शुक्रबार, १४ वैशाख २०८१

‘टान’को दुईवर्षे कार्यकाल विवादमै सकिदै

समयपोष्ट २०७४ असार ३१ गते ९:२९


सिवी अधिकारी
ट्रेकिङ व्यवसायीको छाता सङ्घठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ‘टान’ को आर्थिक विषयलाई लिएर लामो समयदेखिको विवाद अझै सुल्झिएको छैन । 

Advertisement

आर्थिक स्रोत परिचालन सम्बन्धमा टानका पदाधिकारीबीच चुलिएको विवादले समग्र टानको प्रशासनिकदेखि प्रवद्र्धनात्मक कार्यलाई असर पुगेको छ । टान नेतृत्व र कोषाध्यक्षबीच बँैंक खाताको विषयमा जुहारी चल्दै आएको छ । 

कोषाध्यक्ष लीलाबल्लभ दाहाल ‘काका’ ले टानको आर्थिक स्रोत परिचालन गर्दा टान अध्यक्ष वा महासचिव र कोषाध्यक्षको अनिवार्य हस्ताक्षर चाहिने विधानत्ः व्यवस्था भए पनि टान अध्यक्ष चन्द्र रिजाल र महासचिवले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाए ।  

उक्त व्यवस्था विपरित सह–कोषाध्यक्षको हस्ताक्षर चलाउन सकिने सहमति भएको भन्दै अध्यक्ष र महासचिवले सनराइज बैँकमा खाता समेत सञ्चालन गरेकोमा कोषाध्यक्षको गम्भीर असन्तुष्टी छ । 

बैँक खाता सम्बन्धमा टान नेतृत्वले प्रष्ट जवाफ दिनुपर्ने भन्दै उहाँले यदि विधानको निरन्तर उल्लङ्घन गरिए सर्वोच्च अदालत र अख्तियारमा जाने चेतावनीसमेत दिए  । 

यता अध्यक्ष रिजालले भने कोषाध्यक्षले नेतृत्वमा आएदेखिनै विवाद झिकेर संस्थालाई कमजोर बनाएको आरोप लगाए ।  
“सुरुमा पाँच हजार रकम दिने विषयदेखिनै उहाँ (कोषाध्यक्ष) ले विवाद झिक्नुभएको थियो । 

“ ठूलो कुरा आर्थिक नै हो, आर्थिक कुरा रोकिएपछि टानका सबै गतिविधि प्रभावित भएका छन् उहाँले अझै चेकमा हस्ताक्षर गर्न मान्नुभएको छैन, अब, विधानअनुसार अघि बढ्छौँ,”–अध्यक्ष रिजालले भने ।  

उहाँका अनुसार टानको दैनिक प्रशासनिक खर्च, विज्ञापन, कर्मचारीको सुविधाका साथै पदयात्रा प्रवद्र्धनलगायत काममा समस्या आएको छ । 

टानले गर्ने कुुनै पनि आर्थिक कारोबारमा अध्यक्ष वा महासचिवमध्ये कुनै एक तर कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने प्रावधान टानको विधानमा उल्लेख छ । चन्द्र रिजाल नेतृत्वको वर्तमान कार्यसमितिका केही सदस्यले जथाभावी खर्चमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई आग्रह गरेको थियो । उक्त प्रस्ताव कोषाध्यक्षले अस्वीकार गरेपछि अधिकार कटौती गर्ने गरी विधान संशोधन गर्ने प्रयास नेतृत्वले गरेको आरोप छ । 

टिम्स ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली’ कार्ड कोषको रकम हिनामिना गर्न खोजेकाले त्यसलाई रोक्न आफूले हस्ताक्षर नगरेको कोषाध्यक्ष दाहालले बताए । 

“टिम्सको पैसा अफिसको भाडा तिर्न र कर्मचारीलाई तलब दिन मात्र मिल्छ, तर, सो रकम नेतृत्वले टानको साधारण सभा र होटलमा भएका अन्य कार्यक्रमको पैसा तिर्न खोजेकाले हस्ताक्षर नगरेको हँु,”–उनले भने । 

टान पछिल्लो समय आर्थिक संकटमा फस्दै गएपछि कोषाध्यक्षले खर्चमा मितव्ययी तरिका अपनाउने गरी अघि बढेको तर रकमान्तर गरेर भए पनि खर्च गर्ने ध्यानमा नेतृत्व लागेको बताइन्छ । 

टानले विवादकाबीच पनि अन्य संस्थासँगको सम्बन्ध सुमधुर बनाउन सफल भएको जनाएको छ । अहिले नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल, होटेल एसोसिएसन अफ नेपाललगायत संस्थासँग टानले सम्बन्ध सुधारेको अध्यक्ष रिजालको भनाइ छ । 

टानमा अहिले करिब १६ सय ट्रेकिङ कम्पनी आवद्ध छन् । दुईवर्षे कार्यकालमा टानको सचिवालय व्यवस्थापन, प्रशासन सुधार तथा नवीकरण नगरी सञ्चालित करिब दुई सय ट्रेकिङ कम्पनीको नवीकरण नगरिएको टानले जनाएको छ । टानले लाङटाङ म्याराथनबाहेक अन्य कुनै उल्लेखनीय प्रवद्र्धनात्मक काम गर्नसकेको छैन । अहिलेको नेतृत्वको दुई वर्षे कार्यकाल आगामी सेप्टेम्बरमा सकिदैँछ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री