विद्युत प्राधिकरणले भन्यो-सिँचाइ मोटर राति ९ बजेपछि मात्र सञ्चालन गर्नु

नेपाल विद्युत प्राधिकरणले सिँचाइ प्रयोजनमा प्रयोग हुने मोटरहरू मनसुन सुरु नभएसम्म राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो।
तराईका जिल्लाहरूमा लामो समयदेखिको सुख्खा खडेरीका कारण रोपाइँ गर्न पानीको अभाव भएपछि किसानहरूले मोटरमार्फत सिँचाइ गरिरहेका छन्। यसले विद्युत वितरण लाइनका संरचनाहरू ओभरलोड भई न्यून भोल्टेजको समस्या देखिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार, सुख्खा खडेरी र अत्यधिक गर्मीका कारण तराई क्षेत्रमा विद्युत खपत बढेको छ, जसले वितरण प्रणालीमा दबाब परेको छ। यस अवस्थामा विद्युत व्यवस्थापनमा सहयोग पुर्याउन बढी विद्युत खपत गर्ने उपकरणहरू कम प्रयोग गर्न र सिँचाइ मोटरहरू राति ९ बजेपछि मात्र सञ्चालन गर्न प्राधिकरणले अनुरोध गरेको छ।
यसैबीच, शनिबार साँझ प्राधिकरणको चनौली वितरण केन्द्रले चितवनमा दिनभर बत्ती जाने तालिका सार्वजनिक गरेपछि लोडसेडिङको आलोचना भएको थियो। प्राधिकरणले विद्युत व्यवस्थापनमा सहयोग गर्न उपभोक्ताहरूलाई आह्वान गरेको छ।





























प्रतिक्रिया