गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी बीच प्रत्याभूतिकर्र्ता नियुक्ति सम्झौता सम्पन्न
गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइपीओ प्रत्याभूति व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ। मिति २०८१ साल असोज २० गते आइतबारका दिन गरिमा क्यापिटलको प्रधान कार्यालय, कमलपोखरीमा यो सम्झौतामा हस्ताक्षर गरिएको हो।
गरिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्सका सीईओ विश्व राम तिमिलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौताअन्तर्गत, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो आगामी प्राथमिक शेयर निष्कासन (आइपीओ) को प्रत्याभूति गराउन गरिमा क्यापिटललाई नियुक्त गरेको छ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्दैछ, जसको कुल मूल्य २२ करोड ५० लाख रुपैयाँ रहनेछ। यस आइपीओको प्रत्याभूतिका लागि गरिमा क्यापिटलले आवश्यक व्यवस्थापन सेवा प्रदान गर्नेछ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २०७९ साल पुष १४ गते दर्ता भई २०८० साल भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको कारोबार सुरु गरेको छ। कम्पनीले लघु निर्जीवन बीमा क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ।
गरिमा क्यापिटल लिमिटेड, गरिमा विकास बैंकको सहायक कम्पनी हो, जसले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति पाएको छ। यसले लगानी व्यवस्थापन सेवा, निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर) सेवा, र धितोपत्र अण्डरराइटिङ सेवाहरू प्रदान गर्दै आएको छ। निकट भविष्यमा गरिमा क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न योजनाहरू दर्ता गरी सञ्चालन गर्ने योजना समेत बनाएको छ।
गरिमा क्यापिटलले व्यवसायिक साझेदारी र नवीनतम प्रविधिहरुको प्रयोग गर्दै आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहक मैत्री बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया