बिहीबार, १० असार २०७८

कमजोर भूधरातलका कारण देशभर पहिरोको जोखिम

समयपोष्ट २०७५ साउन ११ गते १०:१९

– रमेश लम्साल÷अच्युत रेग्मी

Advertisement

रसुवाको टिमुरेमा बिहीबार गएको पहिरोमा परी नौ जनाको मृत्यु भयो । कमजोर भूधरातलका कारण पहिरोमा परी जनधनको क्षति भएको प्रारम्भिक अनुमान छ ।

हिमाली तथा महाभारत पर्वत शृङ्खलालाई कमजोर भूधारतल भएको क्षेत्रका रुपमा लिइन्छ । भूकम्पले त्यस क्षेत्रमा दबाबसमेत बढेको छ । भूकम्पले हल्लाएको क्षेत्रमा पानीको कारण टिमुरेमा पहिरो गएको हुनसक्ने जानकारहरुको भनाइ छ ।

Advertisement

नेपाल पहिरोको उच्च जोखिममा रहेको देश हो । पहाडी तथा हिमाली क्षेत्रमा एकपछि अर्को गर्दै पहिरोको जोखिम बढिरहेको छ । गृहमन्त्रालयका अनुसार यस वर्ष मात्रै हालसम्म ५८ वटा पहिरो गए । यसले नेपाल पहिरोको जोखिममा रहेको पुष्टि हुन्छ ।

गत वर्ष देशभर १६० वटा पहिरो गए । त्यसमा ५० पुरुष र २६ महिला सहित ७६ जनाको ज्यान गयो । यस्तै १४ बेपत्ता भए भने ५४ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै रु छ करोड १७ लाख ९३ हजार बराबरको क्षति भयो ।

हरेक वर्ष मारिनेको संख्या बढ्दै गएको छ । ‘गोरखा भूकम्प’का कारण हल्लिएको जमीनको संरचनामा आएको बदलावका कारण पहिरोको जोखिम बढ्दै गएको छ । भूकम्पका कारण बस्ती सार्नुपर्ने भनेर सिफारिस भएका पाँच सय बढी बस्ती हालसम्म सारिएको छैन । मनसुनको कारण पछिल्ला दिनमा वर्षाको मात्रा समेत बढिरहेको छ ।

ठाडो भीरालो जमीनमा रहेको बस्तीका कारण थप जटिलता देखिएको छ । गत वैशाखदेखि पहिरोमा परी २२ पुरुष र २० महिला सहित ४२ जनाको ज्यान गयो । हालसम्म दुई बेपत्ता र ५२ जना घाइते भएका छन् ।

यस्तै ३४१ परिवार विस्थापित भए भने रु चार करोड १२ लाख सात हजार ५०० को क्षति भएको गृह मन्त्रालयको विवरणमा उल्लेख छ ।

नेपालको जीवनरेखाको रुपमा परिचित मुग्लिन–नारायणगढ सडकखण्डमा हरेक दिनजसो पहिरो खसेको छ । पहिरोका कारण सवारी साधन रोकिने र नागरिकले दुःख र हैरानी व्यहोर्नु परेको छ ।

यस्तै बुटवल–पाल्पा सडकखण्डको शिद्धबाबामा दिनहुँजसो पहिरो जाने गर्छ । पहिरोका कारण आवतजावत रोकिने र नागरिकले समस्या भोग्नु परेको छ । केही समय पहिले पृथ्वी राजमार्गको कृष्णभीरमा त्यस्तै खालको समस्या आउने गरेको थियो । नेपाली प्राविधिकले जापानी प्रविधिको प्रयोग गरेर कृष्णभीरको पहिरो पछिल्लो एक दशकदेखि रोकिएको छ । सोही राजमार्गको जोगिमारा खण्डमा कहिलेकाही पहिरो जाने गरेको छ ।

अन्य राजमार्गमा पनि फाट्टफट्ट पहिरो जाने गरेको छ । पछिल्लो एक दशकमा पहिरोको मात्रा बढ्दै गएको छ । वन फँडानी तथा प्राकृतिक रुपमा देखिने परिवर्तनका कारण पहिरोको मात्रा बढ्दै गएको जानकारको भनाइ छ ।

किन जान्छ मुग्लिन सडक खण्डमा पहिरो ?

मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो व्यवस्थापनबारे विद्यावारिधि गर्नुभएका विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा मुग्लिङ–नारायणगढ र वुटवल–पाल्पाको सडक भौगोलिक रुपमा कमजोर भएको बताउनुहुन्छ ।

कमजोर जमीन भएको ठाँउमा सडक विस्तार गर्दा पर्याप्त मात्रामा विपद् जोखिम न्यूनीकरणको काम नभएले पटक÷पटक पहिरो जाने गरेको उहाँको भनाइ छ ।

“भिरालो जमिन पनि पहिरोको अर्को कारण हो । विशेषगरी २७ देखि ३७ डिग्रीको प्राकृतिक भीरमा बढी पहिरो जान्छ । यस्ता भीर नेपालमा धेरै छन् । त्यस्ता भीर भएका क्षेत्रमा बसोवास तथा आवतजावत गर्दा समेत विशेष सावधानी अपनाउनुपर्दछ, ” उहाँ भन्नुहुन्छ ।

जमीनको अवस्थितिका कारण तल्लो तहले थेग्ने शक्ति कमजोर बन्न पुगेको छ । भूकम्पका कारण जोखिममा परेका क्षेत्रमा वर्षाको पानी पर्दा माथिल्लो तहले धकेल्ने शक्ति बढ्दै गएको देखिन्छ । डा देवकोटा नेपालमा पछिल्ले समयमा पहिरोको मात्रा बढ्नुको पछाडि त्यस्तै कारण रहेको टिप्पणी गर्नुहुन्छ ।

भिरालो जमीनमा सडक तथा अन्य भौतिक निर्माण गर्दा ठूलो सावधानी अपनाउनुपर्ने आवश्यकता भए पनि मनलाग्दी तवरले सडक निर्माण भइरहेका छन् । सडक निर्माणमा प्राविधिक अध्ययन तथा अनुसन्धान गर्न छाडिएको छ ।

विशेष गरी ‘डोजर इञ्जिनियरिङ’ का आधारमा निर्माण हुने सडक समेत पहिरोका अर्को मानक बन्दै गएको छ । मुग्लिन– नारायणगढ सडकखण्डमा समेत अनियन्त्रित रुपमा सडक निर्माण गरिदा यात्रुले दुःख व्योहोर्नु परेको छ ।

बुटवल– पाल्पा सडक खण्डको पहिरोको कारण पनि मुग्लिन– नारायणगढ सडकखण्डको जस्तै रहेको छ । कमजोर भूधरातलमा बिना अध्ययन सडक बनाइदा समस्या थपिएको देखिन्छ ।

कुन कुन स्थानमा पहिरो जोखिम

डा देवकोटा विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा अति प्रभावित र प्रभावित जिल्ला पहिरोको उच्च जोखिममा रहेको बताउँनुहुन्छ ।

“नेपालका प्राय सबै पहाडी र केही हिमाली जिल्ला पहिरोको हिसाबले उच्च जोखिममा छन् । स्थान विशेष भन्दा पनि नेपालको अधिकाशं भू–भाग नै पहिरोको जोखिममा छन् । त्यसबाट कसरी सुरक्षित हुने भन्ने विषय नै महत्वपूर्ण रहन्छ ”–उहाँले भन्नुभयो ।

चुरे पर्वत र महाभारत पर्वत शृङ्खला जहाँ ठूलाठूला दरार छन् त्यहाँ धेरै पहिरो जाने सम्भावना रहन्छ ।

यसरी गर्न सकिन्छ पहिरो नियन्त्रण

सडक निर्माणका क्रममा गतिलो अध्ययन गर्नु नै पहिरो नियन्त्रणको उत्तम उपाय हो । वृक्षरोपण तथा प्राकृतिक उपाय पनि अवलम्बन गर्न सकिन्छ । सडक निर्माण गर्दा जथाभावी डोजर प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्दै गहन रुपमा इञ्जिनियरिङ अध्ययन आवश्यक रहेको जानकारहरुको भनाइ छ ।

भौगर्भिक अध्ययनको आधारमा उचित इञ्जिनियरिङ गर्न सकिए सडकखण्डमा पहिरो रोकथाम गर्न सकिन्छ । गृह मन्त्रालयका उपसचिव शंकरहरि आचार्य सरकारले पहिरोका जोखिम रहेका क्षेत्रमा आपतकालीन उद्धार तथा राहतका लागि जिल्ला प्रशासन कार्यालयलाई तयारी हालतमा राखिएको बताउनुहुन्छ ।

उहाँले विपद् जोखिम न्यूनीकरणका लागि पोखरा, हेटौँडालगायतका स्थानमा हेलिकप्टरसमेत तम्तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री