कार्यकर्तालाई भ्रमित पार्ने प्रयास भयो,पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै पार्टीलाई एकताबद्ध बनाउन जोड दिनुपर्ने बताएकी छन्। आफ्नो निवास भंगालमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीलाई अनुशासित र नैतिक बनाउन आफ्नो भूमिका रहने स्पष्ट पारिन्।
भण्डारीले पार्टीभित्र गुटबन्दी र कार्यकर्तामाथि अनावश्यक दबाब सिर्जना गर्ने प्रवृत्तिको विरोध गरिन्। उनले भनिन्, “पार्टीभित्र कार्यकर्तालाई आतंकित पार्ने, बोल्न नदिने र कारबाहीको धम्की दिने काम तत्काल रोकिनुपर्छ। हामीले पार्टीलाई एकताबद्ध बनाउनुपर्छ, विभाजन होइन।” उनले महाधिवेशनअघि नेतृत्वको विषयमा अनावश्यक बहस चलाएर कार्यकर्तालाई भ्रमित पार्ने प्रयास भइरहेको आरोपसमेत लगाइन्।
पूर्वराष्ट्रपतिले आफ्नो लामो राजनीतिक यात्रा र अनुभवलाई जोड दिँदै पार्टी र देशका लागि योगदान गर्न तयार रहेको बताइन्। “मैले कठिन समयमा महिला आन्दोलन र पार्टीको नेतृत्व गरेकी छु। देशको सर्वोच्च पदमा बसेर जिम्मेवारी सम्हालेकी छु। ममाथि अनावश्यक विवाद खडा गर्नुको कुनै अर्थ छैन,” उनले थपिन्।
भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको र अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा छलफल भएको खुलासा गरिन्। उनले नयाँ वर्षको आफ्नो वक्तव्यले पार्टी नेतृत्वमा केही असन्तुष्टि पैदा भएको भए पनि पार्टीलाई सही दिशामा लैजान आफू प्रतिबद्ध रहेको बताइन्।
प्रतिक्रिया