बिहीबार, १३ वैशाख २०८१

उत्पादनशील क्षेत्रमा कार्यरतलाई प्रोत्साहन गर्न ‘राष्ट्रिय उत्पादकत्व अवार्ड’ आयोजना हुँदै

समयपोष्ट २०७४ असार २३ गते ३:३४

उद्योग मन्त्रालय, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल आर्थिक पत्रकार समाजको सहयोगमा ललितपुर उद्योग वाणिज्य सङ्घले पहिलोपटक ‘राष्ट्रिय उत्पादकत्व अवार्ड’ आयोजना गर्न लागेको छ । 

Advertisement

मुलुकमा रहेका घरेलु, साना, मझौला तथा ठूला उद्योगमध्ये एक उत्कृष्टलाई छनोट गरी विशेष अवार्ड प्रदान गर्ने सङ्घका अध्यक्ष सविन श्रेष्ठले बताए । देशको उत्पादकत्व एवम उत्पादनशील क्षेत्रमा कार्यरतलाई प्रोत्साहन एवम् हौसला प्रदान गर्ने उद्देश्यका साथ अवार्ड आयोजना गर्न लागेको उनको भनाइ छ । सीमित जिल्लामा मात्रै केन्द्रित नभएर मुलुकमा रहेका उद्योगहरूबाट एक उत्कृष्टलाई छनोट गर्ने तयारी सङ्घले गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ सम्मको सम्पूर्ण आर्थिक गतिविधिलाई हेर्दै एक जनालाई उक्त अवार्ड प्रदान गरिने भएको छ । यसमा उक्त उद्योगको उत्पादनको अवस्था, आयात प्रतिस्थापनमा रहेको भूमिका, रोजगारी प्रदान गरेको अवस्था, करलगायत अन्य थुप्रै विषयलाई ध्यानमा राख्दै अवार्ड प्रदान गरिने सङ्घले खुलाएको हो । सङ्घका अनुसार अवार्ड आगामी आवको साउनमै प्रदान गर्ने तयारी रहेको छ ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले पछिल्लो समय मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढिरहेको समयमा अबको लक्ष्य आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताए । हालको अस्थायी आर्थिक वृद्धिदरलाई स्थायीमा परिणत गर्न मुलुकको उद्योग, व्यवसाय एवम् कलकारखाना सञ्चालनमा बढी जोड दिनुपर्ने उनको भनाइ छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री