असार १५ गतेदेखि पनिकाका यी १० सेवा अब अनलाइनबाटै
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवालाई पूर्णरूपमा डिजिटल माध्यमबाट प्रदान गर्ने भएको छ। विद्यार्थीहरूलाई सहज सेवा प्रदान गर्न ईआइएमएस प्रणाली अन्तिम चरणमा पुगेको र त्रिविको वेबसाइटमार्फत लगइन गरी यी सेवाहरू सजिलै प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अब त्रिवि रजिष्ट्रेशन, परीक्षा आवेदन, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योग आवेदन, शैक्षिक कागजात सच्याउने, सिफारिस पत्र, प्रमाणीकरण र प्रमाणपत्रका प्रतिलिपिका लागि आवेदन अनलाइनमार्फत भर्न सकिनेछ।
यो प्रणालीले देशभरका पाँच लाखभन्दा बढी विद्यार्थीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। जोशीले भने, “प्रविधिको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाइएको छ।” हाल त्रिविमा देशभरका करिब ८० प्रतिशत विद्यार्थी अध्ययनरत छन्। यी विद्यार्थीका लागि आवश्यक लब्धाङ्कपत्र, ट्रान्सक्रिप्ट, प्रमाणपत्रलगायतका कागजातलाई सुरक्षित राख्ने, अभिलेख व्यवस्थापन गर्ने र परीक्षा प्रणालीमा गोपनीयता कायम राख्ने कार्यालयको प्रतिबद्धता रहेको छ।
त्रिविले २०७५ सालदेखि दीक्षान्त फाराम र ट्रान्सक्रिप्ट अनलाइन उपलब्ध गराउँदै आएको थियो। २०७९ माघ १५ देखि अनलाइन आवेदन प्रणाली सुरु भए पनि प्राविधिक कारणले केही समय बन्द भएको यो सेवा असार १५ गतेदेखि पुनः सुचारु हुने भएको छ।
प्रतिक्रिया