लिबर्टी माइक्रो लाइफले आईपीओ प्रत्याभूति सेवाका लागि एसबिआई मर्चेन्ट र आरबिबि म्युचुअल फन्ड १ लाई नियुक्त गर्यो
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण शेयरको प्रत्याभूति सेवाका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड र आरबिबि म्युचुअल फन्ड १ लाई संयुक्त रूपमा नियुक्त गरेको छ। यस शेयरको अङ्कित मूल्य प्रति शेयर रु. १०० का दरले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरिएको छ।
आज आयोजित एक विशेष कार्यक्रमका बीच लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, र आरबिबि म्युचुअल फन्ड १ का प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी विभिन्न वित्तीय सेवाहरू, जस्तै लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालन, संस्थागत परामर्श तथा शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको मुख्य कार्यालय पोखराको न्यूरोडमा रहेको छ। कम्पनीले २०८० साल भदौ १ गते नेपाल बीमा प्राधिकरणबाट बीमा ऐन २०७९ र बीमा नियमावली २०४९ बमोजिम इजाजत प्राप्त गरी २०८० साल असोज १९ गतेदेखि लघु जीवन बीमा सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले काठमाडौँको त्रिपुरेश्वरस्थित ब्लुबर्ड मलमा रहेको प्रादेशिक कार्यालय सहित देशभरका ४ शाखा र ६ उप-शाखाबाट बीमा सेवा प्रदान गर्दै आइरहेको छ।
कम्पनी ऐन २०६३ बमोजिम लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड २०७९ साल पौष १७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत् दर्ता भएको हो।
प्रतिक्रिया