैन । त्यसको लागि सरकारले कम्तीमा भौतिक पूर्वाधारको व्यवस्था गरिदिनुप¥यो । बेस त बनाइदिनुप¥यो । बेस बनाइदिएपछि बल्ल कृषकहरु उत्साहित हुन्छन् । असली कृषकहरु त यहाँ छँदै छैनन् । नाम मात्रको कृषक बन्ने । बजेट लिने अनि त्यो बजेट घरजग्गामा लगानी गर्नेहरु पनि छन् । यस्ताखालका कृषकहरु जन्मिए । वास्तविक कृषकहरु उत्पादन हुन सकेनन् । त्यो भनेको सरकारले उचित वातावरणको प्रबन्ध गर्न नसक्नु नै हो । नेपालमा प्रसस्थ सम्भावनाहरु छन् । भन्दा नेपाल कृषिप्रधान देश हो भन्ने तर जनतालाई व्यवसायिक कृषितर्फ सरकारले अगाडि बढाउन सकेकै छैन । पशुपालनतर्फ सरकारको काउन्सिलिङ नै पुगेन । काउन्सिलिङ भयो भने पशुपालन नै भनेर कर्जाको माग गर्न त आउँछन् नि । अनि हामीले पनि दिन्छौँ । कर्जाको माग नै हुन सकेको छैन । सरकारले पनि त्यो खालको वातावरण नै बनाएन । फेरि उत्पादित वस्तुको बजार पनि छैन । जस्तो– प्रसस्थ मात्रामा दूधको उत्पादन भइरहेको छ तर त्यसको बजार नै छैन । तरकारी उत्पादन हुन्छ तर बजार भारतीय तरकारीले लिएको छ । यस्ता पूर्वाधारहरु सरकारले तयार गर्न सकिरहेको छैन । भरखर एक–दुईवटा प्रोजेक्टहरु ठूला–ठूला रुपमा आउन लागेका छन् । त्यसले पनि बजार पाउने हो कि होइन । त्यस कारण कर्जाको माग भए लगानी गर्न बैङ्कहरु इच्छुक छन् ।

वाणिज्य बैङ्कहरुमा फेरि लगानीयोग्य रकमको अभाव देखिन थालेको छ । विकास बैङ्कको अवस्था कस्तो छ ?

वास्तवमा भन्ने हो भने वाणिज्य बैङ्क भन्दा विकास बैङ्कहरु एकदमै स्वस्थ छन् । वाणिज्य बैङ्कको पुँजी धेरै छ तर उनीहरुको कन्टे«लिङ मेकानिजम छैन कि जस्तो लाग्छ । विकास बैङ्कमा हामी हरेक दिन एनलाइसिस गर्छौं । हाम्रै बैङ्कको कुरा गर्ने हो भने हाम्रो सीसीडी रेसियो अहिले ७३ प्रतिशत छ । जब कि वाणिज्य बैङ्कहरुको ८० नाघिसकेको छ । उनीहरु हावाकावा भइरहेका छन् । वाणिज्य बैङ्कका सीईओहरु हाम्रोमा पैसा राखिदिनुप¥यो भनेर धाएका धायै छन् । त्यस कारण स्वस्थ त वाणिज्य बैङ्क भन्दा विकास बैङ्कहरु नै छन् । सबै त म भन्न सक्दिनँ, के कसरी सञ्चालन भइरहेका छन् तर वाणिज्य बैङ्कहरु भन्दा हामीलाई लिक्विडिटीमा कुनै असर परेन । रिष्ककै हिसाबमा पनि वाण्ज्यि बैङ्कलाई भन्दा हामीलाई कम छ । हामीले लगानी गर्दा धितोको ८० प्रतिशत, ९० प्रतिशत लगानी गर्छौं । वाणिज्य बैङ्कहरुले धितो सय भने ११० प्रतिशत, १२० प्रतिशत लगानी गरिदिन्छन् । भनेपछि रिष्कमा हामी छौँ कि वाणिज्य बैङ्कहरु छन् त ? फेरि हामीले उहाँहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ । अहिले व्याजदरकै कुरा गर्ने हो भने पनि हामीले १२ देखि साढे १२ प्रतशतमा लगानी गर्न सकेका छौँ, वाणिज्य बैङ्कको व्याजदर १३ देखि साढे १३ प्रतिशत छ । त्यस कारण हरेक हिसाबमा विकास बैङ्कहरु स्वस्थ छन् । विकास बैङ्कहरुको उपस्थिति देशका प्रायः सबै ठाउँमा रहेको छ । विकास बैङ्कले नै हरेक ठाउँहरुलाई विकासोन्मुख बनाइदिएको छ । रुपन्देहीमा सालझन्डी भन्ने ठाउँ छ । त्यहाँ कुनै पनि बैङ्कहरु पुगेका थिएनन् । हामी गएर त्यहाँ चेकदेखि एटीएमसम्म प्रयोग गर्न सिकायौँ । त्यति बेला केही घर र केही पसलहरु मात्र भएको त्यो स्थान अहिले निकै विकसित भइसकेको छ । हरेकले घर–घरमा व्यवसाय सञ्चालन गरेका छन् । मानिसहरु बसाइँ सरेर त्यहीँ पुगेका छन् । ठाउँ नै गुल्जार भएको छ । त्यो सब बैङ्क पुगेर नै भएको हो । पहिले हामी गयौँ, त्यसपछि अन्य बैङ्कहरु पुगे । व्यवसाय गर्न इच्छुक व्यक्तिहरुलाई बैङ्कले लगानी गरिदियो । कम्तीमा बीस–तीस प्रतिशत आफूले लगानी गरेर बाँकी बैङ्कले लगानी गर्दा र हरेक महिना अलिअलि पैसा बुझाउँदा मानिसहरुलाई सहज भयो । त्यस कारण हामीले गाउँलाई बजार जस्तो बनाइदिएका छौं ।

बैङ्कका आगामी योजना के छन् ?

हाम्रो पुँजी पुगिसकेको छ । पुँजीअनुसार व्यवसायको आकार बढाउँदै जानुपर्छ । त्यसको लागि हामीले शाखा सञ्जालहरु विस्तार गर्दैछौँ । अहिले ६० शाखा छन् भने यसै वर्ष २५ शाखा थप गर्ने योजना रहेको छ । हामीले एडभान्स खालको बैङ्किङ सिष्टमहरु भित्र्याउँदै छौँ । बैङ्किङसम्बन्धी नयाँ–नयाँ प्रविधिहरु ल्याएर ग्राहकहरुलाई मोबाइलबाटै बैङ्किङ व्यवसाय गराउँदै छौं । कर्मचारीहरुलाई राम्रा तालिमहरु प्रदान गर्ने वातावरण तयार गर्दैछौँ । साथै, नेपालको विकास बैङ्कमध्ये शीर्ष पाँच स्थानमा पर्ने प्रयासमा हामी जुटिरहेका छौँ । समयबोध म्यागेजिन, मंसिर अंकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री