शनिबार, ८ वैशाख २०८१

आयल निगम प्रमुख खड्कालाई कारबाही गर्न वाइसिएलले मन्त्रीसंग गर्यो यस्तो माग

समयपोष्ट २०७४ असोज १ गते १२:३२

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न आग्रह गरेको छ । 

Advertisement

आपूर्ति मन्त्री शिवकुमार मण्डललाई आज एक ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय स्रोत तथा साधनको दुरुपयोग गरेका खड्कालाई तत्काल कारबाही गर्न माग गरेको हो । 

चलनचल्तीको मूल्यभन्दा बढी मूल्य तिरेर निगमका लागि जग्गा खरिद गरेको र प्रचलित मूल्य र मान्यताविपरीत गएर काम गरेको भन्दै कारबाहीको माग गरिएको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै आपूर्ति मन्त्री मण्डलले खड्काको सम्बन्धमा छानबिन भइरहेको र केही दिनभित्रै कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए। 

संसदीय समितिको छानबिन, अध्ययन तथा मन्त्रालय आफैको अध्ययन अन्तिम चरणमा पुगेको जानकारी दिँदै आपूर्ति मन्त्री मण्डलले दोषी देखिएका जो कोहीमाथि पनि कानूनी कारबाही हुने बताए। 

उनले भने, “खड्काको विषयमा छानबिन भइरहेको छ । मन्त्रालय दोषी उम्काउने पक्षमा छैन । कारबाही हुन्छ ।” संसद्को अर्थ समिति, लेखा समिति, सुशासन समिति र उपभोक्ताहित संरक्षण समितिले समेत खड्कालाई कारबाही गर्न निर्देशन दिइसकेको छ । 

संसदीय समितिको निर्देशन, नागरिक तहबाट चर्को दबाब परे पनि खड्कालाई कारबाही नभएकामा सरकार र मन्त्रालयप्रति समेत आक्रोश बढेकाले कारबाहीका लागि दबाब सिर्जना गर्न लागिएको वाइसिएलका अध्यक्ष सापकोटाले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री