शुक्रबार, १४ वैशाख २०८१

बजार अनुगमन तीव्र बनाउँदै जुम्ला प्रशासन

समयपोष्ट २०७९ असोज ११ गते १६:३७

Advertisement

चाडवाड नजिकिँदै गर्दा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्र बनाएको छ । चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाम खलङ्गा बजारमा रहेका पसलको अनुगमन गरेको छ ।

चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले अनुगमनलाई प्राथामिकतामा राखेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी प्रमिला रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ उपभोक्तालाई कालोबाजरीबाट मुक्त गर्न ठूला खाद्यन्न पसलको समेत अनुगमन गरिएको छ । चार हजार बराबरको म्याद सकिएको पेय पदार्थ बरामद गरी नष्ट गरिएको छ”, सूचना अधिकारी रिजालले भन्नुभयो ।

यो पटक समयमै अनुगमन गर्दा म्याद सकिएका खाद्यन्न वस्तु कम मात्रामा भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् । मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक भएकोले उपभोक्ता मर्कामा परेको स्थानीयवासी उपराज रावतले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख ईश्वर सुवेदीले सदरमुकाम खलङ्गाका व्यापारीले मिति सकिएको अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको भेटिएको बताउनुभयो । अनुगमनका क्रममा बिस्कुट कोकोकला, स्प्राइट, रेडबुल जस्ता म्याद सकिएको सामान भेटिएको छ । खाद्य अनुसन्धान अधिकृत डा सुवेदीका अनुसार पसलमा ढक तराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्रीवितरण गरेको भेटिएको पाइने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोलीले बजारको अनुगमनमा निस्किएको थियो । जिल्लाका स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन भए पनि पालिकामा रहेका स्थानीय बजार अहिलेसम्म अनुगमन हुन सकेका छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री