मंगलबार, ११ वैशाख २०८१

बैतडी र दार्चुलाका लघुजलविद्युत् आयोजना बन्द हुँन थाले

समयपोष्ट २०७४ पुष १२ गते ८:१८

आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छन् ।

Advertisement

लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् ।

लेकम गाउँपालिका–१ चौडमा रहेको ११.५ किलोवाट क्षमता भएको दानुगाड लघुविद्युत् आयोजना पाँच महिनादेखि बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका स्थानीय मानबहादुर कार्कीले जानकारी दिए ।

लघुजलविद्युत् आयोजना बन्द हुँदा मोबाइल चार्ज गर्न समस्याका साथै विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ ।

तीन वर्ष अगाडिदेखि सञ्चालनमा दानुगाड लघुविद्युत् आयोजना बेलाबेलामा बन्द हुने समस्याले गर्दा समस्या भएको छ ।

विद्युत् सेवा सञ्चालनमा रहेका बेला पनि कुनै बेला कम भोल्टेज कुनै बेला बढी भोल्टेजको विद्युत् प्रवाह हुने गरेको लेकम गाउँपालिका–१ सेजालीका कमला कार्कीे जानकारी दिईन् । भोल्टेजमा घटबढ हुँदा मोबाइल सेट, चिम तथा बल्बका साथै विद्युतीय उपकरण बिग्रिने गरेको छ उनले भने , “महिलाले घरायसी काम गर्न राति अबेर तथा बिहान सबेरै उठ्नुपर्ने भएकाले बिजुली बन्द हुँदा समस्या हुने गरेको छ ।”

पाँच महिनादेखि लघुजलविद्युत् आयोजना बन्द हुँदा लेकम गाउँपालिका–१ का सेजाली, चौड, वित्थड, भरणकोटका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

तीन वर्षअघि राजाकोट युवा क्लबको पहल तथा गरिबी निवारण कोषको रु ३९ लाख तथा साविकको शर्मोली गाविसको रु दुई लाख गरी कूल ४१ लाखमा आयोजना सम्पन्न भई सञ्चालनमा आएको थियो ।

गत भदौमा मेसिनमा खराबी आएकाले मर्मत गर्न आर्थिक समस्या रहेको दानुगाड लघुजलविद्युत् आयोजनाका अध्यक्ष जनार्दन भट्टले जानकारी दिए । उनले भने , “गाउँपालिका आर्थिक सहयोगका लागि अनुरोध गरेका छौँ, सहयोग पाएमा छिट्टै मर्मतको तयारीमा छौँ ।”
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री