शुक्रबार, ७ वैशाख २०८१

कर्मचारी सञ्चय कोषको नाफा जलबिद्युत आयोजनामा

समयपोष्ट २०७४ असार २१ गते ३:०८

ramesh-lamsalरमेश लम्साल 
मुलुकको जलविद्युत् क्षेत्रको विकासका लागि नयाँ–नयाँ योजना तथा परियोजना अगाडि बढिरहेको सन्दर्भमा सरकारले कर्मचारी सञ्चय कोषलाई पनि जलविद्युत् आयोजना अगाडि बढाउने अनुमति दिएको छ । स्वदेशी पुँजी तथा साधन र स्रोतलाई प्रयोग गरेर जलविद्युत् आयोजना अगाडि बढाउने गरी कर्मचारी सञ्चय कोषलाई अनुमति दिइएको हो । कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ ।
ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई सो आयोजना अगाडि बढाउने अनुमति गत जेठ ७ गते प्रदान गरेको हो । मुलुकको अन्य व्यावसायिक प्रयोजनका लागि लगानी गर्दै आएको कोषले पछिल्लो समय जलविद्युत् आयोजनामा आफैँ सहभागी भएर लगानी गर्न लागेको यो पहिलोपटक हो । यसअघि कोषले चिलिमे जलविद्युत् आयोजनाबाट लगानीको सुरुवात गरेको हो । चिलिमेसँगै कोषले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ ।
कोषमा प्रत्येक वर्ष थुप्रिदै जाने पैसालाई मुलुकको आर्थिक उन्नति र प्रगतिमा खर्च गर्ने लक्ष्यअनुसार नै जलविद्युत् आयोजनामा लगानीलाई विविधकरण गर्न लागिएको हो । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कोषका प्रशासक कृष्णप्रसाद आचार्यलाई ‘बेतान कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड’ को विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्रदान गरेका थिए । सुर्खेत जिल्लाको विद्यापुर, बेतान, छाप्रे, गुटु र विजौरा गाविस तथा सेती अञ्चल अछाम जिल्लाको ढुङ्गा चाल्ना, नारायणपुर, तुर्माखाड, गाविस एवम् कैलाली जिल्लाको सुगरखालमा अवस्थित रहनेगरी कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना अगाडि बढाउने गरी अनुमति दिइएको हो । पहिलो दुई वर्ष सर्वेक्षणको काम सम्पन्न गर्ने र पाँच वर्षभित्र निर्माण सुरु गर्ने तयारी गरिएको छ । नेपाल सरकारको लगानीमा हालसम्म अगाडि बढिरहेका माथिल्लो तामाकोसी जलविद्युत् आयोजनापछि कोषले अगाडि बढाउन लागेको यो आयोजना नै सबैभन्दा ठूलो आयोजना हो ।
