जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका मुगुका युवकको मृत्यु

हुम्लाको चङ्खेली गाउँपालिकाको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ ।

Advertisement

चङ्खेली–३ को मिमीमा रहेको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न गएका मुगु कार्मारोङ गाउँपालिका–४ स्थित कार्तिक गाउँका ३३ वर्षीय छिरिङ लामा कटुकी सङ्कलन गरी घर फर्किने क्रममा हिउँ पहिरामा परी मृत्यु भएको हो । मृतका दाजु ३७ वर्षीय कार्मा सुण्डा लामाको दाहिने हात भाँचिएर घाइते भएको जानकारी प्राप्त भएको छ ।

दाजु कार्मा सुण्डासहित सातजना दुई दिन लगाएर चङ्खेली–३ मिमी गाउँ हुँदै मुगु फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुले जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जडीबुटी सङ्कलन गर्न गएका छोइटिन लामा, आङजिङ लामा, तोचे लामा, छोइटाङ लामा, सङ्गीता लामा र कार्मा सुण्डा लामा भने घर फर्किएका छन् ।

जडीबुटी सङ्कलनमा हिउँ पहिरामा परी मृत्यु भएको छिरिङको शव जङ्गलमै रहेको उनका दाजु कार्माले घर पुगेर रिपोर्ट गरेपछि जानकारी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताउनुभयो ।

चङ्खेली–३ को मिमी गाउँदेखि दुई दिन टाढा रहेकाले कुन ठाउँमा हो यकिन गरी मात्रै खोजी हुने प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ । मेलछाम प्रहरी चौकीबाट दुई दिन टाढाको जङ्गल भएकाले खोजी गर्न प्रहरीलाई कठिन भएको उहाँले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री