आइतबार, ४ साउन २०८२

दोहा उडान रद्दपछि यात्रु अलमलमा, आज मध्याह्न १२ बजे उडान तय

समयपोष्ट २०८२ असार १० गते १०:२२

इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्याह्न १२ बजेका लागि तय गरिएको छ।

नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा प्रस्थान गर्ने तालिका थियो। तर, कतारमा तनाव बढेसँगै उक्त उडान रद्द गरिएको थियो। हाल दोहामा हवाई मार्ग खुला गरिएको र स्थिति सामान्य बन्दै गएकाले आज मध्याह्न १२ बजे उडान सञ्चालन हुने नेपाल एयरलाइन्सले जनाएको छ।

सोमबार राति विमानमा यात्रुहरूलाई बोर्डिङ गराउने तयारी भइरहेका बेला आक्रमणको खबर प्राप्त भएको थियो। उक्त घटनाले विशेषगरी वैदेशिक रोजगारीका लागि दोहा जान लागेका अधिकांश यात्रुहरू अलमलमा परेका थिए। धेरैजसो यात्रुहरू रातभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै बास बसेका थिए। राति १ बजे प्रहरीले उनीहरूलाई विमानस्थलको प्रतीक्षालयबाट हटाएको थियो।

उडान रद्द भएपछि यात्रुहरू अहिले पनि विमानस्थलमा अलमलमा छन्। नेपाल एयरलाइन्सले प्रभावित यात्रुहरूलाई उडानको नयाँ तालिका र व्यवस्थापनबारे जानकारी गराइरहेको जनाएको छ।

“हामी यात्रुहरूको असुविधा न्यूनीकरण गर्न प्रयासरत छौँ। दोहाको स्थिति सामान्य भएसँगै हामीले उडान पुनः सञ्चालनको तयारी गरेका छौँ,” नेपाल एयरलाइन्सका एक अधिकारीले बताए।

वैदेशिक रोजगारीमा जाने यात्रुहरूले विमानस्थलमा लामो समय कुरिरहनुपर्दा असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले यस्ता अवस्थामा एयरलाइन्स र सरकारी निकायबाट थप सहयोग र स्पष्ट सूचनाको अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री