शनिबार, १५ कार्तिक २०८२

संस्थाबारे समाचारमा गरिएका सबै दाबीहरू तथ्यबिहीन : नाडा

समयपोष्ट २०८२ भदौ १८ गते २०:३०


नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भ्रामक समाचार र गलत व्याख्याको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सबैमा आग्रह गरेको छ। बुधबार जारी प्रेस विज्ञप्तिमा नाडाले आफ्नो बारेमा प्रकाशित समाचारहरूले भ्रम फैलाउने प्रयास गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ।

Advertisement

नाडाले समाचारमा गरिएका सबै दाबीहरूलाई तथ्यहीन र निराधार भएको उल्लेख गरेको छ। “नाडाले सधैं आफ्नो गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार सञ्चालन गर्दै आएको छ,” विज्ञप्तिमा भनिएको छ, “हामी यस अवसरमा यो कुरा स्पष्ट पार्न चाहन्छौं।”

नाडाको केन्द्रीय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गतेका बैठकहरूमा संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउन महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिन विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ। यो प्रक्रियामा सबै सदस्यहरूको मताधिकार सुरक्षित रहेको नाडाले जनाएको छ।

विशेष साधारण सभा बोलाउने निर्णयलाई अवैधानिक वा संस्थाको इमानदारीमाथि प्रहार भन्ने दाबीहरूलाई नाडाले पूर्ण रूपमा असत्य भनेको छ।

नाडाले उल्लेख गरेअनुसार, यस विषयमा प्राप्त उजुरीका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक रूपमा विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो। तर, दुवै पक्षसँग छलफल गरी नाडाबाट आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरेपछि जिल्ला प्रशासन कार्यालयले २०८२/०४/१५ मा च.नं. १३० को पत्रमार्फत उक्त स्थगन आदेश फुकुवा गरेको छ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, “उक्त पत्रमा स्पष्ट रूपमा उल्लेख छ कि प्रचलित कानुन, संस्थाको विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नाडाले वार्षिक साधारण सभा, विशेष साधारण सभा वा अन्य आवश्यक निर्णय गर्न सक्ने अधिकार राख्दछ। यससँगै नाडाको विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रूपमा सम्पन्न हुने मार्ग प्रशस्त भएको छ।”

नाडाले पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने जस्ता आरोपहरूलाई पूर्ण रूपमा गलत भएको जनाएको छ। संस्थाले कहिल्यै व्यक्तिगत स्वार्थ वा मनपरीका आधारमा निर्णय नगरेको र नेतृत्व चयन तथा पद हस्तान्तरण सदस्यहरूको प्रत्यक्ष सहभागिता र मताधिकारमार्फत निर्वाचनसहितको साधारण सभाबाट हुनेमा अडिग रहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री