सुदूरपश्चिम अपराजित रहँदै पहिलो क्वालिफायरमा, विराटनगरको प्लेअफ पक्का

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले हराउँदै लिग चरणमा अपराजित रहने क्रममा सिधै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा यो जितसँगै सुदूरपश्चिमले ६ खेलमा ६ जितका साथ १२ अंक जोडेर अंकतालिकाको शीर्ष स्थान कायम राख्यो।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६९ रन बनायो। उसका लागि ओपनर क्रिस लिनले ५६ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ७५ रनको आकर्षक इनिङ्स खेले। कप्तान दीपेन्द्रसिंह ऐरीले १४ बलमा दुई छक्कासहित २४, आरिफ शेखले १६ बलमा दुई चौका र एक छक्कासहित २४ तथा विनोद भण्डारीले १७ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाए। चितवनका सैब जैबले दुई तथा रञ्जित कुमार र जर्ज स्क्रिमसोले एक–एक विकेट लिए।

Advertisement

१७० रनको मध्यम लक्ष्य पछ्याउने क्रममा चितवन १९.५ ओभरमा १२० रनमै अलआउट भयो। चितवनका रवि बोपाराले २३ बलमा एक चौका र दुई छक्कासहित २९ रन बनाए भने देव खनालले २८, अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रन जोडे। अन्य कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन्। सुदूरपश्चिमका पुनित मेहराले दुई तथा दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले एक–एक विकेट लिए।

यो हारसँगै चितवनको प्लेअफ सम्भावना निकै कठिन बनेको छ। ६ खेलमा दुई जित र चार हारसहित चार अंक रहेको चितवनले अन्तिम खेल जिते पनि ६ अंकमा सीमित हुनेछ र प्लेअफ पुग्न अन्य नतिजामा निर्भर रहनुपर्नेछ।

चितवनको हारले विराटनगर किंग्सको प्लेअफ यात्रा भने पक्का भएको छ। छ खेलमा चार जित र दुई हारसहित आठ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ। यसअघि नै सुदूरपश्चिम र काठमाडौँ गोर्खाजले प्लेअफमा स्थान बनाइसकेका छन्। काठमाडौँले सात खेलमा पाँच जितसहित १० अंक जोडेको छ र दोस्रो स्थानमा रहेको छ।

अब प्लेअफको अन्तिम एक स्थानका लागि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्टस् र चितवन राइनोजबीच प्रतिस्पर्धा छ। शुक्रबार लुम्बिनीले जनकपुरलाई हराएमा आठ अंकसहित प्लेअफमा पुग्नेछ र बाँकी तीन टोलीको यात्रा सकिनेछ। जनकपुरले जितेमा भने प्लेअफ दौड थप रोचक बन्नेछ।

Advertisement

शुक्रबार अपराह्न ४ बजे त्रिवि मैदानमै जनकपुर बोल्टस् र लुम्बिनी लायन्सबीच खेल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री