एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको माओवादी नेता पुनको आरोप


नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्नेगरी आर्थिक लेनदेन भएको हुनसक्ने बताउनुभएको छ ।

पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाले आज आयोजना गरेको प्रशिक्षणमा पूर्वमन्त्री पुनले एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाउनुभयो ।

Advertisement

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाउनुभएको उल्लेख गर्दै नेता पुनले तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न जोकसैलाई पनि कारबाही हुने बताउनुभयो ।

“सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप–२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो । उहाँ आउने वित्तिकै सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठक बोलाएर छानबिन गर्नका लागि सहमत गराउनुभयो”, उहाँले थप्नुभयो, “भोलिपल्टै मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ, राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन ।”

सिङ्गो पार्टी र जनता माफियाकरण विरुद्धको अभियानमा साथमा रहेको बताउँदै उपमहासचिव पुनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरुद्धको अभियानमा जनताले सरकारलाई साथ दिएको बताउनुभयो ।

नेता पुनले सरकार केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा रहेको जानकारी दिँदै सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई तीव्र गतिमा बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।–

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री