जेनजी आन्दोलनपछि शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक, नेपाली कांग्रेसको बैठकमा सहभागी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन्।
मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा देउवा सार्वजनिक रूपमा देखिएका हुन्।
जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित आफ्नो निवासमा आन्दोलनकारीको कुटपिटमा परेका देउवा त्यसयता सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिएनन्। आन्दोलनको हिंसात्मक घटनामा परेका देउवा र उनकी पत्नी आरजु राणा देउवालाई नेपाली सेनाले उद्धार गरेको थियो।
नेपाली सेनाले सुरुमा हेलिकप्टरमार्फत देउवा दम्पतीलाई उद्धार गर्ने प्रयास गरे पनि त्यो सम्भव भएको थिएन। पछि, सेनाले स्थलमार्गबाट उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी अस्पताल पुर्याएको थियो। सुरक्षाको कारणले देउवाको उपचार कहाँ गरिएको थियो भन्ने जानकारी गोप्य राखिएको थियो।
कांग्रेस नेता मीन विश्वकर्माले पछि पत्रकार सम्मेलनमार्फत देउवाको टाउकोमा गम्भीर चोट लागेको र उनलाई १२ टाँका लगाइएको जानकारी दिएका थिए।
सानेपामा आयोजित केन्द्रीय समिति बैठकमा देउवाले पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गरेका छन्।
प्रतिक्रिया