बुधबार, १२ वैशाख २०८१

निक्षेप परिचालनमा पन्ध्र प्रतिशतको वृद्धि

समयपोष्ट २०७४ पुष ९ गते १४:०८

चालु आवको चार महिनाको कर्जा प्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.९ प्रतिशतले बढेको थियो ।

Advertisement

कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.९ प्रतिशतले बढेको र सोही अवधिमा कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३६.२ प्रतिशत र ४२.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ४४.० प्रतिशत र ३१.२ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । तरकारी, मदिराजन्य पेय पदार्थ लगायतमा भएको मूल्य वृद्धिले समग्र वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीतिमा केही वृद्धि भई ३.९ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८ प्रतिशत रहेको थियो ।

यस अवधिमा खाद्य मुद्रास्फीति २.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति २.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा १.४ प्रतिशतले कमी आई रु दुई खर्ब २८ अर्ब ९५ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।

यस अवधिमा बैंकले रु एक खर्ब २७ अर्ब २० करोड तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु ९२ अर्ब २५ करोड तरलता प्रशोचन भएको थियो भने रिपो बोलकबोलमार्फत रु १० अर्ब १ करोड तरलता प्रवाह भएको थियो ।

समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ५० करोड बराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले रु १० अर्ब ५ करोड बराबरको त्यस्तो सुबिधा उपयोग गरेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री