बैंकिङ प्रणालीमा निक्षेप १२.६ प्रतिशतले बढ्यो, निजी क्षेत्रको कर्जा विस्तार ८.४ प्रतिशत

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र कर्जा वृद्धिदरमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। प्रतिवेदनअनुसार, २०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप १२.६ प्रतिशतले (८११ अर्ब ४९ करोड) बढेको छ। अघिल्लो वर्ष यो वृद्धिदर १३ प्रतिशत (७४२ अर्ब ३७ करोड) रहेको थियो।
प्रतिवेदनले निक्षेपको संरचनामा पनि परिवर्तन आएको देखाएको छ। २०८२ असार मसान्तसम्ममा कुल निक्षेपमा चल्ती खाताको हिस्सा ७.१ प्रतिशत, बचत खाताको हिस्सा ३६.८ प्रतिशत र मुद्दती निक्षेपको हिस्सा ४८.३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अंशहरू क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत थिए। यसले चल्ती र बचत खाताको हिस्सा बढेको तर मुद्दती निक्षेपको हिस्सा भने घटेको देखाउँछ।
यसैगरी, संस्थागत निक्षेपको हिस्सा ३६.१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३६.२ प्रतिशतको तुलनामा सामान्य घटेको हो।
निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जामा पनि उल्लेखनीय वृद्धि भएको प्रतिवेदनले उल्लेख गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा निजी क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले (४२३ अर्ब ७३ करोड) बढेको छ, जुन अघिल्लो वर्षको ५.८ प्रतिशत (२७६ अर्ब ९४ करोड) को तुलनामा उल्लेख्य वृद्धि हो।
कर्जा प्रवाहको संरचनामा गैर–वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अंशहरू क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत थिए।
 




























 
	
प्रतिक्रिया