पाटन संयुक्त क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न
देशकै पुरानो र प्रतिष्ठित शैक्षिक संस्थामध्येको एक, पाटन संयुक्त क्याम्पसले आफ्नो ७२औँ वार्षिकोत्सव मंगलबार विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। क्याम्पस प्रमुख डा. रघुवीर विष्टले वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै यो अवसरले क्याम्पसको गौरवमय इतिहास र शैक्षिक योगदानलाई उजागर गरेको बताए।
कार्यक्रमको सुरुवात बिहान विधिपूर्वक सरस्वती पूजाबाट भएको थियो। क्याम्पस प्रमुख डा. विष्ट, सहायक क्याम्पस प्रमुखहरू, विभागीय प्रमुखहरू, प्राध्यापकहरू, कर्मचारीहरू र लेखा विभागका उच्च अधिकारीहरूको उपस्थितिमा प्रशासनिक भवनको बरन्डामा आयोजित समारोहमा डा. विष्टले ‘पाटन संयुक्त क्याम्पस ७२औँ वार्षिक उत्सव’ लेखिएको ब्यानर अनावरण गरे।
कार्यक्रमको दोस्रो चरणमा क्याम्पस प्रांगणमा वृक्षरोपण गरिएको थियो, जसले वातावरण संरक्षणप्रतिको क्याम्पसको प्रतिबद्धतालाई झल्काउँछ। त्यसपछि सहभागीहरूले क्याम्पस परिसरको भ्रमण गरेका थिए। अन्त्यमा चियापान र सामूहिक तस्बिर खिचेर कार्यक्रम समापन भएको थियो।
क्याम्पस प्रमुख डा. विष्टले भने, “यो वर्षको वार्षिकोत्सव हामीले विगतभन्दा फरक र विशेष तरिकाले मनाएका छौँ। यो अवसरमा हाम्रा प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको एकताले क्याम्पसको शैक्षिक उन्नतिलाई थप बलियो बनाएको छ।”
विसं २०११ मा स्थापना भएको पाटन संयुक्त क्याम्पसले मानविकी तथा सामाजिक शास्त्र, विज्ञान र व्यवस्थापन संकायमा स्नातक तहमा २९ र स्नातकोत्तर तहमा १४ वटा विषय सञ्चालन गर्दै आएको छ। यसका साथै, क्याम्पसले बीएससी सीएसआईटी, बीआईटी, बीसीए र बीबीएजस्ता प्राइभेट शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ। हाल क्याम्पसमा करिब १० हजार विद्यार्थी अध्ययनरत छन्।
प्रतिक्रिया