प्रविधिसमेत नेपालकै प्रयोग गरी नेपाली लगानीमा नै अगाडि बढाउन लागिएको आयोजनामा निजामती नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका करिब छ लाख सञ्चयकर्तालाई नै लगानी गर्ने अवसर प्रदान गरिनेछ । कोषले वार्षिक मुनाफाबाट सञ्चयकर्तालाई प्रदान गर्ने मुनाफा नदिई जलविद्युत् आयोजनामै लगानी गर्ने योजनाअनुसार बेतान कर्णाली सञ्चयकर्ता जलविद्युत् आयोजना अगाडि बढाउन लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा कोषले कमाएको रु एक अर्ब ६० करोडमध्ये पहिलो चरणमा रु एक अर्ब २९ करोड रकम सो आयोजनामा लगानी गरिनेछ । आयोजनाको औसत लागत रु ८० अर्ब हुनेछ । कोषले सञ्चयकर्तालाई मुनाफा प्रदान नगरी जलविद्युत् आयोजना लगानी गर्ने सोचअनुसार नै प्रक्रिया अगाडि बढाइएको प्रशासक आचार्यको भनाइ छ ।
आयोजनामा कोषमा सञ्चयकर्तालाई कुल लगानीको ४० प्रतिशत सेयर दिइनेछ भने कोष आफैँले १५ प्रतिशत सेयर राख्नेछ । नेपाल विद्युत् प्राधिकरणलाई १५ प्रतिशत, जलविद्युत् उत्पादन कम्पनीलाई १० प्रतिशत, स्थानीयवासीलाई १० र आमनागरिकलाई १५ प्रतिशत सेयर दिनेगरी कम्पनीको सेयर संरचना तयार गरिएको छ । पहिलो चरणमा २० अर्ब अधिकृत पुँजी राखेर कोषले आयोजना अगाडि बढाउनेछ । कुल १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनालाई सहयोग पुग्नेगरी आयोजना अगाडि बढाउने ऊर्जाको तयारी छ । प्रारम्भिक रूपमा अध्ययन भइसकेको आयोजनाको प्राविधिक तथा अन्य काम सँगसँगै अगाडि बढाइने भएको छ ।
कोषसँग हाल दुई खर्ब ५० अर्ब रकम रहेको छ । ऊर्जामन्त्री शर्माले नेपाली स्रोत र साधनमा नै अगाडि बढाउन लागिएको आयोजनाको काम तत्काल सुरु गर्न आग्रह गर्दै थप सहजीकरण गर्न मन्त्रालयका कर्मचारीलाई आवश्यक निर्देशन दिए । ऊर्जा सचिव उपाध्यायले माथिल्लो तामाकोसीपछि नेपाली स्रोत र साधनमा अगाडि बढाउन लागिएको आयोजना नै यो पहिलो भएको भन्दै सबै प्रकारको सहयोग उपलब्ध गराइने बताएका छन् ।  कोषका प्रशासक आचार्यले नेपालको जलविद्युत् क्षेत्रमा नौलो आयाम थप्ने लक्ष्यका साथ जलविद्युत् आयोजना निर्माणमा आफूहरूले हाल हाल्न लागेको बताउँदै आएका छन् । विसं १९९१ बाट सुरु भएको सञ्चय कोष व्यवस्था विसं २०१९ मा कर्मचारी सञ्चय कोषका रूपमा अलग्गै ऐनद्वारा स्थापित हुँदा तत्कालीन सैनिक द्रव्य कोषबाट ३७ लाख कोष प्राप्त गरेको थियो ।
आर्थिक वर्ष २०६४/६५ मा कोष, नेपाल विद्युत् प्राधिकरण र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबीच समझदारी भई ४५६ मेगावाट विद्युत् उत्पादनका लागि कोषले १० अर्ब कर्जा प्रवाह गर्ने निर्णय भयो । यसअनुरूप आर्थिक वर्ष २०६८/६९ देखि कर्जा प्रवाह भइरहेको छ । यस जलविद्युत् आयोजनामा कोषले आफ्ना सञ्चयकर्ताका लागि १७ दशमलव २८ प्रतिशत सेयर सुनिश्चित गरी करिब एक अर्ब ८३ करोड रकम सञ्चयकर्ताबाट उठाई परियोजनामा लगानी गरेको छ ।

