शुक्रबार, १४ वैशाख २०८१

जनताको गुनासो गृहपछि सबैभन्दा धेरै शिक्षा मन्त्रालयमा

समयपोष्ट २०७५ भदौ २२ गते १४:३०

पाँच मन्त्रालय मातहतका निकायप्रति जनताको गुनासो चुलिएको छ । गृह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतका निकायले प्रवाह गर्ने सेवा तथा त्यसको पारदर्शितामाथि प्रश्न उठाउँदै हेलो सरकार गुहार्ने क्रम बढ्दो छ ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहने गरी गुनासो सुनुवाइ तथा समाधान गर्न विसं २०६८ मा हेलो सरकार स्थापना भएपछि हालसम्म ७७ हजार ४८४ गुनासो परेको छ । हेलो सरकारका अनुसार पाँच मन्त्रालय मातहतका निकायमा सेवाग्राहीको सबैभन्दा धेरै गुनासो छ ।

सेवाग्राहीको सबैभन्दा बढी गुनासो र असन्तुष्टि गृह मन्त्रालय र यस मातहतका निकायसँग छ । पछिल्लो पाँच वर्षमा सो मन्त्रालयसँग गुनासो गर्दै ११ हजार ६७२ ले दुखेसो पोखेका छन् । गृहपछि सबैभन्दा धेरै गुनासो आउने मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधि छ । हेलो सरकारको तथ्याङ्कअनुसार छ हजार ३२५ जनाले सो मन्त्रालय मातहतका निकायले गरेको कार्यसम्पादनप्रति गुनासो गर्दै कारवाहीका लागि हेलो सरकार गुहारेका छन् ।

गुनासो बढी हुने मन्त्रालयको तेस्रो नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छ । सो मन्त्रालय मातहतका निकायका कामकारवाहीमा असन्तुष्टि जनाउँदै पछिल्लो छ वर्षमा पाँच हजार ९४८ उजुरी हेलो सरकारमा परेको बेवसाइटमा जनाइएको छ ।

सङ्घीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि जनताले कामकारवाही प्रभावकारी ढङ्गले नगरेको गुनासो आएकोछ । हेलो सरकारको तथ्याङ्कअनुसार सो मन्त्रालयसँग सम्बन्धित उजुरीको सङ्ख्या पाँच हजार ४४५ छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाँच अत्यधिक गुनासो भएका मन्त्रालयको अन्तिम अर्थात् पाँचौँ नम्बरमा छ । सो मन्त्रालय र मातहतका निकायबाट दुःख पाएपछि तीन हजार २१ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको हेलो सरकारसमक्ष बिन्ती बिसाएका छन् ।

भएन गुनासो फछ्र्योट

हेलो सरकार स्थापना भएको पछिल्लो छ वर्षमा ७७ हजार ४८४ उजुरी सर्वसाधारण नागरिकले गरेका छन् । यसबीचमा सरकारी निकायबाट पाएका सास्ती र भुक्तमान बिसाउँदै गुनासो गर्ने क्रम उल्लेख्य मात्रामा बढेको हेलो सरकारका अधिकारी बताउँछन् । त्यसमाथि तत्काल गुनासो सम्बोधन गर्ने क्रम भने सन्तोषजनक छैन । गुनासो सुन्ने तर कारवाही नगर्ने प्रवृत्तिले न्याय पाइने आशासहित हेलो सरकारको ढोका ढक्ढकाउन पुगेकाहरु निराश हुने क्रम बढेको छ ।

हेलो सरकारका अनुसार ७७ हजार ४८४ गुनासो परेकामा हालसम्म ६१ हजार ४८५ बारे कारवाही भएको छ । यो कूल गुनासोको ७९.३५ प्रतिशत हो । पन्ध्र हजार ९९९ अर्थात् २०.६५ प्रतिशत गुनासो भने फछ्र्योट हुन बाँकी रहेको हेलो सरकारको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री