बिहीबार, १३ वैशाख २०८१

अबको निकास : ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष

समयपोष्ट २०७४ पुष ७ गते ५:०८

समयपोष्ट
काठमाडौं । स्पष्ट बहुमत ल्याएको बाम गठबन्धनका दुइ शिर्ष नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच जिम्मेवारी बाँडफाँडका सम्बन्धमा आजबाट घनीभूत छलफल प्रारम्भ हुने भएको छ । आज बस्ने एमाले स्थायी समितिको बैठकमा माओवादीसँगको पार्टी एकता र पदीय बाँडफाडका सम्बन्धमा छलफल हुने बताइएको छ ।

Advertisement

ओली र प्रचण्डवीच कार्यकारी पदहरुमा आलोपालो प्रणाली लागू गर्ने सहमती बाम गठबन्धन निर्माणका क्रममै भइसकेको छ । जस अनुसार हाललाई ओली प्रधानमन्त्री बन्नेछन् भने प्रचण्ड एकिकृत कम्युनिष्ट पार्टीको अध्यक्ष बन्नेछन् । यदि यो सहमती कायम भएन भने चाँही बाम गठबन्धनमा नयाँ खिचलो आउनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।

दुबै दलका आम नेता कार्यकर्ता भने पदका कारण बाम गठबन्धनमा खिचलो उत्पन्न नहोस् भन्ने चाहिरहेका छन् । यसप्रति ओली र प्रचण्ड दुबै सजग पनि छन् । किनकी, बाम गठबन्धनलाई जनताले मिलेर जानकै लागि म्यान्डेट दिएका हुन् । तर एमालेभित्र षडयन्त्रका गन्धहरु भने हल्का रुपमा आउन थालेका छन् । बाम एकता भाँडन चाहने तत्वहरुले पनि खेलेका हुनसक्छन् ।

खासगरी एमाले महासचिव इश्वर पोखरेलले प्रधानमन्त्री, पार्टी अध्यक्ष र सँसदीय दलको नेता एकै व्यक्ति हुनुपर्ने लाइन अघि सारेका छन् । उनको यो एकल नेतृत्वको बखेडाले नयाँ समस्या खडा गरेका छ । यसले माओवादी वृत्तमा नयाँ आशँका पैदा गराएको छ ।

बाम गठबन्धनमा फुट ल्याउन देसी विदेशी चलखेल भइरहेको बेला पुर्व सहमतीविपरीतका प्रस्तावहरु कहाँबाट कसले कुन स्वार्थले अघि सारीरहेको हो भन्ने शँका पनि उत्पन्न भएको छ । हुन त एमालेका पुर्व महासचिव एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामुहिक नेतृत्वमा जाने सहमती भइसकेपछि अहिले आएर एकल नेतृत्वको कुरा गर्न नहुने विचार राखीसकेका छन् । एमालेका ठूलो पँक्ती बाम गठबन्धनमा कुनै दरार नआओस् भन्ने चाहन्छ र त्यसका लागि माओवादीसँग सम्मानजक एकताकै पक्षमा छ । माधव र बामदेव गौतमको पक्ष पनि सामुहिक नेतृत्वकै पक्षमा देखिन्छ ।

बामगठबन्धन टिकाउने मुल अभिभारा एमालेकै काँधमा छ । माओवादी अध्यक्ष प्रचण्डलाई काँग्रेसलगायत एमालेबाहेकका दलहरुले प्रधानमन्त्री बन्न आग्रह गरीरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले त ‘प्रचण्डजी, पाँचै वर्ष चलाउनुस्’सम्म भनेका छन् । तर, प्रचण्ड भने बाम एकताको पक्षमा दरिलो गरी उभिएका छन् । बाम गठबन्धन भत्काउन खोज्ने त्यस्ता छुद्र कोशीसहरुतर्फ प्रचण्डको ध्यान गएको छैन । तर, एमालेभित्र भने पुर्व सहमतीविपरीतका चलखेल सुरु भएपछि शँका उब्जीएको हो । यस्तोमा आज बस्ने एमाले स्थायी समितिको बैठकले कसरी हुन्छ माओवादीलाई विश्वासमा लिएर सम्मानजनक पदीय बाँडफाडका साथ एकताको पहल थाल्नुपर्ने अवस्था छ ।

