शुक्रबार, १४ वैशाख २०८१

कविताबाट नेपाल चिनाउने डिप्लोम्याट कवि अभय कुमार

समयपोष्ट २०७३ साउन ३० गते १३:४८

‘जात्रा’ भन्ने कृति निकाल्नुभएको छ, यो कस्तोखालको कृति हो ?
जात्रा नेपालको विश्व सम्पदामा सूचीकृत स्थान, ऐतिहासिक व्यक्तित्व, ऐतिहासिक धरोहर, हिमशृंखला आदि कुरा समेटेर रचना गरिएको कृति हो । विशेषगरी नेपालमा मनाइने जात्रा जस्तै गाईजात्रा, घोडेजात्रा, इन्द्रजात्रा जस्ता जात्राबाट मैले यो नाम जुराएको हुँ । त्यसपछि काठमाडौंमा रहेका विभिन्न स्थानजस्तै ठमेल, आर्यघाट, त्रिभुव विमानस्थल, दरबारमार्ग अनि काठमाडौंबाहिरका स्थान धुलिखेल, नगरकोट, पोखरा, मनकामना, जनकपुर आदिबारे उल्लेख गरेको छु । त्यसैगरी, यहाँका प्राकृतिक सम्पदा सगरमाथा, राराताल, माछापुछ्रे, अन्नपूर्ण हिमालबारे पनि लेखेको छु । नेपालका ऐतिहासिक व्यक्तित्व बीपी कोइराला, भानुभक्त, नारायण गोपाल, अरनिको जस्ता व्यक्तित्वदेखि डान्सबारमा काम गर्ने केटी, साधुसन्त, जीवित देवी कुमारी, वृद्धाश्रम, विभिन्न ठाउँमा काम गर्ने कामदार सबैका कुरा मिलाएर यो कवितासंग्रह रचना गरेको हुँ  ।
यो कवितासंग्रहले नेपाललाई विश्वमा चिनाउने काम त गरेको छ नै, त्यससँगसँगै यसमा तपार्इंले दिन खोज्नुभएको सन्देश के हो ?
नेपालमा भएको प्राकृतिक विविधता, यहाँको प्राकृतिक सुन्दरताजस्ता कुरालाई आमसमुदायमाझ परिचित गराउनका लागि यो काव्यात्मक शैली अपनाएको  हुँ  । यो अंग्रेजी भाषामा प्रकाशित भएपछि यस कृतिलाई विश्वका सबैले पढ्ने मौका पाउनेछन् । नेपालबारे थाहा नपाएकाले पनि थाहा पाउनेछन् । नेपालको सम्पदाबारे पनि मानिसलाई जानकारी प्राप्त हुन्छ । नेपाललाई कविताका माध्यमबाट विश्वमा चिनाउनु नै यसले दिने मुख्य सन्देश हो ।
jatra-2‘जात्रा’ भन्ने नाम कसरी जुराउनुभयो ? 
यो संग्रहमा जात्राबारे मैले कविता लेखेको छु । गाईजात्रा, घोडेजात्रा, इन्द्रजात्रा, मच्छिन्द्रनाथको जात्रा, त्यसमा रातो र सेतो दुवैबारे छ । जात्राको अर्थ हुन्छ कार्निभल र मैले जात्रा हेर्दा के हेरें त ? जस्तो कि यो पूरै ब्रह्माण्डै जात्राजस्तो छ । आम रूपमा एउटा जुन प्रक्रिया छ, हरेक स्केलमा । एउटा फिलोसफिकल सेन्समा मैले साँच्चैको जात्रा हेरेपछि यो नाम राखेको हुँ  ।
एक वर्षकै अन्तरालमा सिडक्सन अफ देल्ली पाश्च्यात जात्रा निकाल्नुभयो । सँगसँगै काठमाडौंमा पोइममान्डू चलाएर कविहरूलाई भेला गर्ने काम पनि गरिरहनुभएको छ, यो कत्तिको प्रभावकारी हुँदै गएको छ ?
