बिहीबार, १५ चैत २०८०

मञ्चमा सीता भक्कानिँदा प्रचण्ड आफै असहाय: गरेनन् सम्बोधन

समयपोष्ट २०७४ मंसिर ६ गते ३:१५

मंगलबार चितवनमा वाम गठबन्धनको संयुक्त सभा थियो । आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । तर, परिवार शोकमै थियो । वाम गठबन्धनको कार्यक्रममा भाग लिन प्रचण्ड झापा पुग्दा काठमाडौंस्थित निवासमा आमा सीता र छोरा प्रकाश थिए । तर, छोराको निधनपछि सीतालाई छाडेर प्रचण्ड कार्यक्रममा जान सकेनन् । प्रचण्ड र सीतासँगै छोरी–बुहारी पनि गृहजिल्ला चितवन पुगेका थिए ।

Advertisement

११ बजे सुरु हुने भनिएको सभा तीन घन्टा अबेर सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली र प्रचण्ड पौने २ बजे सभास्थल पुगेका थिए । उपस्थित समर्थकलाई अभिवादन गर्दै ओली र प्रचण्ड सभामा प्रवेश गरेको ५ मिनेटपछि प्रचण्डपत्नी तथा प्रकाश दाहालकी आमा सीता मञ्चमा पुगिन् ।

प्रचण्डसँगै बसेकी सीता भावुक थिइन् । उद्घोषक र वक्ताहरूले पनि पटकपटक प्रकाशको नाम लिएर सम्मान व्यक्त गरिरहेका थिए । प्रकाशको नाम पटकपटक दोहोरिएपछि सम्हालिन नसकेर सीता मञ्चमै डाको छोडेर रोइन् । 

प्रचण्डले सीतालाई सम्हाल्न निकै प्रयत्न गरे, तर उनी आफै पनि असहाय देखिन्थे । प्रचण्डको जोड नलागेपछि पछिल्लो लाइनमा बसिरहेकी छोरी रेणु (जो भरतपुर महानगरकी मेयर पनि हुन्) अघि बढिन् । आमालाई सम्झाउन उनलाई पनि गाह्रो परिरहेको थियो ।

मञ्चको तल्लो भागमा प्रकाशको ठूलो तस्बिर राखिएको थियो । तस्बिरमा सबै अतिथि र परिवारका सदस्यले श्रद्धाञ्जली अर्पण गरेका थिए । तर, परिवारका सदस्यले तस्बिर भने हेर्न सकेनन् ।

पुत्र वियोगमा रहेकी सीता र पति वियोगमा रहेकी विना पूरै समय कार्यक्रमस्थलमा बस्न सकेनन् । बीचमै उनीहरू मञ्चबाट बाहिरिए । प्रचण्डले पनि कार्यक्रमलाई सम्बोधन गरेनन् । उनले रौतहटको चन्द्रपुरमा भएको बम विस्फोटमा परी घाइते भएकालाई भरतपुर अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए । आजको नयाँ पत्रिकाबाट, तस्विर: नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित सामाग्री