मंगलबार, २८ असोज २०८२

बक्यौता तिर्न उद्योगीहरूको आनाकानी, कात्तिक २ गतेसम्म नतिरे लाइन काट्ने प्राधिकरणको चेतावनी

समयपोष्ट २०८२ असोज २८ गते १०:३०

Advertisement

नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन र डेडिकेटेड फिडरको महसुल बक्यौता नतिर्ने उद्योगहरूको विद्युत् आपूर्ति कात्तिक २, २०८२ पछि बन्द गर्ने चेतावनी दिएको छ। प्राधिकरणले बारम्बार ताकेता गर्दा पनि उद्योगीहरूले बक्यौता भुक्तानीमा आनाकानी गरिरहेको जनाएको छ।

प्राधिकरणले यसअघि सूचना जारी गर्दै कात्तिक २ सम्म बक्यौता तिर्न आग्रह गरेको थियो। तर, हालसम्म सम्राट र रोल्पा सिमेन्टबाहेक अन्य उद्योगले भुक्तानीका लागि सम्पर्क नगरेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए। उनले भने, “पटक–पटक ताकेता गर्दा पनि सम्राट र रोल्पा सिमेन्टबाहेक अरू कोही सम्पर्कमा आएका छैनन्। कात्तिक २ सम्म बक्यौता नतिरे सम्बन्धित उद्योगको लाइन काट्न बाध्य हुनेछौं।”

प्राधिकरणले एकमुष्ट रकम भुक्तानी गर्न नसक्ने उद्योगका लागि २८ किस्तामा बक्यौता तिर्ने सुविधा प्रदान गरेको छ। यद्यपि, सम्राट र रोल्पा सिमेन्टले मात्र आंशिक भुक्तानीको प्रतिबद्धता जनाएर सम्पर्क गरेको प्राधिकरणले जनाएको छ। बाँकी उद्योगहरूले भने कुनै चासो देखाएका छैनन्।

ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेपछि पहिलो प्राथमिकताका रूपमा ट्रंकलाइन र डेडिकेटेड फिडरको बक्यौता असुली गर्ने निर्णय गरेका थिए। उनले यो प्रक्रियालाई सहज बनाउन हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर मनोज सिलवाललाई नियुक्त गरेका थिए। प्राधिकरणको बोर्ड बैठकले पनि बक्यौता उठाउने निर्णयलाई अनुमोदन गरेको छ।

Advertisement

उद्योगीहरूले भने विगतदेखि नै बक्यौता तिर्न अस्वीकार गर्दै आएका छन्। उनीहरूको दाबी छ, “हाम्रा उद्योगले प्रिमियम शुल्क लाग्ने गरी विद्युत् उपभोग नै गरेका छैनौं, त्यसैले बक्यौता तिर्नुपर्दैन।” प्राधिकरणले भने २०७२ माघदेखि २०७५ पुससम्म लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत प्रिमियम शुल्कमा विद्युत् उपलब्ध गराएको र त्यसको भुक्तानी गर्नुपर्ने अडान राख्दै आएको छ।

प्राधिकरणका अनुसार ६१ वटा उद्योगले २०७२ माघदेखि २०७५ पुससम्मको महसुल बक्यौता तिर्न बाँकी छ। यी उद्योगले तिर्नुपर्ने बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ रहेको छ। २५ प्रतिशत हर्जानासहित यो रकम करिब ८ अर्ब रुपैयाँ पुग्ने प्राधिकरणको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री