बिहीबार, १५ चैत २०८०

त्रिवि अर्थशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आयोजना

समयपोष्ट २०७९ असोज ६ गते २२:३५

Advertisement

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले अर्थशास्त्रसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । देशकै पूरानो विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट अर्थशास्त्रमा केन्द्रीय अर्थशास्त्र विभागको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन (सेस–२०२२) आयोजना गरेको हो ।

सम्मेलनमा दुई वटा सामूहिक छलफल र छ वटा समानान्तर प्रस्तुतीकरण सत्र सञ्चालन भएको थियो । सामूहिक छलफल र समानान्तर सत्रमार्फत नेपाली, क्षेत्रीय तथा विश्व अर्थतन्त्रका विविध आयाम जानकारीमा आएको तथा नयाँ एजेन्डा अघि सारिएको अर्थशास्त्र विभागका प्रमुख प्रा डा शिवराज अधिकारीले बताउनुभयो ।

विश्वविद्यालयको अर्थशास्त्र विभागले यसस्तरको सम्मेलन आयोजना गरेको नेपालमै पहिलोपल्ट हो । सम्मेलनमा ६० भन्दा धेरै अर्थशास्त्री तथा अर्थतन्त्रका जानकारले धारणा प्रस्तुत गर्नुभएको थियो । हरेक वर्ष असोज ४ देखि ६ गतेसम्म सम्मेलन आयोजना गर्ने योजना विभागको छ ।

अर्थशास्त्र केन्द्रीय विभाग विश्वविद्यालयको पुरानोमध्ये एक विभाग पनि हो । विसं २०१६ असोज ४ मा नेपालमा पहिलोपल्ट स्नाकोत्तर तहमा अर्थशास्त्र विषयको पढाइ सुरु भएको हो । सोही दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्न थालिएको विभाग प्रमुख अधिकारीले बताउनुभयो ।

सम्मेलनले केन्द्रीय अर्थशास्त्र विभागको ऐतिहासिक उपलब्धि तथा लिगेसीलाई संस्थागत गरी तिनलाई निरन्तरता दिनेछ । विभाग प्रमुख अधिकारीले देशको अर्थतन्त्र पहिचान तथा विश्लेषणमार्फत भविष्यमा विभागलाई नेतृत्वदायी संस्था बनाउन सम्मेलनले दिशानिर्देश गर्ने बताउनुभयो ।

“विगतलाई स्मरण गर्ने, वर्तमानमा काम गर्ने, उत्सव मनाउने र भविष्यका लागि सिर्जना गर्दै विभागलाई अर्थशास्त्र र देशको अर्थतन्त्रमा नयाँ धारणा अघि सार्ने निकायका रूपमा स्थापित गर्न पनि सम्मेलनले भूमिका खेल्नेछ”, उहाँले भन्नुभयो । सम्मेलनले नयाँ खोजकर्ता तथा अर्थतन्त्रका अध्येतालाई पनि उत्तिकै स्थान र पहिचान दिएको उहाँको छ ।

यस वर्षको सम्मेलन विभाग स्थापनाकालदेखिका प्राध्यापक तारा पद चौधरीले निःस्वार्थ सेवामार्फत गरेको योगदानको चर्चामार्फत सुरु भएको थियो । सन् १९६० मा कोलम्बो प्लानको एकेडेमिक एक्सचेञ्ज प्रोग्रामअन्तर्गत नेपाल आएका चौधरीले गणित, तथ्याङ्कशास्त्र र अर्थशास्त्रमा स्नाकोत्तर पूरा गर्नुभएको थियो । चौधरीले विभागमा ४३ वर्ष आफ्नो जीवनलाई स्वार्थरहित सेवामा समर्पण गर्नुभएकोे थियो । पहिलो सम्मेलनमा चौधरीको विशेष सम्झना गरिएको हो ।

सम्मेलन अवधिमा देशविदेशबाट आमन्त्रित वक्ताले देश, दक्षिण एशियाली क्षेत्र र विश्वको वर्तमान आर्थिक परिवेशको चर्चा गर्नुभएको थियो । सम्मेलनमा अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाललाई स्तरोन्नतिका एजेन्डा र २१औँ शताब्दीमा दक्षिण एशियाको क्षेत्रीय इन्टिग्रेसनमा प्यानल छलफल आयोजना गरिएको थियो ।

सूक्ष्म अर्थशास्त्र, विकास अर्थशास्त्र, बृहत् अर्थशास्त्र, श्रम अर्थतन्त्र र बजार, कृषि र वातावरण अर्थशास्त्र, कोरोना र अर्थतन्त्र तथा बैंकिङ र वित्त विषयमा प्राविधिक कार्यपत्र प्रस्तुत भई त्यसमाथि छलफल भएको थियो ।

सम्मेलनको उद्घाटन समारोहमा त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले विश्वविद्यालय तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्रको चर्चा र त्रिविकी डिन प्रा डा कुशुम शाक्यले अर्थशास्त्र विभागको विद्यमान गतिविधिबारे चर्चा गर्नुभएको थियो । समापन समारोहमा विश्वविद्यालयका रेक्टर प्रा डा शिवलाल भुसालले समापन मन्तव्य राख्नुभएको थियो । समारोहमा बङ्गलादेश, पाकिस्तान, भारत र नेपालका विज्ञको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री