Advertisement

आयोजना’ क्षेत्रीय विकासको सन्तुलनका लागि एउटा नमुना हो : कृष्णप्रसाद आचार्यPicture Krishna

कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत् आयोजना निर्माण कार्य छिट्टै सुरु गर्ने जनाएको छ । कोषले तोकिएकै समयभित्र आयोजना निर्माण गर्न प्रारम्भिक कार्य सुरु गर्न लागेको हो । कुल ६८० मेगावाट क्षमताको बेतान कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न कुनै समस्या नरहेको र सबै प्रक्रिया अगाडि बढाइएको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताए । नेपालमै पहिलोपटक सञ्चयकर्ताको रगत, पसिनाको कमाइबाट निर्माण गर्न लागिएको ‘बेतान कर्णाली जलविद्युत आयोजना’ क्षेत्रीय विकासको सन्तुलनका लागि एउटा नमुना भएको उनको भनाइ छ ।

नेपालको पानी जनताको लगानी भन्ने नारालाई यो आयोजनाले सार्थक गर्न लागेको र त्यसले नेपालको दिगो आर्थिक विकासका लागि क्षेत्रीय सन्तुलन समेत मिलाउने उल्लेख गरे । विशुद्ध नेपालकै प्राविधिक र लगानीबाट बन्न लागेको बेतान कर्णाली आयोजना ६ नम्बर प्रदेशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने उनको विश्वास थियो । पहिलो दुई वर्ष सर्वेक्षणको काम सम्पन्न गर्ने र पाँच वर्षभित्र निर्माण सुरु गर्ने तयारी गरिएको छ । स्वदेशी लगानीमा अगाडि बढिरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनापछि कोषले अगाडि बढाउन लागेको यो दोस्रो ठूलो आयोजना हो ।

नेपाली प्रविधि प्रयोग गरेर निर्माण गर्न लागिएको आयोजनामा निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका सञ्चयकर्ताको लगानी हुनेछ । कोषले वार्षिक मुनाफाबाट सञ्चयकर्तालाई प्रदान गर्ने मुनाफा नदिई जलविद्युत् आयोजनामा लगानी गर्ने योजनाअनुसार उक्त आयोजना निर्माण गर्न लागेको हो । कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण र नेपाल विद्युत् उत्पादन कम्पनीद्वारा निर्माण गर्न लागिएको उक्त आयोजनाका लागि ८० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । कर्मचारीको कोष कट्टीबाट आएको रकमबाट जलविद्युत् आयोजना निर्माण गर्न लागिएकोप्रति पश्चिम सुर्खेतका स्थानीय बासिन्दा हर्षित भएका छन् ।
चौकुने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धीरबहादुर शाहीले आयोजना निर्माणले पिछडिएको पश्चिम क्षेत्रको विकासमा टेवा पुग्ने बताए । ‘सर्वेक्षणका लागि सञ्चय कोषले अनुमति पाएको छ, यो खुसीको कुरा हो,’ अध्यक्ष शाहीले भने, ‘वर्षौंदेखि बगेर खेर गइरहेको कर्णालीबाट विद्युत् उत्पादन गरेर यस क्षेत्रलाई समृद्ध बनाउन सकिन्छ ।’ पश्चिम सुर्खेतको विकासमा आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो ।

आयोजनाले सुर्खेत जिल्लाको विद्यापुर, बेतान, छाप्रे, गुटु र विजौरा गाविस तथा सेती अञ्चल अछाम जिल्लाको ढुंगाचाल्ना, नारायणपुर, तुर्माखाड, गाविस एवम् कैलाली जिल्लाको सुगरखालमा अवस्थित रहनेगरी कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना अगाडि बढाउनेगरी अनुमति दिइएको हो ।

आर्थिक वर्ष २०७२/७३ मा कोषले कमाएको एक अर्ब ६० करोड मध्ये पहिलो चरणमा एक अर्ब २९ करोड सो आयोजनामा लगानी गरिनेछ । कोषले सञ्चयकर्तालाई मुनाफा प्रदान नगरी जलविद्युत् आयोजना लगानी गर्ने सोच अनुसार नै प्रक्रिया अगाडि बढाइएको छ । पहिलो चरणमा २० अर्ब अधिकृत पुँजी राखेर कोषले आयोजना अगाडि बढाउनेछ । कुल १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनालाई सहयोग पुग्नेगरी आयोजना अगाडि बढाउने कोषको तयारी छ । प्रारम्भिक रूपमा अध्ययन भइसकेको आयोजनाको प्राविधिक तथा अन्य काम सँगसँगै अगाडि बढाइने भएको छ । कोषसँग हाल दुई खर्ब ५० अर्ब रकम रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री