प्राधिकरणले काट्यो बक्यौता नतिर्ने २५ उद्योगको विद्युत् लाइन, २०० मेगावाट बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने २५ उद्योगको विद्युत् लाइन काटेको छ।
लामो समयदेखि विवादमा रहेको बक्यौता भुक्तानी नगरेका उद्योगहरूको लाइन कात्तिक ४ गतेदेखि काट्न सुरु गरेको प्राधिकरणले सोमबारसम्म २५ उद्योगको बिजुली काटिसकेको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार गत मंगलबार ६ ठूला उद्योगको लाइन काटिएको थियो भने शुक्रबार राति १८ र आइतबार थप १ उद्योगको बिजुली काटिएको हो।
यी उद्योगको लाइन काट्दा करिब २०० मेगावाट विद्युत् बचत भएको छ। बचत भएको यो बिजुली हाल भारतमा निर्यात भइरहेको प्रवक्ता ढकालले बताए। उनले प्राधिकरणले यो बिजुली खेर जान नदिएको र भारत निर्यात गरेर आम्दानी गरिरहेको दाबी गरे। यसबाट प्राधिकरणलाई आर्थिक घाटा नहुने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ।
प्राधिकरणले बक्यौता भुक्तानीका लागि २८ किस्तामा रकम तिर्न २१ कार्य दिनको समयसीमा तोकेर कात्तिक १७ भित्र बक्यौता तिर्न सूचना जारी गरेको थियो। पछि सूचनालाई संशोधन गरी २१ दिनभित्रै बक्यौता तिर्न भनेको थियो। तर, उद्योगहरूले समयसीमाभित्र सम्पर्क नगरेको र बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काट्ने कदम चालेको हो।
प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, त्रिवेणी स्पिनिङ मिल्स, एभेरस्ट पेपर मिल्स, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, एसआर स्टिल, भलबारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङ, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लास्ट, बुटवल सिमेन्ट, सोनापुर मिनरल्स एन्ड आयल, पञ्चकन्या प्लास्टिक, घराना फुड्स र निगाले सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ।
यसबाहेक, ९ वटा उद्योगले पहिलो किस्ताको रकम बुझाएकाले तिनको लाइन नकाटिएको प्राधिकरणले जनाएको छ। सरकारी स्वामित्वका हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टले यसअघि नै भुक्तानी प्रतिबद्धता जनाएकाले तिनको विद्युत् कटौती गरिएको छैन।
यो बक्यौता विवाद २०७२ माघदेखि २०७५ वैशाखसम्मको हो। लोडसेडिङको समयमा यी उद्योगले डेडिकेटेड र ट्रंक लाइनमार्फत विशेष सुविधा लिएर बिजुली प्रयोग गरे पनि तोकिएको अतिरिक्त शुल्क नबुझाएको प्राधिकरणको आरोप छ। तर, उद्योगीहरूले बक्यौता नभएको दाबी गर्दै प्रमाण पेस गर्न सरकारसँग माग गरेका छन्। विद्युत् कटौतीपछि प्रायः सबै उद्योग बन्द भएको अवस्था छ।
हाल प्राधिकरणले दैनिक १,१४० मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ, जसमा उद्योगबाट कटौती भएको २०० मेगावाट पनि समावेश छ। भारतले नेपाललाई १,१६५ मेगावाट निर्यातको अनुमति दिएको छ। प्रवक्ता ढकालका अनुसार नदीमा पानीको बहाव घट्दै गएको, केही विद्युतगृह मर्मतमा रहेको र निजी क्षेत्रका केही आयोजना बाढीबाट प्रभावित भएकाले विद्युत् उत्पादनमा सामान्य कमी आएको छ।
नेपालमा हाल करिब ४,००० मेगावाट बिजुली उत्पादन भइरहेको छ भने थप ४,००० मेगावाट उत्पादन गर्ने आयोजना निर्माणाधीन छन्। सरकारले सन् २०३५ सम्ममा २८,५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ, जसमा १३,५०० मेगावाट आन्तरिक खपत र १५,००० मेगावाट भारत र बंगलादेशमा निर्यात गर्ने योजना छ।
चालु आर्थिक वर्ष (२०८२/८३) को साउनदेखि हालसम्म नेपालले करिब १५ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४७ करोड रुपैयाँको बिजुली निर्यात भएको थियो, जसबाट साढे ४ अर्ब रुपैयाँ नाफा भएको थियो। भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र हरियाणा तथा बिहारमा मध्यकालीन सम्झौतामार्फत बिजुली बिक्री भइरहेको छ। साथै, भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा दैनिक ४० मेगावाट बिजुली निर्यात भइरहेको छ।
विद्युत् बिक्रीबाट भारतीय रुपैयाँ र बंगलादेशसँग अमेरिकी डलरमा आम्दानी भइरहेको छ। प्राधिकरणले बक्यौता असुली र विद्युत् निर्यातमार्फत आर्थिक लाभ लिइरहेको दाबी गरेको छ।



























प्रतिक्रिया