आजै एमाले र माओवादीवीच सँयुक्त रुपमा गठीत एकता सँयोजन समितिको बैठक पनि बोलाइएकाले पार्टी एकताले प्रकृयाले अब गति लिने विश्वास गरीएको छ । एमाले र माओवादीवीच एकताको सम्भावनाबारे उठेका आशँकालाइ एमाले अध्यक्ष ओलीले निवारण गरीसकेका छन् । उनले एमाले र माओवादीवीच एकता भएरै छाडने धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘अब एमाले पनि रहँदै, माओवादी पनि रहँदैन । नयाँ पार्टी बन्छ ।’

पार्टी र सरकारको जिम्मेवारी बाँडफाँड हुँदा नयाँ एकिकृत कम्युनिष्ट पार्टीको अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली भएमा मुलुकको स्थीरताका लागि त्यो कोशेढुँगा साबित हुनेछ । यसले एमाले र माओवादीको गठबन्धन सरकार पनि टिकाउ हुनेछ । किनकी, यी दुइ दलसँग सरकार चलाउन भारी बहुमत छ । प्रचण्ड पार्टी अध्यक्ष भएपछि सरकार पनि बलियो हुन्छ । उता, बलियो सरकारको प्रधानमन्त्री भएपछि ओलीले मुलुकको समृद्धमा युगान्तकारी भूमिका निर्वाह गर्नसक्छन् । बलीयो सँगठन, बलीयो सरकार, बलियो सँकल्प, बलीयो साहसले नै समृद्ध नेपालको यात्रा सम्भव छ ।

२०५२ सालबाट जनयुद्ध प्रारम्भ गरी, जनयुद्धकै एजेण्डा बमोजिम सँविधानसभा निर्वाचनमार्फत बनेको सँविधान कार्यान्वयन गर्दै, मुलुकमा सँघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गराइ एउटा बलीयो कम्युनिष्ट पार्टीको अध्यक्ष बन्दा नेपालको कम्युनिष्ट आन्दोलनमा प्रचण्डको एउटा ‘महान कोर्स’ पुरा हुन्छ भने राष्ट्रिय स्वाभिमानका साथ भारत र चीनलाई सन्तुलनमा ल्याइ स्थीर सरकारको नेतृत्व गर्दै समृद्ध नेपाल निर्माण अभियानको नेतृत्व गर्दा ओलीको स्थान पनि चिनका देङ स्याओ पीङ र सिँगापुरका लि क्वान हुको उचाइमा पुग्नेछ ।

यी दुइ नेता आपसमा मिलेर गएमा आगामी पचास वर्षसम्म मुलुकमा कम्युनिष्ट शासनलाई कसैले हल्लाउन सक्दैन । यसैले कार्यकारी पदहरुमा पालैपालो जिम्मेवारी सम्हाल्दै पार्टी र सरकारवीच सुमधुर सम्बन्ध कायम गर्र्दै ओली र प्रचण्डले आपसी विश्वास, समझदारी र अझ एक कदम अघी बढेर आपसी प्रेमका साथ अघि बढनुको विकल्प छैन ।

आज बस्ने एमाले स्थायी समिति बैठक र पार्टी एकता सँयोजन समितिले यस्तो निर्णय गरोस्, जुन नेपालको सुन्दर भविश्यका लागि त्यो ऐतिहासिक बनोस् र त्यसले दुबै दलका कार्यकर्तामा नयाँ उत्साह र हर्षको सँचार गरोस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री