सिडक्सन अफ देल्ली मैले तीन वर्ष अगाडि नै लेखेको हुँ । लेखेर पब्लिकेसन गर्नमात्र तीन वर्ष लाग्यो । पोइममान्डू भनेको सेलिब्रेसन मात्रै हो । पोइममान्डू मात्र होइन, त्यहाँ सिनेमान्डू पनि छ, यो भनेको यहाँको साहित्यिक सिर्जनशील समाजका लागि एउटा प्लेटफर्ममात्र हो । सबै सिनेकर्मी, साहित्यकारलगायतका सिर्जनशील व्यक्तिका लागि मैले एउटा प्लेटफर्म दिने कोसिसमात्र गरेको हुँ ।
काठमाडौंमा बस्दा तपाईंले रचना गर्नुभएका साहित्यिक कृति के–के हुन् ?
यहाँ बस्दा मैले पृथ्वीगीत, सार्कगीत रचना गरें । पथ्वीगीत पहिल्यै लेखेको भए पनि कम्पोज यहाँ नेपालमै भएको हो । सिंगर र कम्पोजर नै नेपाली हुनुहुन्छ । सार्कगीतको रचना यहीं भयो, जुन निकै पपुलर पनि भयो । यसको कम्पोजर सिंगर नै नेपाली हुनुहुन्छ । जात्रा पनि यहीं रचना भएको हो । यो तीन रचना त भयो, साथसाथै मैले विश्वका एक सय पचासभन्दा बढी देशको राजधानीबारे रचित कविता एडिट गरिरहेको छु । त्यसमा धेरै ठुल्ठूला कवि जस्तो नोभेल लरेट, पुलिटजर प्राइज जित्न सफल कविहरूको कविता छ, विश्वका चर्चित कविको रचना छ । जुन अन्तिम स्टेजमा छ अहिले ।
कविले कविता रचना गर्दा कसैले प्रकृतिसँग नजिक भएर लेख्छन्, कसैले प्रेमसँग नजिक भएर साहित्य सिर्जना गर्छन् तपाईं केसँग नजिक भएर साहित्य सिर्जना गर्न रुचाउनुहुन्छ ?
म सबैखालको कविता लेख्छु । जस्तो कि जात्रामा मैले सबै कुरा समेटेको छु । मेरो प्रयास कुनै पनि देशको सांस्कृतिक, प्राकृतिक सम्पदाजस्ता आफूले देखेका भोगेका चीजलाई कवितामा उतारेर एउटा सही दिशा प्रदान गर्नु हो । त्यस्ता ठाउँ, त्यस्ता चरित्रलाई उजागर गरेर अरूमाझ परिचित गराउनु नै हो ।
तपाईं कविता लेख्दा कुन समय रोज्नुहुन्छ ?
मेरो कुनै निश्चित समय हुँदैन कविता लेख्ने । जब दिमागमा कविता फुर्छ, म दिमागमा एउटा नोट बनाउँछु । त्यसपछि बल्ल कागजमा लेख्छु । कुनै पनि समयभन्दा पनि कविता दिमागमा आउनबित्तिकै लेखिहाल्छु । त्यसका लागि हरबखत कापी वा पेन नै चाहिन्छ भन्ने हुँदैन। मोबाइलमै प्रायः म टिपोट गरिहाल्छु ।

Advertisement

विश्वका कविहरु मध्ये तपाइका आदर्श कविहरू को हुन ?

मेरो धेरै आर्दश कविहरू हुनुहुन्छ । आफ्नै ठाउँ विहारबाट रामधरी सिंह दीनकर एकदमै राम्रो कवि हुनुहुन्छ । हरिवंश राय बच्चन, रवीन्द्रनाथ टेगोर, कालीदास मेरो एकदमै आदर्श कविहरू हुनुहुन्छ । त्यसपछि अमेरिकन कवि वाल्ट विथमेन, क्यारिबियन कवि डेरिक वालकट, नयाँ कवि र धेरै पुरानोमा जर्मनीका गोयथे, रसियाका पुस्किन, अफ्रिकाका ओलिस ओयन्का मेरा आदर्श कवि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री