मंगलबार, ११ कार्तिक २०८२

उदाउँदो सूर्यलाई अर्घ दिँदै मधेसमा छठ सम्पन्न : ‘छठके सनेस’ सुरु

समयपोष्ट २०८२ कार्तिक ११ गते ८:५९

Advertisement

मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन आइतबार मध्यरातपूर्वदेखि निराहार व्रत बसेका बर्तालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको छठ सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । यसरी निर्जला व्रत अहिले बिहान सूर्योदयसँगै सम्पन्न गरिएको हो ।

आज बिहान मधेश प्रदेशमा ६ः१२ बजेको समयमा सूर्योदय हुने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । तर महोत्तरीका अधिकांश भेगमा आज बिहान झिसमिसेदेखि नै धुम्म बादल लाग्दा सूर्यदेव देखिन ढिलो भएको बर्दिबास–२ की बर्तालु देवकला महतोले बताउनुभयो । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ ।

मिथिला क्षेत्रमा आज बिहान बादल लागेर मौसम सफा नहुँदा घाम देखिन बर्तालुले निकै बेर पर्खनुपरेको छ । घाम झुल्केको देखेपछि अघ्र्य दिएर बर्तालुले पर्व सम्पन्न गरेका हुन् । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीनपटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए ।

पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सक्खरमा पकाइएको खिरमात्र खाएका थिए । बर्तालुले ३० घण्टा बढीको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । सूर्यदेवलाई सप्तमीका दिन बिहान अघ्र्य दिएर व्रत सम्पन्न गरिने विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

Advertisement

बर्तालुले यसपालि गत शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका थिए । माछामासु, लसुनप्याज, मुसुरो र कोदोसहितका विधिमा अशुद्ध मानिएका खानेकुरा वर्जित गरी अरवा सात्विक भोजन गरिने हुँदा यो विधिलाई ‘अरबाअरबाइन’ पनि भनिन्छ । त्यसैगरी, गत आइतबार पञ्चमीका दिन ‘खरना’ र सोमबार षष्ठी तिथिका दिन निराहार व्रतकै बीच साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए । ‘सझुका अरख’लाई मिथिलामा ‘सझियाघाट’ पनि भन्ने गरिन्छ ।

आज बिहान अघ्र्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी बर्तालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने÷खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पीठो सक्खरमा मुछेर घ्यूमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरीचेली (छोरी, दिदीबहिनी, फूपू), मित÷मितिनी र अन्य इष्टजनको घर पठाउने परम्परा रहेको छ । मिथिलामा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’ (छठको कोसेली) भनिन्छ । यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएको मध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ ।

केही दशकअघि मिथिला क्षेत्रको मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनेको छ । संघीय राजधानी काठमाडौँ, मुख्य सहरमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडपर्व साझा बन्दै गएका छन् । राष्ट्रिय एकताको भावना अझ मजबुत बन्न÷बनाउन यसले मद्दत गरेको बुद्धिजीवी बताउँछन् ।

सूर्यदेव र उहाँकी पत्नी षष्ठी (मैथिली बोलीचालीमा छठी)को आराधना गरिने यो पर्वको प्रभावले रोग नलाग्ने, रोगव्याध निको हुने, सन्तान सुख प्राप्त हुने र अन्य मनोवाञ्छित फल प्राप्त हुने मैथिल जनविश्वास छ । मुख्यत यो व्रतको प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने विश्वास गरिन्छ । छठ पर्वका अवसरमा संघीय सरकार र प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री