मंगलबार, ११ कार्तिक २०८२

झापामा रात्रिबस दुर्घटना, १९ जना घाइते

समयपोष्ट २०८२ कार्तिक ११ गते ८:०२

Advertisement

झापाको शिवसताक्षी नगरपालिका–१० माईधार चोक नजिकै आज बिहान मन्थलीबाट काँकरभिट्टातर्फ जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। प्र१–०१–००१क ४२०९ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइते १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ। बसमा सवार २५ यात्रुमध्ये बाँकी छ जना सकुशल आफ्नो गन्तव्यतर्फ लागेका छन्। बस घटनास्थलमै रहे पनि सडक यातायातमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस चालक झापा मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेलसहित झापा गाउँपालिका–३ की १७ वर्षीया इक्षा लिम्बू, कचनकवल–४ का २० वर्षीय रविलाल गणेश, कचनकवल–४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनका नौ वर्षीय छोरा एलोन घाइते भएका छन्।

यसैगरी रामेछाप मन्थली–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, मन्थली–९ का ३५ वर्षीय भीमप्रसाद पुरी, खाँडादेवी–३ की ६५ वर्षीया मिटु खत्री, दोलाखा बैनेश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीकी आठ वर्षीया अनु श्रेष्ठ र दोलखा तामाकोशी–३ का २८ वर्षीय कुमार बस्याल पनि घाइते भएका छन्।

Advertisement

थप घाइतेमा झापा कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ र उनका नौ वर्षीय छोरा रिदम, बिर्तामोड–५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, सोही ठाउँकी १८ वर्षीया शितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी तथा झापा गाउँपालिका–२ का १८ वर्षीय श्यमलाल किस्कु रहेका छन्। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबैको उपचार भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री